क्लिक टक

सुरूवाती जितपछिको ‘पाठ’ले फाइनल पुर्‍यायो, ट्रफी उचालेर ‘स्याबास् लुम्बिनी’ भन्न पाउँ

357
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको भव्य समापन शनिबार हुँदैछ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि भिडन्तका लागि फाइनलमा स्थान पक्का गरेको छ ।

एनपीएलको चौथो महँगो टिमको रूपमा रहेको लुम्बिनी लायन्समा फर्च्युन हेल्थ केयरको मुख्य स्वामित्व छ भने यसमा नेपालको निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरूको सहभागिता छ । तत्कालको नाफा-नोक्सानभन्दा माथि उठेर ‘स्पोर्ट्स टुरिजम’ र नेपाली क्रिकेटको विकासलाई मुख्य ध्येय बनाएको बताउने यस टिमको संरक्षक हुन्, नेपाल उद्योग वाणिज्य महासंघको पूर्वअध्यक्ष भवानी राणा ।

सुरुवाती नतिजाहरूबाट निराश नभई कसरी टिमले फाइनलसम्मको ‘टर्न अराउन्ड’ यात्रा तय गर्यो ? खेलकुदमा निजी क्षेत्रको लगानीको भविष्य के छ ? र फाइनल खेलका लागि टिमको तयारी कस्तो छ ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर लुम्बिनी लायन्सकी संरक्षक भवानी राणासँग क्लिकमान्डुका रोविन पौडेलले गरेको कुराकानी:

लुम्बिनी लायन्स फाइनलमा प्रवेश गर्दा यहाँलाई कस्तो महसुस भइरहेको छ ?

म अत्यन्तै गौरवान्वित र हर्षित महसुस गरिरहेकी छु ।

तपाईंको पहलमा अगाडि बढेको क्लबले यो उपलब्धि हासिल गर्दा यसको श्रेय कसलाई दिन चाहनुहुन्छ ?

यो उपलब्धिको श्रेय सबैभन्दा पहिले खेलाडीहरूलाई जान्छ । साथै, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीलगायत सम्पूर्ण टिमको मिहिनेतलाई पनि म श्रेय दिन चाहन्छु । खेलाडीहरूको जोस र समर्पण कै कारण हामी यो स्थानसम्म आइपुगेका हौं । सुरुमा एउटा खेल जित्यौं, बीचमा पराजित भयौं तर त्यो अवस्थाबाट माथि उठेर सेमिफाइनल हुँदै फाइनलसम्म पुग्नुको मुख्य हकदार खेलाडीहरू नै हुनुहुन्छ ।

विगतमा निजी क्षेत्रले खेलकुद विकासमा सहयोग गरेन भन्ने आरोप लाग्ने गरेको थियो । अहिले तपाईंहरूको संलग्नतासँगै एनपीएलले नयाँ उचाइ लिएको छ । खेलकुदमा लगानी गर्ने वा केही गर्ने भावना कसरी विकास भयो ?

खेलकुद पनि एक प्रकारको उद्योग नै हो । यसलाई ‘स्पोर्ट्स टुरिजम’ तिर लैजानुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा पहिलेदेखि नै थियो । म उद्योग वाणिज्य महासंघको अध्यक्ष हुँदा पनि हामीले प्रशासनसँग मैत्रीपूर्ण फुटबल खेल्ने तथा खेलकुद परिषद्सँग मिलेर कबड्डी लगायत विभिन्न खेललाई प्रोत्साहन गर्ने काम गरेका थियौं । छिमेकी मुलुक भारतमा हेर्ने हो भने उनीहरूले खेलकुदलाई अर्थतन्त्र र पर्यटन विकाससँग जोडेका छन् । हाम्रो देशमा पनि त्यस्तै गर्नुपर्छ भन्ने सोच थियो ।

