तीनदिने भारत भ्रमणमा मेस्सीले कति कमाए ?


एजेन्सी । अर्जेन्टिनाका फूटबल सुपरस्टार लियोनल मेस्सीको तीन दिने भारत भ्रमणका लागि प्राप्त गरेको रकमका बारेमा आयोजकले खुलासा गरेका छन् ।

मेस्सीले आफ्ना साथीहरू लुइस सुआरेज र रोड्रिगो डे पलका साथ कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्लीको भ्रमण गर्दै प्रशंसकहरूसँगका कार्यक्रमहरूमा सहभागिता जनाए । भ्रमण समापन गर्नुअघि उनले गुजरातको जामनगरको पनि भ्रमण गरे।

भारतीय समाचार संस्था पीटीआईका अनुसार, भ्रमण आयोजक शताद्रु दत्तले मेस्सीलाई ८९ करोड भारु भुक्तानी गरिएको र भारत सरकारले कर स्वरूप ११ करोड भारु प्राप्त गरेको अनुसन्धानकर्मीहरूलाई बताएका छन् । यसले भ्रमणको कुल खर्च १ अर्ब भारु पुर्याएको छ । त्यसमा ३० प्रतिशत प्रायोजकहरूबाट र अर्को ३० प्रतिशत टिकट बिक्रीबाट संकलन गरिएको थियो ।

त्यसबाहेक जामनगरमा अम्बानी परिवारले मेस्सीलाई १० लाख डलर पर्ने विशेष घडी पनि उपहारमा दिएका छन् । यो यात्रुहरूका लागि डिजाइन गरिएको घडी हो जसमा दुईवटा टाइमजोन र रेसिङ कारको गियरबक्स जस्तै गरी फंक्शन सेलेक्टर रहेको छ । यस्तो घडी संसारभरिमा जम्मा १२ वटा छ । मेस्सीले यसअघि खरिद गरेका घडीभन्दा यो मूल्यवान रहेको बताइन्छ ।

कोलकाताको साल्ट लेक स्टेडियमको कार्यक्रमका लागि हजारौं दर्शकहरूले महँगो टिकट खरिद गरेका थिए । मैदानमा मेस्सीलाई भीडले घेरेकाले ग्यालरीबाट देख्न निकै मुस्किल भएको थियो । मेस्सीलाई राम्ररी देख्न नपाएका आक्रोशित प्रशंसकहरूले पछि स्टेडियमका केही भागहरूमा तोडफोड गरेका थिए ।

पश्चिम बंगाल सरकारले कार्यक्रमका क्रममा भएको तोडफोड, सुरक्षा कमजोरी र पहुँच उल्लंघनको अनुसन्धान गर्न वरिष्ठ आईपीएस अधिकारीहरू पीयूष पाण्डे, जावेद शमीम, सुप्रतिम सरकार र मुरलीधर सम्मिलित एक विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको छ ।

आयोजक दत्तले सुरुमा १५० वटा मात्र ग्राउन्ड पास जारी गरिएको दाबी गरे । तर, एकजना अत्यन्त प्रभावशाली व्यक्ति स्टेडियम पुगेपछि त्यो संख्या तीन गुणाले बढ्यो । त्यसले गर्दा भीड नियन्त्रणमा बाधा पुग्यो । यस कुराले अव्यवस्था फैलाउन भूमिका खेलेको हो कि भनेर एसआईटीका अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् ।

कसैले छोएको वा अंकमाल गरेको मेस्सीलाई मन नपर्ने कुरा पनि आयोजकले अनुसन्धानकर्मीहरूलाई बताए । यो कुरा उनको विदेशी सुरक्षा टोलीले पहिले नै जानकारी गराएको थियो । भीडलाई नियन्त्रण गर्न बारम्बार घोषणा गरिए तापनि मेस्सीलाई घेरेर अंकमाल गरियो । त्यसले गर्दा उनी छिट्टै कार्यक्रम छोडेर हिँडे ।

सार्वजनिक भएका दृश्यहरूमा खेलकुदमन्त्री अरूप विश्वास मेस्सीको निकै नजिक देखिएका थिए । उनले तस्बिर खिचाउन मेस्सीको कम्मरमा समेत समातेका थिए ।

विश्वासमाथि आफन्त र परिचितहरूलाई मेस्सीसम्म पहुँच दिएको आरोप लागेको छ । आलोचनाका बीच उनले अनुसन्धान जारी रहुन्जेलका लागि राजीनामा दिएका छन् ।

आयोजक दत्तले आफ्नो रोक्का गरिएको बैंक खातामा २० करोड भारु भन्दा बढी रकम भेटिएको खुलासा गरेका छन् । यो टिकट बिक्री र प्रायोजनबाट प्राप्त भएको बताइएको छ । अधिकारीहरूले उनको दाबीको जाँच गरिरहेका छन् ।