कच्चा पदार्थमा लाग्दै आएको भ्याट हटाउन निजी क्षेत्रको माग


काठमाडौं । निजी क्षेत्रका अगुवाहरूले कच्चा पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) ले निर्यातजन्य उद्योगहरूलाई निरुत्साहित गरेको भन्दै त्यसलाई तत्काल हटाउन सरकारसँग माग गरेका छन् ।

नेपाल निर्यात परिषद्को २८ औँ वार्षिक साधारण सभा एवं १० औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरूले निर्यात उद्योगको समस्याप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्योगका लागि आवश्यक अधिकांश कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने अवस्थामा स्वदेशी कच्चा पदार्थमा समेत भ्याट लगाउँदा निर्यात व्यापार मारमा परेको बताए । ‘नेपाली कच्चा पदार्थमा भ्याट लगाएर निर्यातलाई निरुत्साहित गरिनु हुँदैन, यसमा तत्काल पुनरावलोकन जरुरी छ,’श्रेष्ठले भने ।

उनले थपे, ‘हाम्रो लजिस्टीक लागत ३५ प्रतिशतसम्म छ भने ट्रान्जिटमा लाग्ने समय छिमेकी मुलुकको तुलनामा दोब्बर छ। यस्ता समस्या समाधानमा राज्यको ध्यान पुग्नुपर्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गति दिन स्वदेशी उत्पादन बढाउनुको विकल्प नरहेको बताए । उनले सरकारले स्वदेशी वस्तुको खपत बढाउने नीति लिनुपर्नेमा जोड दिए ।

‘बाह्य क्षेत्र सबल देखिए पनि आन्तरिक अर्थतन्त्र समस्यामा छ। उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् । आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी वस्तुको अधिकतम प्रयोग गर्ने विशेष अभियान नै सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरे। ८१ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्र नै समस्यामा रहँदा वैदेशिक लगानी भित्रिने सम्भावना कम हुने उनको तर्क छ ।

‘बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम भए पनि कर्जा विस्तार हुन सकेको छैन। यसले निजी क्षेत्रमा आत्मविश्वासको कमी देखाउँछ,’ श्रेष्ठले भने ।

उनले उत्पादनदेखि बजारीकरणसम्म सक्रिय निजी क्षेत्रलाई उकास्न राज्यले विशेष सहुलियत दिनुपर्ने बताए। जेनजी आन्दोलनपछिको बदलिँदो परिस्थितिमा अर्थतन्त्र थप कठिन मोडमा रहेको भन्दै उनले बैंकमा थुप्रिएको रकमलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्न आग्रह गरे ।