
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा आवेदन खुला भएको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ भएको छ ।
सोमबार(आज) आवेदन खुलेको ४० मिनेटमै ‘ओभर सब्सक्राइभ’ मात्र नभइ आईपीओमा आवेदन दर निकै उच्च रहेको छ ।
सीडीएससीका अनुसार अहिले रिलायन्सको सेयर खरिद गर्न प्रतिसेकेन्ड ९ वटाको दरले आईपीओ आवेदन परेको छ। सोमबार बिहान १०:४० सम्म २१ हजार ९५३ आवेदकले ११ लाख ५६ हजार ४८० कित्ताको लागि आवेदन परेको हो । कम्पनीले आम सर्वसाधारणको लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्काशन गरेको छ ।
प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ ।
सर्वसाधारण समूहमा निष्काशन हुने ६० प्रतिशत अर्थात् ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता आम– सर्वसाधारणका लागि खुलेको हो । वैदेशिक रोजगार र सामूहिक लगानी कोषतर्फ पनि करिब १७ गुणा बढी आवेदन परी सेयर बाँडफाँट भइसकेको छ ।
निष्काशितमध्ये सबैभन्दा ठूलो हिस्साको आईपीओको लागि आवेदन दिने अवधि पुस ७ देखि ११ सम्म तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ सम्म लम्बिने भए पनि ओभर सब्सक्राइभ भएपछि लम्बिने संभावना नरहेको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
किन आकर्षण ?
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको तीब्र आकर्षण देखिनुमा विश्वासिलो बिरासत, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेको कम्पनीले जनाएको छ ।
रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डल डलरको निर्यात हुन्छ ।
कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् । पवनकुमार ६ दशक लामो इतिहास बोकेको गोल्यान ग्रुपका अध्यक्ष र अक्षय प्रवन्ध निर्देशक हुन् ।
रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।








प्रतिक्रिया