एनआरएनए अमेरिकाले भन्यो: खेलकुद मन्त्रीलाई हामीले बोलाएका हौं

0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको प्रस्तावित अमेरिका भ्रमणका विषयमा उत्पन्न विवाद र अन्यौलबारे आफ्नो धारणा स्पष्ट पारेको छ ।

विकास उप्रेती अध्यक्ष रहेको परिषद्ले एक विज्ञप्ति जारी गर्दै मन्त्री गुप्तालाई आफूहरूले नै औपचारिक रूपमा अमेरिका भ्रमणको निम्तो दिएको जानकारी दिएको हो ।

यसअघि एनआरएनए अमेरिकाकै अर्को पक्षले मन्त्री गुप्तालाई कुनै कार्यक्रमका लागि आमन्त्रण नगरिएको दाबी गरेपछि उत्पन्न भ्रमलाई चिर्न उप्रेती नेतृत्वको समितिले यो स्पष्टीकरण दिएको हो ।

परिषद्का प्रवक्ता द्रोण गौतमद्वारा जारी विज्ञप्तिमा नेपालको पछिल्लो राजनीतिक–सामाजिक परिवर्तन र ‘जेन–जी’आन्दोलनपछि विकसित परिस्थितिको सन्दर्भमा मन्त्री गुप्ताको भ्रमण महत्त्वपूर्ण रहेको उल्लेख छ।

‘नेपाल सरकारमा जेन–जीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माननीय बब्लु गुप्ता ज्यूलाई ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेन-जी रेभोलुसन’ शीर्षकमा आफ्नो धारणा राख्न र नेपाली समुदायसँग अन्तरक्रिया गर्न आमन्त्रण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीको अमेरिका भ्रमणलाई लिएर सरकारी खर्चको विषयमा उठ्न सक्ने प्रश्नहरूबारे स्पष्ट पार्दै एनआरएनए अमेरिकाले यस भ्रमणको सम्पूर्ण खर्च आयोजक संस्थाले नै व्यहोर्ने निर्णय गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यसबाट नेपाल सरकार वा राज्यलाई कुनै पनि प्रकारको आर्थिक व्ययभार नपर्ने स्पष्ट पार्न चाहन्छौँ।’

मन्त्री गुप्ताको कार्यतालिकाअनुसार अमेरिकाको टेक्ससस्थित डालसमा विशेष कार्यक्रम आयोजना गरिने र त्यसको विस्तृत विवरण एवं तालिका (सेड्युल) अन्तिम भएपछि सार्वजनिक गरिने परिषद्ले जनाएको छ।

मन्त्रीको भ्रमणलाई लिएर सामाजिक सञ्जाल र विभिन्न माध्यममा आएका नकारात्मक टिप्पणीहरूप्रति ध्यानाकर्षण भएको भन्दै परिषद्ले तथ्यमा आधारित रहेर सकारात्मक सोचका साथ अघि बढ्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ । विदेशमा रहेका नेपाली युवाहरूलाई नेपालको विकास प्रक्रियासँग जोड्न यो भ्रमणले बौद्धिक विमर्श र सकारात्मक संवादको पहल गर्ने विश्वास संस्थाले व्यक्त गरेको छ।