पीएसजीविरुद्धको मुद्दा एमबाप्पेले जिते, क्लबले १० अर्ब १५ करोड तिर्नुपर्ने


एजेन्सी । फ्रान्सेली फुटबलका सुपरस्टार केलियन एमबाप्पे र उनको पूर्वक्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको महिनौँ लामो विवाद अन्ततः कानुनी रूपमा किनारा लागेको छ ।

पेरिसको एउटा श्रम अदालतले मंगलबार ऐतिहासिक फैसला सुनाउँदै पीएसजीलाई एमबाप्पेको बाँकी रहेको ६० मिलियन युरो (आजको विनिमय दरअनुसार करिब १० अर्ब १५ करोड ६९ लाख नेपाली रुपैयाँ) भुक्तानी गर्न आदेश दिएको रोयटर्सले जनाएको छ ।

यो फैसलालाई खेल जगतमा एउटा ठूलो नजिरका रूपमा हेरिएको छ, जसले व्यावसायिक फुटबलमा पनि श्रम कानुन सर्वोपरी हुने सन्देश दिएको छ।

के थियो विवाद?

सन् २०२४ को समर ट्रान्सफर विन्डोमा एमबाप्पे फ्रि-ट्रान्सफरमार्फत रियल मड्रिड गएका थिए । तर, क्लब छाड्नुअघिका अन्तिम तीन महिना (अप्रिल, मे र जुन) को तलब, एथिक्स बोनस र साइनिङ बोनस पीएसजीले रोक्का गरेको थियो ।

पीएसजीको तर्क थियो- ‘एमबाप्पेले क्लबलाई जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेर धोका दिएका छन्, जसले गर्दा क्लबले पाउने १८० मिलियन युरोको ट्रान्सफर शुल्क गुमाउनु पर्यो । त्यसैले उनले मौखिक रूपमा बोनस छोड्ने सहमति गरेका थिए।’

तर, अदालतमा पीएसजीले एमबाप्पेले आफ्नो तलब वा बोनस त्यागेको भन्ने कुनै पनि लिखित प्रमाण पेस गर्न सकेन । न्यायाधीशहरूले लिखित सम्झौता नभएसम्म मौखिक दाबीको कुनै अर्थ नरहने भन्दै एमबाप्पेको पक्षमा फैसला सुनाए ।

अदालतले पीएसजीले तीन महिनाको तलब र बोनस तुरुन्त भुक्तानी गर्नु आदेश गरेको छ भने ‘फुटबल उद्योगमा जतिसुकै ठूला सम्झौता भए पनि श्रम कानुन सबैका लागि समान हुन्छ। सम्झौता गरिएका प्रतिवद्धताहरू क्लबले पुरा गर्नैपर्छ,’ भनि उल्लेख गरेको छ ।

एमबाप्पेले क्लबमाथि लगाएका ‘मानसिक उत्पीडन’ र ‘सुरक्षाको कर्तव्य उल्लंघन’ जस्ता गम्भीर आरोपहरूलाई भने अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै खारेज गरिदिएको छ ।

एमबाप्पेकी वकिल फ्रेडरिक कासेराउले यो जितलाई न्यायको जित भनेकी छिन् । उनले भनिन्, ‘जब तलब भुक्तानी गरिँदैन, तब अदालतको ढोका ढकढकाउनु स्वभाविक हो। हामी यो फैसलाबाट निकै सन्तुष्ट छौं ।’

यस्तै, एमबाप्पेको कानुनी टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केलियनले ७ वर्षसम्म पीएसजीका लागि रगत र पसिना बगाए। उनले आफ्नो तर्फबाट सबै सम्झौता पालना गरे, र यो फैसलाले एउटा साधारण सत्य स्थापित गरेको छ– कसैले पनि कसैको पसिनाको मूल्य रोक्न पाउँदैन ।’

पीएसजीलाई ठूलो आर्थिक र नैतिक धक्का

यो फैसलाले पीएसजीलाई आर्थिक रूपमा मात्र होइन, क्लबको प्रतिष्ठामा पनि ठूलो धक्का पुर्याएको खेल विश्लेषकहरू बताउँछन् । फ्रान्सेली व्यावसायिक फुटबल लिगले यसअघि नै सेप्टेम्बर र अक्टोबरमा एमबाप्पेको पक्षमा निर्णय दिए पनि पीएसजीले त्यसलाई अटेर गर्दै आएको थियो ।

श्रम अदालतको यो आदेशपछि अब पीएसजीसँग पुनरावेदनको विकल्प भए पनि उनीहरूको कानुनी धरातल कमजोर देखिएको छ ।

हाल रियल मड्रिडबाट खेलिरहेका एमबाप्पेका लागि यो फैसला मैदानबाहिरको सबैभन्दा ठूलो कानुनी सफलता सावित भएको छ ।