
एजेन्सी । हिन्दूहरूको महान् चाड दीपावलीलाई बुधबार युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिएको घोषणा भएको छ ।
मंगलबारदेखि बिहीबारसम्म भारतीय राजधानी नयाँ दिल्लीमा बैठक बसिरहेको संयुक्त राष्ट्रसंघीय सांस्कृतिक निकायले ७८ देशका दर्जनौं मनोनयनहरूमाथि छलफल गरिरहेको छ ।
यी नयाँ घोषणाहरू युनेस्कोको सांस्कृतिक सम्पदा सूचीमा सामेल हुनेछन् । यी परम्पराहरूको विविधताबारे सचेतना जगाउनु र भविष्यमा तिनको संरक्षण गर्नु यिनको उद्देश्य हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो चाड हाम्रो संस्कृति र जीवनपद्धतिसँग निकै नजिकबाट जोडिएको भन्दै यस घोषणाको स्वागत गरेका छन् ।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै उनले भने, ‘यो हाम्रो सभ्यताको आत्मा हो । यसले प्रकाश र सदाचारको प्रतिनिधित्व गर्छ ।’
साथै, उनले यस कदमबाट दीपावली पर्वको विश्वव्यापी लोकप्रियतालाई अझ बढाउन योगदान पुग्ने बताए ।
दिल्ली सरकारले भवनहरूमा विशेष झिलिमिली बत्ती र मुख्य सडकहरूमा सजावट गर्नुका साथै भव्य दीप प्रज्वलन समारोहसहित विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ ।
हिन्दू धर्मको सबैभन्दा महत्त्वपूर्ण चाडमध्ये एकका रूपमा लाखौं नेपाली र भारतीयहरूले विश्वभरि दीपावली मनाउने गर्छन् ।
सिख र जैन धार्मिक समुदायका व्यक्तिहरू सहित धेरैले यसलाई असत्यमाथि सत्यको विजयको प्रतीक मान्दै पाँच दिने पर्वको रूपमा मनाउँछन् ।
कार्तिक कृष्ण औंसीको दिनमा मनाइने यस उत्सवमा प्रायः दियो बाल्ने र पटका पड्काउने गरिन्छ ।
उत्तर भारतको अधिकांश भागमा दीपावलीले रावणलाई पराजित गरी भगवान् राम अयोध्या फर्केको दिनलाई संकेत गर्छ ।
यो पर्व धन र समृद्धिकी देवी लक्ष्मीको पूजासँग पनि विशेष रूपमा जोडिएको छ ।
भारतको विदेश मन्त्रालयले युनेस्कोको सूचीमा दिवाली समावेश हुनु देशका लागि खुशीको क्षण भएको बताएको छ ।







प्रतिक्रिया