भारतमा रहेका आफ्ना कूटनीतिक नियोगमा आक्रमण भएको भन्दै बंगलादेशले जनायो आपत्ति


एजेन्सी । बंगलादेशको विदेश मन्त्रालयले मंगलबार भारतमा रहेका बंगलादेशी कूटनीतिक नियोग र भवनहरूलाई लक्षित गरी भएका हालैका घटनाहरूका बारेमा ढाकाको गम्भीर चिन्ता व्यक्त गर्न बंगलादेशका लागि भारतीय उच्चायुक्त प्रणय वर्मालाई बोलाएको छ ।

विदेश मन्त्रालयका अनुसार, बंगलादेशले शनिबार नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायोगको परिसर र सरकारी निवास बाहिर भएका घटनाका साथै हिजो सिलिगुडीस्थित बंगलादेश भिसा सेन्टरमा भएको तोडफोडका कार्यप्रति आपत्ति जनाएको छ ।
ढाकाले कूटनीतिक प्रतिष्ठानहरू विरुद्ध योजनाबद्ध रूपमा गरिएका हिंसा र धम्कीका कार्यहरूको निन्दा गर्दै यस्ता कार्यहरूले कूटनीतिक कर्मचारीहरूको सुरक्षालाई खतरामा पारेको जनाएको छ । यसबाट आपसी सम्मान, शान्ति र सहिष्णुताका सिद्धान्तहरू कमजोर बनेको उसको भनाइ छ ।

सरकारले यी घटनाहरूको विस्तृत छानबिन गर्न, यस्ता घटना दोहोरिन नदिनका लागि सबै आवश्यक उपायहरू अपनाउन र बंगलादेशका कूटनीतिक नियोगहरू एवं सम्बन्धित सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न भारतलाई आग्रह गरेको छ ।

बंगलादेशले कूटनीतिक कर्मचारी र प्रतिष्ठानहरूको मर्यादा र सुरक्षाको रक्षा गर्न अन्तर्राष्ट्रिय र कूटनीतिक दायित्वहरू अनुरूप भारतले तत्काल र उचित कदम चाल्ने अपेक्षा गरेको जनाएको छ ।

सुरक्षा चिन्ताका बीच नयाँ दिल्ली र अगरतलाका नियोगहरूले सबै कन्सुलर र भिसा सेवाहरू स्थगित गरेका छन् । कोलकातामा बंगलादेश उप–उच्चायोगद्वारा नियुक्त तेस्रो पक्षले सञ्चालन गरेको भिसा आवेदन केन्द्र प्रदर्शनपछि बन्द गर्न बाध्य भएको थियो ।

बंगलादेशमा अल्पसंख्यकहरूमाथि आक्रमण भएको आरोप लगाउँदै कोलकातास्थित बंगलादेश उप–उच्चायोग अगाडि धेरै समूहले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले गत हप्ता मयमनसिंहमा गार्मेन्ट कामदार दिपु चन्द्र दासको हत्याको पनि सन्दर्भ उठाएका थिए ।

नयाँ दिल्लीस्थित बंगलादेश उच्चायोगको परिसरमा हिजो टाँसिएको सूचनामा टार्न नसकिने परिस्थितिका कारण अर्को सूचना नआएसम्मका लागि सबै कन्सुलर र भिसा सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको जनाइएको छ ।

यसबाट पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरिएको सूचनामा उल्लेख छ ।