
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार नगरसभा सम्पन्न भएको छ । करिब एक घण्टा चलेको सभाले भवन निर्माण मापदण्डमा पहिलो संशोधन गर्नुका साथै सहकारी ऐनमा समेत महत्वपूर्ण परिवर्तन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
नेपाल सरकार, भवन विभागले परिमार्जन गरेका नीतिहरूलाई आत्मसाथ गर्दै महानगरले भवन मापदण्डमा पहिलो संशोधन गरेको हो । नयाँ मापदण्डले विशेषगरी बाटोको चौडाइ, बेसमेन्टको उचाइ र सेटब्याक (छोड्नुपर्ने खाली ठाउँ) सम्बन्धी अन्योललाई चिर्ने प्रयास गरेको छ ।
महानगरपालिकाले सार्वजनिक सेवा प्रवाह गर्ने भवनहरूका लागि बाटोको न्यूनतम चौडाइ तोकेको छ । अब महानगरभित्र होटल सञ्चालन गर्न कम्तिमा ६ मिटर चौडाइको बाटो हुनुपर्नेछ । त्यसैगरी, विद्यालय र अस्पताल निर्माणका लागि ८ मिटर चौडाइको बाटो अनिवार्य गरिएको छ ।
यसअघि सबै प्रकारका अग्ला भवनले वरिपरि अनिवार्य ५ मिटर ‘सेटब्याक’ छोड्नुपर्ने प्रावधान थियो । अब भने भवनको उचाइ अनुसार सेटब्याक छोड्नुपर्ने गरी मापदण्ड परिमार्जन गरिएको छ ।








प्रतिक्रिया