ओमोडा र जेकोको एउटै कारमा ४०% सम्म मार्जिन, ६० लाखको कारमा १७.७५ लाख नाफा


काठमाडौं । एउटा कार बेच्दा बिक्रेताले कतिसम्म नाफा खालान् ? अनुमान गर्नुस् त । तपाईंलाई लाग्नसक्छ बिक्रेताले एउटा गाडी बिक्री गर्दा १ लाख, २ लाख वा बढीमा ५ लाख रुपैयाँसम्म नाफा खानसक्छन् ।

तर, तपाईंले गरेको यो अनुमान निकै कम छ । अर्थात्, तपाईंले अनुमान गरे भन्दा निकै गुणा बढी नाफा राखेर बिक्रेताले गाडी तपाईंको हातमा थमाउने गर्दछन् ।

हुन त, मूल्यअनुसार ५० लाख रुपैयाँको गाडीमा ५ लाख रुपैयाँ र ६० लाख रुपैयाँको गाडी भए ६ लाखसम्म नाफा राख्दा ठिकै पनि होला । सामान्यता, गाडी बिक्रीताको विभिन्न खर्च हुने ठाउँहरु हेर्ने हो भने पनि १० प्रतिशतसम्म नाफा राख्नुलाई अनुचित नै मान्न सकिँदैन ।

तर, यो कुरा सुन्दा तपाईंलाई अचम्म र अस्वभाविक लाग्न सक्छ, किनभने गाडी बिक्रेताले एउटा गाडी बिक्री गर्दा नै ४० प्रतिशतसम्मको नाफा राख्ने गरेको देखिएको छ । नेपाली बजारमा चिनियाँ ब्रान्ड ओमोडा र जेकोको विद्युतीय कार बेच्ने एसपीजी अटोमोबाइल्स (शारडा ग्रुपअन्तर्गतको कम्पनी)ले ६० लाखको कार बेच्दा करिब १८ लाख रुपैयाँसम्म नाफा राखेको देखिन्छ ।

पछिल्ला केही वर्ष यता नेपालमा चिनियाँ विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेकाे छ । भारतीयको तुलनामा नेपालमा चिनियाँ विद्युतीय सवारीसाधनको बिक्री र लोकप्रियता उच्च छ । यहि मौकाको फाइदा उठाउँदै एसपीजी अटोमोबाइल्सले एउटै गाडीमा ४० प्रतिशतसम्म नाफा राखेर बिक्री गरिरहेको पाइएको हो ।

शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले नेपाल भित्र्याउने ’ओमोडा’ र ’जेको’ ब्रान्डका कारहरूको वास्ताविक मूल्यमा ४० प्रतिशतसम्मको मार्जिन राखेको देखिन्छ । क्लिकमान्डुलाई प्राप्त प्रमाणअनुसार एसपीजी अटोमोबाइल्सले आयात गर्ने गाडीको भन्सारसहितको लागत र उपभोक्ता मूल्यबीचको अन्तर हेर्दा ४० प्रतिशतसम्म नाफा लिएको पुष्टि हुन्छ ।

आयात गर्ने क्रममा भन्सारमा पेश गरेको बिजकको विवरण (इन्भोइस मूल्य) र बिक्री मूल्य भिडाउँदा एसपीजीले आयात गरी नेपालमा बिक्री गर्ने ओमोडा ई फाइभको लग्जरीमा ४०.१२ प्रतिशत, जेको जेफाइभमा २९.८२ प्रतिशत, जेको सिक्समा २८.९२ प्रतिशत र ई फाइभमा २५.२३ प्रतिशत अन्तर छ ।

सुरुमा सबैभन्दा बढी नाफा राख्ने ओमोडा ईफाइभ लग्जरीको कुरा गरौं । यस कारको करसहितको औसत आयात बिल ४४ लाख २४ हजार रुपैयाँ रहेको छ ।

तर, कम्पनीले यस कारको बिक्री मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसरी एउटै कारमा कम्पनीले १७ लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरिरहेको छ । यो कारलाई कम्पनीले छुटपछिको मूल्य ५४ लाख ९९ हजार रुपैयाँमा बेच्ने गरेको दाबी गर्छ ।

त्यस्तै, ओमोडा ई फाइभमा कम्पनीको नाफा २५.२३ प्रतिशत छ । करसहित ४३ लाख ९१ हजार रुपैयाँ करसहितको लागत पर्ने यो कार ५४ लाख ९९ हजारमा बिक्री भइरहेको छ, जहाँ एउटै गाडीमा कम्पनीलाई ११ लाख ८ हजार रुपैयाँ नाफा देखिन्छ ।

क्लिकमान्डुलाई प्राप्त इन्भोइस अनुसार चिनियाँ कार निर्माता कम्पनी चेरीले इलेक्ट्रिक कार ओमोडाको ईफाइभ लग्जरी एसपीजीलाई औसत १ लाख ३५ हजार चिनियाँ युआन (२७ लाख १ हजार रुपैयाँ)मा बेच्छ ।

नेपालमा लाग्ने करको दरअनुसार पिकपावर ९९ किलोवाटको मोटर रहेको यस कारमा २० प्रतिशत भन्सार, थप १५ प्रतिशत अन्तःशुल्क, त्यसमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुर गरी कुल ६३.७४ प्रतिशत कर लाग्छ ।

यो करसमेत जोड्दा ईफाइभ लग्जरीको कुल लागत ४४ लाख २४ हजार रुपैयाँ हुन आउँछ । त्यसमा १७ लाख ७५ लाख रुपैयाँ नाफा राखेर कम्पनीले कारको बिक्री मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तय गरेको छ ।