अहिले धेरै उद्योगी व्यवसायीहरूले यसमा चासो देखाउनुभएको छ । एनपीएल सुरु हुनु एउटा उत्सव जस्तै भएको छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ । क्रिकेटलाई यहाँसम्म ल्याउन क्रिकेट संघ नेपाल (क्यान)का सचिव पारस खड्का र उहाँको टिमको ठूलो भूमिका छ । खेलकुद एउटा महत्त्वपूर्ण क्षेत्र हो, विश्वकपमा समेत नेपालको सहभागिता भइसकेको सन्दर्भमा सरकारले पनि क्रिकेटलाई उच्च प्राथमिकता दिनुपर्छ भन्ने मेरो धारणा छ ।

लुम्बिनी लायन्समा तपाईंको आबद्धता कसरी भयो ? सुरुवाती दिनहरूको अनुभव र पृष्ठभूमिबारे बताइदिनुस् न !

यसको श्रेय ईश्वर जीसीलाई जान्छ । उहाँले नै एनपीएल हुँदैछ, मिलेर टिम बनाऔं भन्ने प्रस्ताव ल्याउनुभएको थियो । कसरी अगाडि बढ्ने भन्नेमा उहाँले धेरै मिहिनेत गर्नुभयो । सुरुमा त ‘यो गर्नैपर्छ’ भन्ने जोस आयो । तर, प्रक्रियागत रूपमा ‘बिड’ (बोलकबोल) गर्नुपर्ने, कागजातहरू तयार पार्नुपर्ने र पारदर्शी हुनुपर्ने भएकाले अलिकति डर पनि थियो । हामीले टिम पाउँछौं कि पाउँदैनौं भन्ने दुविधा पनि थियो । तर, सबैको सकारात्मक सोच र सामूहिक भावनाले गर्दा अलि महँगो नै परे पनि हामीले लुम्बिनी लायन्सको स्वामित्व प्राप्त गर्न सक्यौं । यो हाम्रो लागि ठूलो उपलब्धि थियो ।

क्यानसँग करिब ३ करोड रुपैयाँमा फ्रेन्चाइज लिनुभयो । यसमा अन्य साझेदार कोको हुनुहुन्छ र अहिलेसम्म कति लगानी भइसक्यो ?

म यसमा संरक्षक (पेट्रोन)को भूमिकामा छु भने ईश्वर जीसी अध्यक्ष हुनुहुन्छ । हामीसँगै तुँदी कन्स्ट्रक्सन र बाबुकाजी जी पनि जोडिनुभएको छ । टिममा युवाहरूको जोस छ । व्यवस्थापनमा मेरो छोरा देवांश राणा र करण बस्नेत र शिभांक थापा हुनुहुन्छ । यो एकदमै ऊर्जावान् युवाहरूको टिम हो ।

लगानीको कुरा गर्दा, अहिलेसम्म प्रायोजनबाट उठेको रकमभन्दा हाम्रो लगानी नै बढी छ । विदेशी खेलाडीहरू ल्याउनुपर्ने भएकाले खर्च धेरै छ । सबैले एनपीएल र प्रायोजनको अवस्था देखेर प्रशंसा गरिरहेका छन्, जुन हाम्रा लागि निकै सकारात्मक र खुसीको कुरा हो । भविष्यमा यसले अझ राम्रो व्यावसायिक रूप लिनेमा म आशावादी छु ।

यो लगानी कस्तो प्रकृतिको हो ? यसलाई प्रतिफलमुखी मान्नुहुन्छ कि आत्मसन्तुष्टिका लागि गरिएको लगानी ?

व्यावसायिक क्षेत्रमा लागेका व्यक्तिहरूले लगानी गरेपछि त्यसबाट प्रतिफलको अपेक्षा गर्नु स्वाभाविक हो । यद्यपि, अहिले हामी तत्कालको नाफा-नोक्सानभन्दा पनि खेलकुदको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउने प्रयासमा छौं । भविष्यमा यसले प्रतिफल देला, लगानीमा केही ‘प्लस’ होला भन्ने धारणा त छँदैछ, तर अहिलेको लगानी भित्री इच्छा र चाहनाले अभिप्रेरित छ । अहिले सबै प्रवर्द्धकहरूले लगानी मात्र गरिरहनुभएको छ । हामी रिटर्न भन्दा पनि यो क्षेत्रलाई कसरी विस्तार र व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामै केन्द्रित छौं ।

तपाईं आफ्नै चाहीँ व्यक्तिगत रुचि कुन-कुन खेलमा छ ? क्रिकेटप्रति कत्तिको लगाव छ ?

