सन्तान जन्माउन प्रोत्साहनका लागि चीनले कन्डममा भ्याट लगाउने

231
Shares

एजेन्सी । चीन सरकारले घट्दो जन्मदरको समस्या समाधान गर्न एउटा नयाँ उपायको परीक्षण गरिरहेको छ ।

जनवरी १ देखि उपभोक्ताहरूले कन्डम लगायतका गर्भनिरोधक औषधि र उत्पादनहरूमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ ।

यो चीनको हालै संशोधित भ्याट कानूनको एक हिस्सा हो । सन् १९९३ देखि यी उत्पादनहरूलाई कर छुट दिइएको थियो । त्यो चीनको ‘एक सन्तान नीति’ को हिस्सा थियो । त्यसले सन् १९८० देखि २०१५ सम्म एकभन्दा बढी सन्तान जन्माउने परिवारलाई भारी जरिवाना तिराउँथ्यो ।

पछिल्ला वर्षहरूमा देशको जन्मदर घट्दै गएपछि सरकारले विभिन्न प्रोत्साहन र अनुदानहरू मार्फत जन्मदर बढाउने प्रयास गरिरहेको छ ।

आधिकारिक रूपमा यस कदमलाई व्यापक कर प्रणाली सुधारभित्रको प्राविधिक समायोजन भनिएको छ । यसको मुख्य ध्यान जनसांख्यिकीय लक्ष्यभन्दा पनि प्रशासनिक एकरूपतामा केन्द्रित रहेको बताइएको छ ।

सन् १९७० को दशकमा तीव्र जनसंख्या वृद्धिले स्रोतसाधनमा दबाब पार्ने र आर्थिक विकासमा बाधा पुर्याउने डरबाट चीन अहिले घट्दो जन्मदरलाई उल्ट्याउन चाहने अवस्थामा आइपुगेको छ । कतिपय विज्ञहरूका अनुसार, सरकारका नीतिहरूले यस परिवर्तनलाई प्रतिबिम्बित गर्नु स्वाभाविक हो ।

एक सन्तान नीतिअन्तर्गत अतिरिक्त सन्तान जन्माउने परिवारहरूले भारी जरिवाना र कहिलेकाहीँ जबरजस्ती गर्भपात वा बन्ध्याकरणको सामना गर्नुपर्थ्यो । योजना बाहिर जन्मेका बच्चाहरूलाई प्रायः जन्मदर्ता गर्न दिइँदैनथ्यो जसले गर्दा दर्ता नभएका नागरिकहरूको एउटा पुस्ता सिर्जना भयो जो स्वास्थ्य सेवा पाउन, सरकारी विद्यालयमा भर्ना हुन वा स्वतन्त्र रूपमा यात्रा गर्न असमर्थ थिए ।

सरकारले सन् २०१५ मा जन्म सीमा दुई सन्तान र सन् २०२१ मा तीन सन्तानमा पुर्यायो । सन् २०२३ मा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश बन्यो । राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार चीनमा जन्मने शिशुहरूको संख्या सन् २०१९ को ६० वर्षयताकै न्यून १ करोड ४७ लाखबाट घटेर सन् २०२४ मा ९५ लाखमा झरेको छ ।

चीनको जनसंख्या घटे पनि गर्भनिरोधक साधनहरू धेरै हदसम्म किफायती र प्रोत्साहित गरिँदै आएका थिए । कन्डमहरू जम्मा आधा युआनमा बिक्री हुन्थे र केही जनस्वास्थ्य कार्यक्रमहरूमार्फत निःशुल्क समेत उपलब्ध थिए ।

अहिले सामाजिक सञ्जालमा यस करको आलोचना भइरहेको छ । यसले बच्चा जन्माउन सक्ने आर्थिक हैसियत नराख्ने साधारण मानिसहरूलाई सजाय दिने आलोचकहरू बताउँछन् ।

सरकारले जन्मदर बढाउने नीतिहरूको हिस्साको रूपमा सम्भावित अभिभावकहरूका लागि नगद बोनस र लामो सुत्केरी बिदा सहितका प्रोत्साहनहरू ल्याएको छ । यसले जनवरीदेखि बाल हेरचाह, ज्येष्ठ नागरिक हेरचाह, अपांगता र विवाह सम्बन्धी सेवाहरूमा कर छुटको व्यवस्था पनि गर्दैछ ।

तर, घरायसी आम्दानीको तुलनामा बच्चाहरू हुर्काउन चीन विश्वकै महँगो देशहरूमा पर्छ । बेइजिङस्थित युवा पपुलेसन रिसर्च इन्स्टिच्युट को सन् २०२४ को प्रतिवेदन अनुसार, १८ वर्षको उमेरसम्म बच्चा हुर्काउने लागत ५ लाख ३८ हजार युआनभन्दा बढी छ ।

चीनमा अर्थतन्त्र सुस्त भइरहेको छ । घट्दो महँगी र घरजग्गाको मूल्यमा गिरावटसँगै देशको जीवनयापन लागत कम हुँदैछ ।

तर, धेरै युवाहरूले रोजगारी पाउन संघर्ष गरिरहेका छन् वा कम तलब स्वीकार गर्न बाध्य छन् । व्यवसायहरू बन्द भएका छन् ।
साथै, एकल–व्यक्ति घरपरिवारको संख्या उल्लेख्य रूपमा बढेको छ । शाङ्हाई र शनचन जस्ता घना शहरहरूमा बस्ने युवा व्यावसायिकहरू एक्लै समय बिताउन थालेका छन् ।

चीनमा करिब २४ करोड एकल वयस्क र १२.५ करोड एकल–व्यक्ति घरपरिवारहरू छन् । यो कुल संख्याको झण्डै एक चौथाइ हो ।

मूल्यवृद्धिले यौनजन्य रोगहरू बढ्न सक्ने र परिवार नियोजन कमजोर हुन सक्ने एवं यसले न्यून आय भएका व्यक्ति र परिवारहरूलाई असमान रूपमा असर गर्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनका अनुसार, गत वर्ष चीनमा ६ लाख ७० हजारभन्दा बढी सिफिलिस र १ लाखभन्दा बढी गोनोरियाका बिरामीहरू थिए । एड्स र एचआईभी संक्रमणका साथ बाँचिरहेका बिरामीहरूको संख्या गत वर्ष १४ लाख पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा ६५ हजारले बढी हो ।

यस वर्ष प्रकाशित एक अध्ययन अनुसार, विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहमा यौनजन्य रोगहरूको घटना वर्षौंदेखि बढ्दै गएको छ ।