भैरहवामा बनिरहेको बुटिक होटलको ९०% काम सकियो, ‘गोल्डेन ट्यूलिप’ ब्राण्डमा सञ्चालन हुने


काठमाडौं । रुपन्देही जिल्लाका भैरहवामा बनिरहेको शुनिभा इन बुटिक होटल एन्ड स्पाको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ । कम्पनीले साढे ७६ करोड रुपैयाँ लगानीमा बनाइरहेको रिसोर्टको हालसम्ममा ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।

कम्पनीले भैरहवाको ओमसतियामा ५२ कोठाको लक्जरियस रिसोर्ट बनाइरहेको हो । कम्पनीले होटल व्यवस्थापनका लागि भारतीय कम्पनी सरोबर होटल्स प्रालिसँग सम्झौता गरेको छ । उक्त होटल्स व्यवस्थापन कम्पनी लुभ्र होटल्स ग्रुपअन्तर्गत रहेको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय चेन होटलको ग्रुपसँग व्यवस्थापनको सम्झौता गरेर गोल्डेन टुलिप ब्रान्डमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।

होटलमा रेष्टुरेन्ट, हेल्थ क्लब र स्पासहित अन्य आधुनिक सुविधा हुने जनाएको छ । कम्पनीले रिसोर्ट निर्माणका लागि ७७:२३ अनुपातमा लगानी गर्ने भएको छ । जसमा ५९ करोड रुपैयाँ कर्जा लिई लगानी गर्ने भएको छ भने बाँकी रकम इक्विटीबाट लगानी गर्नेछ । त्यसैगरी, हालसम्ममा कम्पनीले कर्जा लिई लगानी गर्ने भनिएकोमा ४९ करोड ५० लाख रुपैयाँ रकमको व्यवस्थापन भइसकेको रेटिङमा उल्लेख छ । साथै, कम्पनीले दीर्घकालीन कर्जाका लागि ५९ करोड रुपैयाँ रेटिङ गराएको छ ।

रेटिङअनुसार कम्पनीको कुल चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । जसमा रिसोर्टको हालसम्ममा ८४ प्रतिशत आर्थिक प्रगति भइसकेको छ । कम्पनीका अध्यक्ष इन्द्रकुमारी वर्मा हुन् ।