उपभोक्ता महँगी दरमा गिरावट, खाद्य वस्तुको मूल्य कम

28
Shares

काठमाडौं । नेपालमा उपभोक्ता महँगीको दरमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) को प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रस्फीति १.६३ प्रतिशतमा झरेको हो ।

अघिल्लो वर्षको सोही महिनामा महँगीको यो दर ६.०५ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष महँगीको दरमा गिरावट आएको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार यस पटक खाद्य तथा पेय पदार्थ समूहको मुद्रस्फीति २.०५ प्रतिशतले ऋणात्मक (नेगेटिभ) रहेको छ। यसको अर्थ, गत वर्षको मंसिरको तुलनामा यस वर्ष खाद्य वस्तुको समग्र मूल्य घटेको छ । विशेषगरी तरकारीको मूल्यमा ८.५४ प्रतिशत, मरमसलाको मूल्यमा ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यमा ५.७९ प्रतिशतले कमी आएको छ ।
यद्यपि, घ्यू तथा तेलको मूल्य भने ५.५२ प्रतिशतले बढेको छ । यस्तै दुग्ध पदार्थ र अण्डाको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।

खाद्य वस्तुको मूल्य घटे पनि गैर-खाद्य तथा सेवा समूहको मुद्रस्फीति भने ३.७५ प्रतिशत रहेको छ । यस समूहअन्तर्गत शिक्षाको शुल्क ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको मूल्य ५.२९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य ३.८५ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा बढी विविध वस्तु तथा सेवा उप-समूहको मूल्य १८.५६ प्रतिशतले बढेको छ ।

कुन क्षेत्रमा कति महँगी ?

क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा १.९५ प्रतिशत, तराईमा १.७१ प्रतिशत, पहाडमा १.३६ प्रतिशत र हिमालमा १.४७ प्रतिशत मुद्रस्फीति रहेको छ । प्रदेशगत आधारमा कोशी प्रदेश सबैभन्दा महँगो देखिएको छ, जहाँ महँगीको दर २.५४ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ०.४० प्रतिशत मात्र मुद्रस्फीति रहेको छ ।

थोक मुद्रस्फीति पनि गत वर्षको ६.५२ प्रतिशतबाट घटेर २.७८ प्रतिशतमा सीमित भएको छ । तर, निर्माण सामग्रीको थोक मूल्यमा भने ४.५२ प्रतिशतको वृद्धि देखिएको छ, जसले निर्माण लागतमा केही वृद्धि भएको संकेत गर्दछ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको औसत मुद्रस्फीति १.५५ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो औसत दर ४.८९ प्रतिशत रहेको थियो । समग्रमा, आन्तरिक उत्पादनमा सुधार र आयातित वस्तुको मूल्यमा आएको स्थिरताका कारण महँगी नियन्त्रणमा सहयोग पुगेको विश्लेषण गरिएको छ ।