
विराटनगर । नेपाली चियाको मुख्य बजार भारत हो । नेपाली चियाप्रति भारतीय उपभोक्ता र ग्राहकको आकर्षण बढ्दो छ ।
तर पछिल्लो समय भारतीय व्यापारीले नेपालको चियाका बारेमा चलाएको नकारात्मक हल्लाका कारण नेपाली चियाको निकासी चार महिनामा ३७.७ प्रतिशतले घटेको छ ।
नेपालको सीटीसी चियाको ९० प्रतिशत बजार भारत नै हो । तर भारतीय व्यापारीले नेपाली चियाको नकारात्मक प्रचार गरेर दोहोरो फाइदा लिँदा नेपाली किसान मारमा परेका छन् ।
भारतीय व्यापारीले स्थानीय बजारमा नेपाली चियाको नकारात्मक प्रचार गरेर नेपाली चियाप्रति भारतीय उपभोक्ताको आकर्षण घटाउने प्रयत्न गरेको पछिल्लो उदाहरण हो, नेपाली चियाको भारत निर्यात घट्नु ।
काँकरभिट्टा भन्सारका अनुसार आर्थिक वर्ष २०८१/२०८२ को पहिलो चौमासिकमा २ अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ८० लाख ६२ हजार १६४ किलो चिया मेची नाकाबाट निकासी भएको थियो।
चालु आवको पहिलो चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ मूल्य बराबरको ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया निकासी भएको तथ्यांकमा छ ।
यो गत वर्षको चार महिनाको तुलनामा ३७ दशमलव ७ प्रतिशतले कम हो ।
भारतीय चिया उत्पादक किसानहरूले नेपाली चियालाई भारत आयातमा रोक लगाउनुपर्ने माग गर्दै पश्चिम बंगाल सरकारसँग आग्रह गर्दै आएका छन् । नेपाली चियाको गुणस्तरसँग भारतीय उत्पादनले प्रतिस्पर्धा गर्न नसक्नु नै यसको मुख्य कारण हो ।
तिनै किसानको उक्साहटमा भारतीय व्यापारीहरू नेपाली चियाको नकारात्मक प्रचार गर्न उद्धत रहेको नेपाली चिया उत्पादकहरूको दाबी छ ।
यसै क्रममा पश्चिम बंगालको कोलकाता अदालतमा हालै पेश गरिएका ४३ वटा नेपाली चियाका नमुनामध्ये २२ वटा नमुना ल्याब परीक्षणमा असफल भएको भन्दै नकारात्मक प्रचार गरेर नेपाली चियाप्रति भारतीय उपभोक्ताको आकर्षण कम गर्ने प्रयत्न गरिएको नेपाली चिया उत्पादकहरूको दाबी छ ।
उनीहरूका अनुसार नेपालबाट लोड गरेर गएको चियालाई नेपाली भन्सार पार गरेपछि भारतीय भन्सारमा रोकेर चियाको गुणस्तर परीक्षणको प्रमाणपत्र नआएसम्म अगाडि लैजान दिइँदैन ।
नेपालको चिया अधिकांश भारतीय व्यापारीहरूले नै किनेर लैजाने र गोदाममा राख्ने गर्छन् ।
त्यसपछि उनीहरूले गोदाममा राखिएको चियाको नमुना परीक्षण गर्दा फेल भए नेपाली चियाको नाम लिएर गलत प्रचार गर्ने गरेको नेपाली पक्षको दाबी छ ।
नेपाली उत्पादनको ल्याब परीक्षण फेल हुँदा सीमा नाकाबाटै भारत प्रवेश गर्न दिइँदैन ।
‘नेपाली चियाको ल्याब परीक्षण फेल भयो भन्नु भारतीय व्यापारीको बैमानी मात्र हो,’ एक व्यवसायीले भने ।
भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले कोलकाता अदालतमा पेश गरेको नेपाली चियाका ४३ नमुनामध्ये २२ वटा नमुना फेल भएको तथ्यांक प्रस्तुत गर्दै भारतीय बजारमा चलाइएको हल्लाले खासै प्रभाव नपार्ने यहाँका चिया उत्पादकहरूको भनाइ छ ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ता यसले खास असर नपर्ने दाबी गर्छन् ।
‘यसले नेपाली चियालाई खासै असर गर्दैन । नेपाली चियाको स्वाद भारतीयहरूको जिब्रोमा गढिसकेको छ,’ उनले भने, ‘भारतीय व्यापारी र किसानले जति नै बिरोध वा प्रपञ्च गरे पनि नेपाली चियाको गुणस्तर अब्बल नै छ ।’
