
काठमाडौं । भेनेजुएला भित्र आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि अब ट्रम्प प्रशासनको निशानामा ग्रीनल्याण्ड हुन सक्ने संकेतहरू देखिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका सबैभन्दा नजिकका र उनको प्रशासनका सबैभन्दा प्रभावशाली सहयोगी स्टीफन मिलरकी पत्नीले शनिबार राति ढिलो एक्समा ग्रीनल्याण्डको बारेमा एउटा पोस्ट गरिन्, जसमा डेनमार्कले गहिरो आपत्ति जनाएको छ ।
स्टीफन मिलर ट्रम्प प्रशासनमा ‘डिप्टी चीफ अफ स्टाफ’ हुन् र उनकी पत्नी केटी मिलरले भेनेजुएला अपरेशनपछि एक्समा डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्याण्डको एउटा तस्विर पोस्ट गरिन् ।
यस तस्विरमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाभित्र देखाइएको छ र त्यसको माथि एउटा मात्र शब्द लेखिएको छ- ‘छिट्टै’ ।
केटी मिलरको पोस्टलाई लिएर डेनमार्क र ग्रीनल्याण्डका नेताहरूले कडा प्रतिक्रिया दिएका छन् ।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकी राष्ट्रपतिलाई ग्रीनल्याण्डमाथिको कब्जालाई लिएर ‘धम्की दिन बन्द गर्न’ आग्रह गरिन् ।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स-फ्रेडरिक नील्सनले केटी मिलरको यस पोस्टलाई ‘अपमानजनक’ बताएका छन्।
उनले एक्समा लेखेका छन्, ‘देश र मानिसहरू बीचको सम्बन्ध आपसी सम्मान र अन्तर्राष्ट्रिय कानुनमा आधारित हुन्छ । यस्ता सांकेतिक इशाराहरूमा होइन, जसले हाम्रो दर्जा र हाम्रा अधिकारहरूको बेवास्ता गर्छन् ।’
उनले थपेका छन्, ‘हताश हुने वा चिन्ता गर्ने कुनै कारण छैन । हाम्रो देश बिक्रीका लागि होइन र हाम्रो भविष्य सामाजिक सञ्जालका पोस्टहरूबाट तय हुँदैन ।’
अमेरिकाका लागि डेनमार्कका राजदूत जेस्पर मोएलर सोरेन्सनले आइतबार केटी मिलरको पोस्टको लिंक सेयर गर्दै लेखेका छन्, ‘हामी डेनमार्कको क्षेत्रीय अखण्डताका लागि पूर्ण सम्मानको अपेक्षा गर्दछौं।’
डेनमार्कका राजदूतले केटी मिलरको पोस्टको जवाफमा एक कडा ‘फ्रेन्डली रिमाइन्डर’ दिँदै उनको देश नेटोको सदस्य रहेको र उसले ‘आर्कटिक सुरक्षा प्रयासहरूलाई निकै बलियो बनाएको’ र यसमा अमेरिकासँग मिलेर काम गरेको उल्लेख गरेका छन् ।
सोरेन्सनले लेखेका छन्, ‘हामी नजिकका सहयोगी हौं र हामीले यसरी नै मिलेर काम गरिरहनुपर्छ ।’
डोनल्ड ट्रम्पले धेरै पटक ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन चाहेको बताइसकेका छन् ।
यस दिशामा उनको सरकारले चालेका कदमहरूले डेनमार्क र युरोपेली संघ दुवैलाई आक्रोशित बनाएको छ ।
गत डिसेम्बर २२ मा ट्रम्पले डेनिस क्षेत्रका लागि एक दूत नियुक्त गरेका थिए।
ट्रम्पले ग्रीनल्याण्ड ‘अमेरिकाको सुरक्षाका लागि आवश्यक’ भएको र यसलाई आफ्नो ‘कब्जामा लिनै पर्ने’ बताएका थिए ।
स्टीफन मिलर को हुन् ?
