‘अपोइन्टमेन्ट’को समयभन्दा अगावै सेवाग्राही पुग्दा राहदानी विभागमा भीडभाड


काठमाडौं । राहदानी विभागबाट दैनिक करिब १ हजार ५०० सेवाग्राहीले सेवा लिने गरेका छन् ।

त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा राहदानीका लागि आवेदन दिने र राहदानी लिने गरी दैनिक सो सङ्ख्यामा सेवाग्राही पुग्ने गरेका हुन् ।

जेनजी आन्दोलनपछि विभागको सेवा प्रवाहमा केही असहजता देखिए पनि अहिले दैनिक एक हजारभन्दा बढी सेवाग्राहीले सेवा लिइरहेको महानिर्देशक तीर्थराज अर्यालले बताए ।

राहदानी वितरण प्रक्रिया सहज भइसकेको जानकारी दिँदै उनले विभागबाट सेवाग्राहीले ढिलोमा ३ दिनभित्र राहदानी पाउने गरेको दाबी गरे।

उनका अनुसार गत मंसिर महिनामा मात्र २ लाख ४० हजार सेवाग्राहीले राहदानी लिएका छन् । विभागले आफ्नो सेवालाई चुस्त बनाउँदै लगेको उनको भनाइ छ ।

विभागमा भीडभाड भने अझै यथावत रहेको महानिर्देशक अर्यालले स्वीकार गरे । ‘विभागले तोकेको अपोइन्टमेन्ट समयभन्दा निकै अगावै सेवाग्राही आउने गरेकाले भीडभाड बढी देखिएको हो,’ उनले भने, ‘तोकिएको समयमा मात्र आउने हो भने भीड हुँदैन । १ बजेको समय छ भने पनि सेवाग्राहीहरू बिहान १० बजे नै आएर लाइनमा बस्ने गरेका छन्।’

छिटो पुगेमा चाँडै सेवा पाइने भ्रमले गर्दा पनि भीड बढेको हुन सक्ने अर्यालको तर्क छ ।

सरकारी कार्यालयहरूमध्ये राहदानी विभाग ‘अपोइन्टमेन्ट’ लिएर सेवा दिने पहिलो निकाय भएको उनले उल्लेख गरे ।

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा सात दिनभित्र राहदानी उपलब्ध गराउने गरिएको अर्यालले जानकारी दिए । धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट र सिन्धुपाल्चोकमा सेवाग्राहीले सात दिनभित्र राहदानी पाउनेछन् ।

यस्तै, तराईका जिल्लाहरूमा १५ देखि २२ दिन र दुर्गमका जिल्लाहरूमा बढीमा २५ दिनभित्र राहदानी पुग्ने उनले प्रस्ट पारे । हरेक जिल्लाबाट राहदानी वितरणको सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ ।

विभागभित्रका केही स्टेसन र सफ्टवेयरमा प्राविधिक समस्या रहेका कारण काममा केही अवरोध पुगेको उनले बताए ।

मोरङका दुईवटा कार्यालय र लेखनाथ इलाका प्रशासन कार्यालयबाट राहदानीको काम हुन नसक्दा केही सेवाग्राहीलाई मर्का परेको भन्दै अर्यालले ती समस्या समाधानको पहल भइरहेको जानकारी दिए ।