दार्जिलिङका व्यवसायीहरू सधैं नेपाली चियाका बिरोधी रहने गरेका छन् । उनीहरू नेपालको चिया सस्तोमा किनेर महँगोमा बिक्री गर्ने समूहका भएका उनको भनाइ छ ।
‘भारतीय चियाको गुणस्तर परीक्षण फेल हुँदा उनीहरूले नेपाली चियाको नाम लिएर दोहोरो फाइदा लिँदै आएका छन्,’ उनले भने ।
नेपाली चिया गुणस्तरमा दार्जिलिङकै चियासँग टक्करमा रहेकाले दार्जिलिङका चिया व्यवसायी र केही राजनीतिक व्यक्तिहरूले नेपाली चियामाथि विभिन्न आरोप लगाउँदै आएको नेपाली चिया उत्पादकहरूको दाबी छ ।
नेपाली चिया मेची भन्सार पार गरेर भारतीय पानीटंकी भन्सार पुगेपछि नमुना लिएर ल्याब परीक्षण गरिन्छ । एक पटक नमुना पास भएपछि सो लटमा २० वटा ट्रकसम्म भारतको पश्चिम बंगाल प्रवेश गर्न पाउँछन् ।
ल्याब परीक्षण फेल हुँदा त्यो चियाले भारत प्रवेश नै पाउँदैन ।
नेपाली चिया उत्पादक किसानका अनुसार भारतीय चिया उत्पादकको गोदाममा विभिन्न स्थानको चिया मिसाएर राखिएको हुन्छ।
‘त्यही गोदामबाट संकलन गरिएका नमुनाको ल्याब परीक्षण गर्दा असफल हुने र त्यसैलाई नेपाली चिया भन्ने भारतीय पक्षको पुरानै रोग हो,’ चिया उत्पादक संघका महासचिव शुक्र दाहाल भन्छन्, ‘अदालतको नाममा नेपाली चियाको नकारात्मक प्रचार गरेर दार्जिलिङका चिया किसान र व्यापारी रमाएका होलान् । नेपाली चिया परीक्षण उत्तीर्ण भएपछि मात्र भारत प्रवेश गर्ने गर्छ । त्यसरी छिरेको चिया भारतीय व्यापारीको गोदाममा पुगेपछि त्यसको जिम्मेवारी उनीहरूको हुन्छ ।’
ल्याब परीक्षणमा नेपाली चियाको नतिजा फेल हुँदा त्यहाँका व्यापारीले नेपाली पक्षलाई जानकारी दिने गर्छन् । अर्को पटक चिया किन्दा उनीहरूले मूल्यमा समेत बार्गेनिङ गर्छन् । तर अहिलेसम्म त्यस्तो कुनै गुनासो उनीहरूबाट नआएको उनको भनाइ छ।
‘गोदाममा अन्तैको चिया मिसाएर ल्याब परीक्षणमार्फत नेपाली चियालाई बदनाम गर्ने प्रयास मात्र गरिएको हो । नेपाली चियालाई उच्च जोखिम क्याटेगोरीबाट हटाएर सामान्य श्रेणीमा राखिएपछि परीक्षण प्रक्रिया केही खुकुलो बनाइएको छ,’ उनले भने, ‘एउटा नमुना पास भएपछि सो लटमा २० वटा ट्रक भारत प्रवेश पाउने व्यवस्था भारतीय टी बोर्डबाट नै गरिएको हो । ६ महिनापछि पुनः नमुना परीक्षण गराउनुपर्ने हुन्छ ।’
पहिले प्रत्येक ट्रकको नमुना अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान थियो । तर चिया उमालेर सेवन गरिने भएकाले यसलाई उच्च जोखिमको खाद्य पदार्थ नभनी सामान्य श्रेणीमा राखिएको चिया उत्पादक किसानहरूको भनाइ छ ।
मेची भन्सार कार्यालय काकडभिट्टाका अनुसार अहिलेसम्म नेपाली चिया नरोकिने जानकारी दिइएको छ । नेपाली चियाको निकासीमा कुनै अवरोध नभएको भन्सारको भनाइ छ ।
मेची भन्सार कार्यालय काकरभिट्टाका अनुसार आर्थिक वर्ष २०८०/२०८१ मा ३ अर्ब १६ करोड ९५ लाख २७ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ३४ लाख ६६ हजार किलो चिया निकासी भएको थियो ।
आर्थिक वर्ष २०८१/२०८२ मा ४ अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँ मूल्य बराबरको १ करोड ५४ लाख १६ हजार ७५७ किलो चिया निकासी भएको छ ।
तुलनात्मक रूपमा अघिल्लो वर्षको तुलनामा आव २०८१/२०८२ मा चियाको निकासी ३२ दशमलव ५ प्रतिशतले बढेको थियो ।
नेपालमा २७ हजार ५ सय हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ ।








प्रतिक्रिया