१,६५१ ट्राफिकलाई नाईमाले तालिम दिने, ५ वर्षे समझदारी


काठमाडौं । काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीहरूको कार्यक्षमता अभिवृद्धि गर्न र उनीहरूलाई आधुनिक प्रविधिमैत्री बनाउन नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच पाँच वर्षे रणनीतिक समझदारी (एमओयू) भएको छ ।

यस समझदारी अन्तर्गत उपत्यकाका कुल १ हजार ६ सय ५१ जना ट्राफिक प्रहरीलाई व्यवहारकुशल सीप (सफ्ट स्किल्स) तथा नयाँ सवारी प्रविधि सम्बन्धी नियमित तालिम प्रदान गरिनेछ । ट्राफिक सप्ताह २०८२ को अवसरमा आयोजित ‘सडक दुर्घटना न्यूनीकरण विशेष अभियान’ का क्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की र नाईमाका बोर्ड सदस्य सौरभ ज्योतिले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी कार्यान्वयनको पहिलो चरणको तालिम आगामी भदौ ४ गते आइतबारदेखि सुरु हुने विज्ञप्तिमा उल्लेख छ । १७ कार्यदिनसम्म चल्ने यस तालिमको प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुनेछन् । तालिममा तनाव व्यवस्थापन, ध्यान, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधनको सैद्धान्तिक एवं प्रत्यक्ष अवलोकन, सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा आवश्यक ‘ह्यान्ड-जेस्चर’ सीपहरू सिकाइनेछ ।

तालिमको सहजीकरणका लागि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाईमाका प्राविधिक विज्ञहरू र प्रेरणादायी वक्ता एवं जीवन प्रशिक्षक रमन भट्टराई लगायतको सहभागिता रहनेछ।

व्यवहारकुशल सीप र प्रविधिमा जोड

कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने ट्राफिक प्रहरीका लागि व्यवहारकुशल सीप र नयाँ प्रविधिको ज्ञान अनिवार्य रहेको बताए।

नाईमाका अध्यक्ष ऋतु सिंह वैद्याले “इम्पावरिङ ग्रोथ थ्रो मोबिलिटी” को दृष्टिकोण अनुरूप सडक सुरक्षा र दक्ष जनशक्ति विकासमा संस्था सधैँ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै, नाईमाका बोर्ड सदस्य सौरभ ज्योतिले यो कार्यक्रमले सुरक्षित सडक संस्कृतिको विकास र दिगो मोबिलिटी प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार यो तालिम कार्यक्रमले ट्राफिक प्रहरीको दैनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। तालिमको प्राविधिक नेतृत्व र गुणस्तर सुनिश्चितताको जिम्मा ट्राफिक प्रहरी कार्यालयले लिएको छ भने आवश्यक सामग्री र विज्ञहरूको व्यवस्थापन नाईमाले गर्नेछ।