पहिले नेपालमा क्रिकेटको खासै चर्चा थिएन, फुटबल नै प्रमुख थियो । मेरो व्यक्तिगत रुचि भने बास्केटबल र ब्याडमिन्टनमा थियो । सेन्ट मेरिज स्कुलमा पढ्दा हाम्रो लागि ‘गेम टाइम’ अनिवार्य हुन्थ्यो । स्कुल र कलेज जीवनमा मैले हकी, बास्केटबल र ब्याडमिन्टन प्रशस्त खेलें । मलाई खेलकुदमा सधैं रुचि रह्यो ।

मैले क्रिकेट नखेले पनि छिमेकी मुलुक भारतमा पढेको हुनाले त्यहाँको क्रिकेट क्रेज देखेर यसप्रति रुचि जागेको हो । आईपीएल हेर्दा नेपालमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले नेपालमा एनपीएल सुरु हुँदा मलाई एकदमै खुसी लागेको छ । यो प्रतियोगिता एउटा उत्सवका रूपमा स्थापित भएको महसुस गरेको छु ।

नेपाली तथा विदेशी खेलाडीहरूसँगको भेटमा उहाँहरूले कस्तो प्रतिक्रिया दिनुहुन्छ ? एनपीएलले कस्तो प्रभाव पारेको पाउनुहुन्छ ?

अहिले धेरै विदेशी खेलाडीहरू नेपाल आउनुभएको छ । लुम्बिनी लायन्समा मात्रै अस्ट्रेलिया, बेलायत लगायत देशबाट ६ जना विदेशी खेलाडी हुनुहुन्छ । नेपाली खेलाडीका लागि यो एउटा अवसर हो । कतिपयलाई विदेशी खेलाडीलाई नेपालबारे थाहा नहुन सक्छ, तर क्रिकेटको माध्यमबाट उहाँहरूले नेपाललाई चिन्नुभएको छ, जसले देशको नाम विश्वमा पुर्‍याएको छ ।

अर्कोतर्फ, हाम्रा घरेलु खेलाडीहरूको मनोबल पनि निकै उच्च भएको छ । उहाँहरूले पाउने सम्मान र राष्ट्रिय-अन्तर्राष्ट्रिय मञ्चमा देखाएको उपस्थितिले उहाँहरू खुसी हुनुहुन्छ । सरकार र निजी क्षेत्रको सहयोगले खेलाडीहरूको आत्मविश्वास बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

एनपीएलले छोटो समयमै (१० महिनामा फ्लड लाइट, स्टेडियम निर्माण) ठूलो फड्को मारेको देखियो । यसबाट राज्यका अन्य निकायले पनि विकास निर्माणका काममा पाठ सिक्नुपर्ने होइन र ?

पक्कै पनि, इच्छाशक्ति भयो भने जे पनि सम्भव छ भन्ने कुरा एनपीएलले प्रमाणित गरेको छ । त्रिवि मैदानमा गएर हेर्दा त्यहाँको वातावरण र व्यवस्थापन देख्दा मनै खुसी हुन्छ । यस्तै इच्छाशक्ति राख्ने हो भने अन्य खेल वा विकासका पूर्वाधार निर्माणमा पनि असम्भव भन्ने केही छैन । एनपीएलले समग्र विकास निर्माणका लागि एउटा उत्कृष्ट उदाहरण पेश गरेको छ ।

यसमा नेपाल क्रिकेट संघ (क्यान) र सचिव पारस खड्काको भूमिकालाई कसरी लिनुहुन्छ ?

