रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता: कुलमान घिसिङ पहिलो वरीयताको उपसभापति


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच विधिवत् रूपमा पार्टी एकता भएको छ । सोमबार दुई पक्षीय छलफलपछि सात बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई पार्टीबीच एकताको घोषणा गरिएको हो।

सहमति अनुसार एकीकृत पार्टीको सभापतिमा रवि लामिछाने नै रहनेछन् भने पार्टीमा अब तीन जना उपसभापति रहने व्यवस्था गरिएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई रास्वपाको पहिलो वरीयताको उपसभापति बनाउने सहमति भएको छ । घिसिङसँगै डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पनि उपसभापति रहने छन् ।

पार्टी एकताको सहमति पत्रमा रास्वपाका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । यो राजनीतिक मिलापमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई साक्षीका रूपमा राखिएको छ ।

एकता प्रक्रियामा चुनाव चिह्नका विषयमा केही समय विवाद देखिएको थियो । उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पार्टीको नाम रास्वपा नै रहने भए चुनाव चिह्न ‘बलिरहेको बत्ती’ राख्नुपर्ने अडान राख्दै आएका थिए । तर, सोमबार साँझ भएको निर्णायक वार्तामा उज्यालो नेपाल पक्ष आफ्नो अडानबाट पछि हटेपछि एकीकृत पार्टीको चुनाव चिह्न ‘घण्टी’ नै रहने टुङ्गो लागेको हो ।

एकीकृत पार्टीको झण्डा साविककै रास्वपाको स्वरूपमा रहनेछ, जसमा निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकारभित्र निलो रङको घण्टीको आकृति रहनेछ । एकीकृत पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ ।

यसअघि रास्वपा र बालेनबीच बृहद एकता भइसकेको छ ।