स्टीफन मिलरलाई ट्रम्पको नीतिहरूको मुख्य रणनीतिकार मानिन्छ। उनले राष्ट्रपतिलाई कडा अध्यागमन नीति र घरेलु एजेन्डाको रूपरेखा सुझाव दिँदै आएका छन् ।
बीबीसी संवाददाता एटाहोल्पा अमेराइजका अनुसार, ट्रम्पको सबैभन्दा कठोर अध्यागमन नीतिका पछाडि कोही ‘मास्टरमाइन्ड’ छन् भने ती स्टीफन मिलर हुन् ।
ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेको पहिलो दिनमै जुन कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे, त्यसमा मिलरको हस्ताक्षर पहिले नै गरिएको थियो । ती आदेशहरूमा- जन्मसिद्ध नागरिकता समाप्त गर्ने र दक्षिणी सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कुराहरू थिए ।
दोस्रो कार्यकालमा स्टीफन मिलरको ओहोदा निकै तीव्र गतिमा बढेको छ र उनलाई ट्रम्पको सबैभन्दा ठूलो वफादार सहयोगी मान्न थालिएको छ ।
स्टीफन मिलरकी पत्नी केटी मिलर ट्रम्पको पहिलो कार्यकालमा होमल्याण्ड सेक्युरिटी विभागमा ‘डिप्टी प्रेस सेक्रेटरी’ रहिसकेकी छिन्।
पछि उनले तत्कालीन उपराष्ट्रपति माइक पेन्सका लागि ‘कम्युनिकेशन डाइरेक्टर’ का रूपमा काम गरिन् र उनको ‘प्रेस सेक्रेटरी’ को भूमिका पनि निभाएकी थिइन् ।
ग्रीनल्याण्डलाई लिएर ट्रम्पको मनसाय के?
अमेरिकी युरोपेली सहयोगीहरू शनिबार त्यसबेला अचम्ममा परे, जब ट्रम्पले अमेरिकी सेनालाई भेनेजुएलाको राजधानी काराकासमा हमला गर्न र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न आदेश दिएका थिए । मादुरो हाल न्यूयोर्कमा अमेरिकी हिरासतमा छन् ।
ट्रम्पले अमेरिकाले अब अनिश्चित कालसम्म भेनेजुएलालाई ‘चलाउने’ र उसको ठूलो तेल भण्डारको प्रयोग गर्ने संकेत गरिसकेका छन् ।
ग्रीनल्याण्डको मामलामा ट्रम्पले डेनमार्कको यस क्षेत्रलाई अमेरिकाको हिस्सा बनाउनु अमेरिकी ‘राष्ट्रिय सुरक्षाको हित’ मा हुने दाबी गरेका छन् । यो आर्कटिकमा रणनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेको छ।
ग्रीनल्याण्डको बारेमा ‘द एट्लान्टिक’ म्यागजिनले फोनमा सोधेको प्रश्नमा ट्रम्पले भने, ‘हामीलाई ग्रीनल्याण्ड चाहिन्छ, पक्कै चाहिन्छ। हामीलाई यो रक्षाका लागि चाहिन्छ ।’
रोयटर्सका अनुसार, आइतबार म्यागजिनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले यदि मानिनन् भने उनले मादुरोभन्दा पनि ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्ने चेतावनी दिएका छन् ।
डेल्सी रोड्रिग्जले आफ्नो देशको प्राकृतिक स्रोतहरूको ‘जसरी पनि रक्षा’ गर्ने उल्लेख गरिन् ।
ग्रीनल्याण्ड: ‘रेयर अर्थ’ को खजाना
२१ लाख वर्ग किलोमिटर क्षेत्रफल भएको ग्रीनल्याण्ड टापुको जनसंख्या मात्र ५७ हजार छ । धेरै किसिमको स्वायत्तता पाएको ग्रीनल्याण्डको अर्थतन्त्र डेनमार्कको अनुदानमा निर्भर छ र यो ‘किंगडम अफ डेनमार्क’ को हिस्सा हो ।
यस टापुको ८० प्रतिशत हिस्सामा स्थायी रूपमा बाक्लो बरफ जमेको हुन्छ ।
ग्रीनल्याण्डका लागि ट्रम्पको यो महत्वाकांक्षा कुनै नयाँ होइन । २०१९ मा उनले यो एउटा ‘शानदार रियल एस्टेट’ सम्झौता हुने बताएका थिए ।