एनपीएललाई यो स्तरसम्म ल्याउन पारस खड्काको मिहिनेत अतुलनीय छ । उहाँको योजना, अन्तर्राष्ट्रिय सम्बन्ध र समर्पण बिना यो सम्भव थिएन होला जस्तो लाग्छ । उहाँको र क्यानको टिमको अथक प्रयासले नै एनपीएल आज यो उचाइमा आइपुगेको हो ।

एनपीएलले नेपाललाई विश्वसामु चिनाउन, विशेषगरी खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न कत्तिको सफलता पाएको छ ?

पक्कै पनि, एनपीएलले नेपाललाई विश्वसामु चिनाउन ठूलो सहयोग गरेको छ । यहाँ आएका अन्तर्राष्ट्रिय खेलाडीहरूले नेपाल र नेपालीहरूसँगको अन्तरक्रियामार्फत नेपालको सकारात्मक छवि बुझ्न पाएका छन् । ‘नेपाल यति राम्रो देश रहेछ’ भन्ने सन्देश उहाँहरूमार्फत जाँदा यसले विश्वमञ्चमा नेपालको पहिचान विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

टेलिभिजनमा कमेन्टेटरहरूले खेलको दौरान नेपालको प्राकृतिक सौन्दर्यको पनि चर्चा गर्छन् । यसले नेपालको प्रचारप्रसारमा कस्तो प्रभाव पारेको छ ?

कुनै पनि खेलमा कमेन्टेटरहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । उहाँहरूले खेलको दौरान नेपालको खेलकुदसँगै यहाँको संस्कृति, पर्यटन र अन्य सम्भावनाहरूलाई जोडेर चर्चा गरिरहनुभएको छ । यसले नेपालको खेलकुद मात्र नभई यहाँको पर्यटकीय र सांस्कृतिक पक्षलाई समेत विश्वसामु उजागर गर्न मद्दत गरेको छ ।

एनपीएलको अर्थतन्त्रको आकार कति होला भन्ने अनुमान गर्नुहुन्छ ?

अहिले नै यति नै भनेर यकिन गर्न सकिँदैन, तर यसको आकार ठूलो छ । अहिले एनपीएलमा सबै टिमहरूले लगानी मात्र गरिरहेका छन् । भारतजस्तो विशाल बजार नभएता पनि प्रायोजकहरूको सहभागिता विस्तारै बढ्दै छ । तर पहिलो वर्षको तुलनामा दोस्रो वर्ष यसको महत्त्व र चाहना बढेको देखिन्छ । आगामी दिनमा यसको आर्थिक प्रभाव र महत्त्व अझ बढ्दै जानेछ ।

नेपाल स्पोर्ट्स टुरिजमको हब वा अन्तर्राष्ट्रिय खेलहरूको न्युट्रल भेन्युबन्न सक्छ ?

विश्वव्यापी दृष्टिकोणले हेर्दा नेपाल स्पोर्ट्स टुरिजमको लागि एकदमै सम्भावना बोकेको गन्तव्य हो । विशेषगरी काठमाडौँको मौसम खेलकुदका लागि निकै अनुकूल छ । यसका साथै हाम्रो संस्कृति र अतिथि सत्कारको भावना पनि अद्वितीय छ । यसमा सरकारको सहयोग पनि प्राप्त भइरहेको छ । तसर्थ, क्रिकेट र एनपीएल मात्र नभई अन्य खेलहरूको माध्यमबाट पनि नेपालले अर्थतन्त्र, पर्यटन र सांस्कृतिक विकासमा ठूलो फड्को मार्न सक्छ ।

भारत र पाकिस्तान जस्ता छिमेकी देशहरूले न्युट्रल भेन्युखोजिरहेको सन्दर्भमा, नेपालमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा पनि लगानी गरेर त्यो अवसर लिन सक्ने सम्भावना देख्नुहुन्छ ?

