रास्वपाले खोल्यो ३२१ जनाका लागि जागिर, निर्वाचन रणनीतिकारदेखि म्यापिङ विज्ञसम्म माग

1.9k
Shares

काठमाडौं । फागुन २१ का लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी तयारीलाई तीव्र पारेको छ ।

पार्टीले तथ्यांकमा आधारित रणनीति निर्माण र प्रभावकारी चुनावी प्रचारप्रसारका लागि ‘रास्वपा डिजिटल क्याम्पियन रुम’ स्थापना गर्दै ठूलो संख्यामा जनशक्ति माग गरेको हो ।

‘मिसन इलेक्सन’ नाम दिइएको यस अभियानका लागि पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म खटिने गरी कुल ३२१ जना कर्मचारी माग गरेको हो ।

एआईदेखि ग्राउण्ड अपरेसनसम्मका पदहरू

रास्वपाले परम्परागत शैलीभन्दा फरक प्रविधिमैत्री चुनावी प्रचारलाई प्राथमिकता दिएको छ । पार्टीले मुख्य निर्वाचन रणनीतिकार, राजनीतिक विश्लेषक, एआई (एआई) विशेषज्ञ, साइबर सुरक्षा विज्ञ, र जीआईएस म्यापिङ विज्ञ जस्ता उच्च प्राविधिक पदहरूमा आवेदन मागेको छ ।

सबैभन्दा धेरै संख्यामा फिल्डमा खटिने १५० जना ‘डाटा इन्युमेरेटर’ (तथ्याङ्क संकलक), १५ जना सुपरभाइजर र १० जना फिल्ड सपोर्ट टिम माग गरिएको छ ।

यस्तै, भिडियो निर्माता, सामाजिक सञ्जाल रणनीतिकार, र अनुवादकहरूका लागि पनि ठूलो अवसर खुला गरिएको छ।

पार्टीले आवेदन प्रक्रियालाई पूर्णतया डिजिटल बनाएको छ। उपलब्ध गराइएको गुगल फर्म अनुसार, इच्छुक आवेदकले निम्न प्रक्रिया र विवरणहरू पुरा गर्नुपर्नेछ:

एक आवेदकले आफ्नो योग्यता र चाहना अनुसार अधिकतम ३ वटा पदका लागि प्राथमिकता तोकेर आवेदन दिन सक्नेछन्।

आवेदनका साथमा अद्यावधिक गरिएको बायोडाटा (सीभी), हालसालै खिचिएको फोटो, प्यान कार्ड र राष्ट्रिय परिचयपत्र वा नागरिकताको प्रतिलिपि अनिवार्य अपलोड गर्नुपर्नेछ।

फर्ममा व्यक्तिगत विवरणका साथै आवेदकको शैक्षिक योग्यता र कार्य अनुभवको विस्तृत जानकारी मागिएको छ। साथै, आवेदकको राजनीतिक संलग्नता भए/नभएको र रास्वपाको मिसनमा किन जोडिन चाहने भन्ने विषयमा पनि संक्षिप्त जानकारी दिनुपर्नेछ।

कुन पदमा कति योग्यता ?

रास्वपाले तल्लो तहदेखि माथिल्लो तहसम्मका लागि आवेदन खुलाएको छ। सबैभन्दा धेरै १५० जना ‘डाटा इन्युमेरेटर’ र अन्य सहायक पदहरूका लागि न्यूनतम योग्यता १०+२ (प्लस टु) तोकिएको छ। त्यस्तै, आईटी, मिडिया, र प्रशासनका मध्यम तहका पदका लागि स्नातक (व्याचलर) र रणनीतिक तथा विशेषज्ञ पदहरूका लागि स्नातकोत्तर (मास्टर्स) उत्तीर्ण हुनुपर्ने प्रावधान छ।

कति समय?

यो नियुक्ति पूर्णतया ‘मिसन बेस’ र छोटो अवधिको हुने विज्ञापनमा उल्लेख छ। सुरुमा ३० देखि ६० दिनका लागि करार गरिने र कार्यसम्पादनका आधारमा थप निर्णय लिइनेछ। छानिएका कर्मचारीहरूले केन्द्रीय कन्ट्रोल रुम (काठमाडौं), सातै प्रदेश र विभिन्न निर्वाचन क्षेत्रहरूमा खटिनुपर्नेछ। पार्टीले कामको चाप र कार्य प्रकृति अनुसार पारिश्रमिक ‘प्रतिस्पर्धात्मक’ हुने र कामको कदर गरिने जनाएको छ।

यो भर्ना प्रक्रिया ‘रोलिङ बेसिस’ मा रहेकाले योग्यता पुगेका उम्मेदवारहरू भेटिनासाथ पदपूर्ति गरिने जनाइएको छ । प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ता वा थप मूल्यांकनका लागि बोलाइनेछ।

यसरी भर्नुस् फर्म