तार बेचेको आरोपमा विद्युत प्राधिकरण पोखराका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्रको स्टोरमा रहेको तामाको तार बिक्री गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा तत्कालीन केन्द्र प्रमुख राजीव कुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत लोकप्रसाद काफ्ले र दुई जना सुरक्षा गार्डविरुद्ध आरोप-पत्र दर्ता गरेको हो ।

अख्तियारका अनुसार पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट ९०० मिटर तामाको तार आपसी मिलेमतोमा बिक्री गरी सरकारी सम्पत्ति हानीनोक्सानी पुर्‍याइएको हो । अनुसन्धानका क्रममा १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबरको आर्थिक हिनामिना भएको पुष्टि भएपछि सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस प्रकरणमा कर्मचारीसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालिका सुरक्षा गार्डहरू रामकुमार पुर्जा र हेम शर्मा रिजाललाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूले कार्यालय प्रमुख र लेखा अधिकृतसँगको मिलेमतोमा स्टोरबाट तार बाहिर लैजान र बिक्री गर्न सहयोग गरेको अख्तियारको ठहर छ ।

पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्टबाट तामाको तार हराएको उजुरी परेपछि प्राधिकरणले आन्तरिक छानबिन समिति गठन गरेको थियो । सुरुमा स्टोर प्रमुखले ९०० मिटर पीभीसी तार हराएको भन्दै कार्यालय प्रमुख सिंहसमक्ष निवेदन दिएका थिए । तर, अख्तियारको विस्तृत अनुसन्धानले भने तत्कालीन कार्यालय प्रमुख सिंहकै प्रत्यक्ष संलग्नतामा तामाको तार व्यक्तिगत लाभका लागि बिक्री गरिएको र त्यसलाई लुकाउन गलत विवरण पेस गरिएको फेला पारेको हो।

अख्तियारले सबै प्रतिवादीहरूबाट जनही १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो असुलउपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कडा सजायको माग गरेको छ ।