अहिले हामी निजी क्षेत्रका व्यवसायीहरूले लिगमा लगानी गरिरहेका छौं, यो नै ठूलो कुरा हो । पूर्वाधार निर्माणको पाटोमा भने सरकारले विशेष ध्यान दिनुपर्छ । सामान्यतया पूर्वाधार सरकारले बनाउने र निजी क्षेत्रले लगानी गर्ने अभ्यास हुन्छ । यद्यपि, सार्वजनिक-निजी साझेदारीमा गएर पनि हामीले पूर्वाधार विकास गर्न सक्छौं । भविष्यमा यस दिशामा काम हुन सक्ने सम्भावना छ ।

लुम्बिनी लायन्स फाइनलमा पुगेको छ । फाइनलमा कस्तो प्रदर्शनको अपेक्षा गर्नुभएको छ ?

मलाई पूर्ण विश्वास छ कि हामीले यो पटक ट्रफी जित्नेछौं । लुम्बिनी लायन्सको टिमले निकै मिहिनेत गरेको छ । हाम्रो बलिङ, फिल्डिङ र ब्याटिङ सबै पक्ष सन्तुलित र उत्कृष्ट छ । टोलीभित्र बलियो सामूहिक भावना छ र जितको आधार नै सामूहिक प्रयास हो । त्यसैले लुम्बिनी लायन्सले यस पटकको उपाधि जित्नेछ भन्नेमा म विश्वस्त छु ।

लुम्बिनी लायन्सले प्रतियोगितामा कसरी नाटकीय पुनरागमन गर्न सक्यो ? सुरुमा जित, त्यसपछि हार र अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्राबारे बताइदिनुस् न !

गत वर्ष पनि लुम्बिनी लायन्सले राम्रो प्रदर्शन गरेको थियो, तर खेलमा कहिलेकाहीँ भाग्यले पनि साथ दिनुपर्छ । यस पटक टोलीले निकै मिहिनेत गरेको छ । पहिलो खेल जिते पनि त्यसपछि केही खेलमा हामी पराजित भयौं । तर, टोलीभित्रको सामूहिक भावना र व्यवस्थापन पक्ष (अध्यक्ष तथा प्रवर्द्धकहरू) ले खेलाडीहरूको मनोबल उच्च बनाउन खेलेको भूमिकाले नतिजा फेरियो ।

यसको मुख्य श्रेय भने खेलाडीहरूलाई नै जान्छ । विशेषगरी हाम्रो कप्तान रोहित पौडेल (जो राष्ट्रिय टोलीको पनि कप्तान हुनुहुन्छ) को भूमिका महत्त्वपूर्ण रह्यो । उहाँ ब्याटिङ मात्र नभई बलिङ र फिल्डिङमा समेत अब्बल ‘अलराउन्डर’ हुनुहुन्छ । उहाँले एक कुशल नेतृत्वकर्ताको रूपमा टिमलाई एकीकृत गरेर अगाडि बढाउनुभयो । त्यसैले यो सफलताको हकदार कप्तान र सम्पूर्ण टिम नै हो ।

भोलि फाइनल खेल हुँदैछ । यदि लुम्बिनी लायन्सले एनपीएल सिजन-२ को उपाधि जित्यो भने खेलाडीहरूको हौसला बढाउन केही विशेष घोषणा गर्ने योजना छ ?

यस विषयमा हामी व्यवस्थापन टिमभित्र सल्लाह गर्दैछौं । उपाधि जितेको खण्डमा खेलाडीहरूको हौसला बढाउन पक्कै पनि केही न केही घोषणा हुनेछ ।

यहाँलाई धेरै बधाई तथा शुभकामना छ, लुम्बिनी लायन्सले फाइनल जितोस् । अन्त्यमा, लुम्बिनी लायन्सको चर्चित स्याबासवाला गीत वा नारामार्फत् आह्वान गरिदिनोस् न !

जित्ने बित्तिकै गुन्जिने ‘स्याबास लुम्बिनी लायन्स’ भन्ने नारा हाम्रो टिमको एउटा सुन्दर र सकारात्मक पक्ष हो । यो शब्द सुन्न पाउँदा एकदमै खुसी लाग्छ । अहिलेसम्म यो सुन्न पाइरहेका छौं र आशा छ, भोलि फाइनलमा पनि मैदानमा ‘स्याबास’ नै गुन्जिनेछ ।