बनेपाबाट बैंक लुट्न गाडी रिजर्भ गरेर गएका थिए लुटेरा: १ करोड ८० लाख फेला, ४ जना पक्राउ (भिडियो)


सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन् । उनीहरूलाई घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।

मंगलबार राति करिब ८:४० बजे पाँच/छ जनाको समूहले बैंक लुटपाट गरेका थिए । लुटेराहरूले बैंकका सुरक्षागार्ड रुद्र कार्कीलाई कुटपिट तथा खुकुरी प्रहार गरी घाइते बनाउँदै नियन्त्रणमा लिएपछि काउन्टरमा रहेको ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । घाइते सुरक्षागार्ड कार्कीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ प्रहरीले बरामद गरेको छ । उक्त रकम घटनास्थलबाट करिब डेढ किलोमिटर टाढा जंगलमा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । की रकम लुटेराले लगे कि अन्यत्र लुकाएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले लुटेराहरू सवार बीएड–०३९८ नम्बरको टाटा सुमो गाडी र त्यसका चालक भवत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार लुटेराहरूले काभ्रेको बनेपाबाट उक्त गाडी रिजर्भ गरेर सिन्धुली पुगेका थिए। बनेपा–१० घर भएका चालक थापाले आफूले लुटेराहरूलाई नचिनेको दाबी गरेका छन् ।

बैंक जंगल नजिकै रहेको र रातको समय भएकोले लुटेरालाई घटनास्थलबाट भाग्न सहज भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको र फरार रहेका अन्य लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।