उच्च प्राविधिक क्षेत्रमा प्रयोग हुने महत्त्वपूर्ण खनिजहरू पनि ग्रीनल्याण्डमा ठूलो मात्रामा उपलब्ध छन् ।
गत वर्ष जनवरीमा मिशिगन विश्वविद्यालयका प्रोफेसर र भूगर्भविद् एडम सिमोनले बीबीसी न्यूज ब्राजिललाई ग्रीनल्याण्डमा विश्वको एक चौथाइ वा करिब १५ लाख टन ‘रेयर अर्थ मिनरल्स’ हुन सक्ने बताएका थिए।
‘रेयर अर्थ’ को मामलामा अहिले चीन विश्वभर हावी छ र ग्रीनल्याण्डका खानी कम्पनीहरूमा पनि उसको लगानी छ ।
चीन वर्षौंदेखि ग्रीनल्याण्डमा आफ्नो उपस्थिति बढाउने प्रयास गरिरहेको छ ।
चिनियाँ निर्माण कम्पनीहरूले ग्रीनल्याण्डमा कम्तिमा दुईवटा विमानस्थल बनाउने प्रयास गरेका थिए । तर अमेरिकी दबाबका कारण यसो हुन नसकेको मानिन्छ ।
चीनलाई अमेरिकाले आफ्नो मुख्य प्रतिद्वन्द्वी मान्छ र उसँगको प्रतिस्पर्धामा ग्रीनल्याण्ड एउटा नयाँ मोर्चा बनेको छ ।
भेनेजुएलासँग युद्ध होइन- मार्को रुबियो
भेनेजुएलामा गरिएको कारबाहीका लागि ट्रम्प प्रशासनले कंग्रेसबाट अनुमति लिएको थिएन र यसलाई लिएर अमेरिकामा पनि प्रश्नहरू उठिरहेका छन् ।
अनुमति लिने विषयमा सोधिएको प्रश्नको जवाफमा अमेरिकाका विदेश मन्त्री मार्को रुबियोले एबीसी न्यूजलाई भने, ‘यो आवश्यक थिएन किनभने यो कुनै आक्रमण थिएन ।’
उनले यस्ता अपरेशनका बारेमा कंग्रेसलाई सूचित गर्न नसकिने बताउँदै भने, ‘यसबाट जानकारी चुहिने आशंका रहन्छ ।’
रुबियोले अमेरिकाले भेनेजुएलासँग युद्ध गरिनरहेको उल्लेख गरे । उनले थपे, ‘अमेरिका तर्फ लागुऔषध ल्याउने डुङ्गाहरू जफत गर्ने काम जारी रहनेछ ।’
भेनेजुएला कसले चलाइरहेको छ भन्ने प्रश्नमा उनले भने,’ मेरिकाले भेनेजुएलामा परिवर्तन देखिने अपेक्षा गरेको छ । जसमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन ती हुनेछन् जुन अमेरिकाको राष्ट्रिय हितमा होउन्।’
रुबियोले अमेरिकाका खतराहरूसँग जुध्न उनको सरकारले ‘हरेक प्रकारको दबाब प्रयोग गर्ने’उद्देश्य राखेको छ ।
शनिबार भएको अपरेशन लगत्तै ट्रम्पले फ्लोरिडामा रहेको आफ्नो निवास मार-ए-लागोमा एउटा पत्रकार सम्मेलन गर्दै अमेरिकाले भेनेजुएलालाई ‘तब सम्म चलाउनेछ’ जबसम्म सत्ताको ‘सुरक्षित, सही र बुद्धिमानी परिवर्तन हुँदैन।’
तर थिंकट्याङ्क ‘च्याटम हाउस’ मा इन्टरनेशनल ल प्रोग्रामका डाइरेक्टर मार्क वेलरले बीबीसीकी लाइभ रिपोर्टर केटी विलियम्ससँग भने कि अन्तर्राष्ट्रिय कानुनमा, ‘बल प्रयोगको कुनै कानुनी आधार छैन’, न त ‘लागुऔषधका संदिग्धहरूलाई पक्रन’ का लागि र न त ‘भेनेजुएलामा लोकतन्त्रलाई बढावा दिन’ का लागि ।
वेलरले भेनेजुएलालाई ‘चलाउने’ कुरालाई ‘निकै अनौठो’ बताएका छन् ।
अमेरिकी कारबाहीमा अन्तर्राष्ट्रिय प्रतिक्रियाहरू निकै कडा रहेका छन्। चीनले मादुरोलाई तुरुन्त रिहा गर्न माग गरेको छ।
इसाई धर्मगुरु पोप लियोले भेनेजुएलाको सार्वभौमसत्ताको ग्यारेन्टी गर्न अपील गरेका छन्।








प्रतिक्रिया