ईफाइभको हकमा एसपीजीले चिनियाँ कम्पनीलाई १ लाख ३४ हजार युआन (२६ लाख ८१ हजार रुपैयाँ) तिर्छ । त्यसमा ६३.७४ प्रतिशत कर तिर्दा कारको कुल लागत ४३ लाख ९१ हजार रुपैयाँ पर्छ । कारको बिक्री मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकिँदा कम्पनीले ११ लाख ८ हजार रुपैयाँ नाफा राखेको छ ।

जेकोका मोडलमा पनि उस्तै नाफाखोरी

एसपीजी अटोमोबाइल्सले नै आयात गर्ने अर्को प्रिमियम ब्रान्ड ’जेको’ मा पनि उच्च नाफा छ । ’जेको सिक्स’ को औसत आयात बिल (करसहित) ५४ लाख २९ हजार रुपैयाँ छ, जबकि यसको उपभोक्ता मूल्य ६९ लाख ९९ हजार तोकिएको छ । यसमा कम्पनीलाई १५ लाख ७० हजार रुपैयाँ अर्थात् २८.९२ प्रतिशत नाफा हुन्छ ।

यस्तै, ’जेको जेफाइभ’ मा पनि कम्पनीले २९.८२ प्रतिशत नाफा राखेको छ । ४७ लाख ७५ हजार रुपैयाँ लागत पर्ने यो कार ६१ लाख ९९ हजारमा बिक्री गर्दा कम्पनीलाई एउटै गाडीमा १४ लाख २४ हजार रुपैयाँ नाफा हुन्छ ।

जेकोका कारमा १३५ किलोवाटको मोटर राखिएको छ । नेपालमा लाग्ने करको दरअनुसार कारको इन्भोइस मूल्यमा ३० प्रतिशत भन्सार, थप २० प्रतिशत अन्तःशुल्क, त्यसमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र ५ प्रतिशत सडक निर्माण दस्तुर गरी कुल ८५.०९ प्रतिशत कर लाग्छ ।

अटोमोबाइल कम्पनीहरूले लागत र बिक्री मूल्यबीचको अन्तर सबै नाफा नहुने तर्क गर्दै आएका छन् । यस्तो अन्तर नाफा मार्जिन हो, जसमा ढुवानी खर्च, बैंकको ब्याज, शोरुम भाडा र कर्मचारी खर्च लगायतका प्रशासनिक खर्चहरू सामेल हुन्छ ।

तर, बुझ्नुपर्ने विषय के हो भने बिक्री मूल्यबाट खरिद मूल्य वा लागत घटाउँदा आउने अन्तर नै नाफा हो । उपभोक्ताकर्मीले पनि प्रशासनिक र अन्य खर्चका नाममा ४० प्रतिशतसम्मको मार्जिन राख्नुलाई नाफाखोरीको संज्ञा दिने गरेका छन् ।

साथै सरकारले विद्युतीय सवारीमा सरकारले भन्सार सहुलियत दिए पनि त्यसको लाभ सर्वसाधारण उपभोक्ताले पाउनुको साटो बिक्रेता कम्पनीको गोजीमा गइरहेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार असोज महिनामा मात्रै एसपीजी अटोमोबाइल्स प्रालिले जेक्को ब्रान्डका कुल १५९ गाडी नेपाल भित्र्याएको देखिन्छ । यस्तै, एसपीजी अटोमोबाइल्सले यस अवधिमा १०१ युनिट ओमोडा गाडी भित्र्याएको भन्सार विभागको तथ्यांक छ ।

नेपालमा पछिल्लो ५ महिनामा ९ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् । चालु आर्थिक वर्षको पहिलो पाँच महिना (साउन–मङ्सिर) सम्ममा करिब ३८ सय ईभी बजारमा आएका हुन् । भन्सार विभागको तथ्याङ्क अनुसार मङ्सिर मसान्तसम्म नेपालमा विभिन्न क्षमताका कुल ३ हजार ७९८ युनिट ईभी आयात भएका छन् ।

८ अर्ब ९५ करोड ५१ लाख ४० हजार रुपैयाँ बराबरका ती सवारी आयात हुँदा राज्यले पाँच अर्ब ५६ करोड ३३ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपाल भित्रिने ईभीलाई मोटर क्षमताका आधारमा चार वर्गमा विभाजन गरिएको छ । तथ्याङ्क अनुसार ५१ देखि १०० किलोवाट क्षमताका ईभी सबैभन्दा बढी आयात भएको देखिन्छ । पाँच महिनाको अवधिमा यस क्षमताका दुई हजार १६४ ओटा ईभी भित्रिएका छन् ।

यो सेग्मेन्टका ईभीको लागत मूल्य पाँच अर्ब ६० करोड ८६ लाख ४७ हजार रुपैयाँ रहेको छ । त्यस्तै ५० किलोवाटसम्मका ईभी दोस्रो प्राथमिकतामा परेका छन् ।

यस अवधिमा ५० किलोवाट क्षमताका एक हजार २१५ ईभी भित्रिएका छन् । जसको मूल्य दुई अर्ब सात करोड ३२ लाख ५७ हजार रुपैयाँ छ । १०१ देखि २०० किलोवाट क्षमताका भने ४१४ ईभी मात्र आयात भएको तथ्याङ्क छ । जसको मूल्य अर्ब २३ करोड ८१ लाख तीन हजार रुपैयाँ छ ।

यता २०१ देखि ३०० किलोवाट क्षमताका ईभीको आयात भने सबैभन्दा थोरै छ । पाँच महिनामा यो क्षमताका मात्र ५ ईभी मात्र भित्रिएका छन् । जसको मूल्य ३ करोड ५१ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

Skip This