भारतमा इन्डिगो एयरलाइन्सको व्यवस्थापन नमिल्दा आन्तरिक उडानमा समस्या, कसरी आयो यो स्थिति ?

119
Shares

एजेन्सी । गत साता मञ्जुरीले आफ्ना पतिको शवपेटिका भारतको उत्तरपूर्वी क्षेत्रको एउटा शहरबाट अर्को शहरसम्म लगिन् ।
त्यहाँबाट उनले सयौं माइल टाढा रहेको कोलकाता शहरसम्मको उडान भेटाउने आशा गरेकी थिइन् । कोलकातामा पतिको अन्तिम संस्कार गर्ने योजना थियो ।

तर, भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगोको ढिलासुस्तीले गर्दा उनका लागि यो कठिन यात्रा असह्य बन्यो । अन्ततः उडान नै रद्द हुनुअघि उनले घण्टौंसम्म अलपत्र पर्नुपर्यो ।

मञ्जुरी ती लाखौं यात्रुमध्ये एक थिइन् जसको योजना इन्डिगोले अचानक उडानहरू रद्द गर्ने लहर चलाएपछि उथलपुथल पारिदियो । यसले भारतको उड्डयन क्षेत्रलाई वर्षौंपछिकै सबैभन्दा खराब संकटमा धकेलिदिएको छ ।

सुरुमा फाट्टफुट्ट देखिएको उडान ढिलाइ एक्कासि ५ डिसेम्बरमा १ हजारभन्दा बढी उडान रद्द हुने कार्यमा परिणत भयो । यसले धेरै परिवारलाई अलपत्र पारिदियो भने मानिसहरूको विवाह, अन्त्येष्टि र महत्त्वपूर्ण परीक्षाहरू समेत छुट्न पुगे ।

कुनै समय भारतको सस्तो (लो–कस्ट) उड्डयनको पर्याय मानिने इन्डिगोले अब देशको भरपर्दो र सुविधायुक्त वायुसेवाको रूपमा कमाएको प्रतिष्ठा गुमाउने जोखिम बढेको विज्ञहरू बताउँछन् । इन्डिगोको बजार हिस्सा ६० प्रतिशत छ र यसका विमानहरूले दैनिक २ हजार उडान भर्छन् ।

‘उडान रद्द भएका कारण गुम्ने राजस्व, प्रभावित ग्राहकलाई दिइने रिफन्ड तथा क्षतिपूर्ति र उड्डयन नियामकद्वारा लगाइन सक्ने सम्भावित जरिवानाका कारण इन्डिगोले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुनसक्छ,’ रेटिङ एजेन्सी मुडिजले भनेको छ ।

पाइलटको रोस्टर (ड्यूटी तालिका) सम्बन्धी नयाँ नियमहरू यो संकटको मुख्य कारण हुन् । त्यसले पाइलट र विमान कर्मचारी (क्याबिन क्रू) लाई बढी आराम दिन्छ । इन्डिगोमाथि यी परिवर्तनका लागि पूर्वयोजना बनाउन नसकेको आरोप छ । त्यसले गर्दा कानूनी रूपमा आराम पाएका कर्मचारीको अभाव भयो र कम्पनीले आफ्ना आधाभन्दा बढी विमान ग्राउन्डेड (उडाउन नमिल्ने अवस्थामा) गर्नुपर्यो ।

वर्षौंदेखि नियामक निकायमा थकानसम्बन्धी गुनासाहरू आएपछि बनाइएका यी नियमहरूमा पाइलटहरूका लागि लामो साप्ताहिक आराम (३६ घण्टाको सट्टा ४८ घण्टा) र रात्रिकालीन अवतरणमा कडाइ (६ को सट्टा २) समावेश छन् ।

भारतको उड्डयन निगरानी निकायले विश्वव्यापी मापदण्डअनुरूप हुनका लागि करिब दुई वर्षअघि नै नयाँ ड्युटी नियमहरू ल्याएको थियो जसलाई वायुसेवा कम्पनीहरूले यस वर्षको जुन र नोभेम्बर महिनामा गरी दुई चरणमा लागू गर्नुपर्ने थियो ।

एयर इन्डिया जस्ता अन्य प्रमुख वायुसेवाहरूले नियमहरू कार्यान्वयन गरेको बताए पनि इन्डिगोले समयमै पूर्ण रूपमा लागू गर्न सक्ने स्थितिमा नरहेको स्वीकार गरेको छ ।

उड्डयनविज्ञ मार्क मार्टिनले बीबीसीलाई भने, ‘के उनीहरूले नयाँ नियम अपनाउँदा सयौं नयाँ पाइलटहरू भर्ना गर्नुपर्ने र खर्च बढ्ने डरले यसो गरेका हुन् ?’

उनले प्रश्न गरे, ‘उनीहरूसँग नियम लागू गर्न धेरै महिनाको समय थियो । उनका सबै प्रतिस्पर्धीले नियम पालना गरिसकेका थिए । इन्डिगोले चाहिँ किन सकेन ?’

विभिन्न विज्ञप्तिहरूमार्फत एयरलाइनले उडान रद्द भएको घटनाका लागि माफी माग्दै खराब मौसमदेखि अहिले फिर्ता लिइएको पाइलट थकानसम्बन्धी नियमहरू लागू गर्ने क्रममा भएको गलत निर्णय र योजनाको अभाव जस्ता अप्रत्याशित सञ्चालन चुनौतीहरूलाई स्वीकार गरेको छ ।

तर, बीबीसीसँग कुरा गरेका कम्तीमा तीन इन्डिगो पाइलटहरूले यस संकटले एयरलाइनभित्रको गहिरो समस्यालाई दर्शाएको बताए । त्यहाँ पाइलटको थकानको मूल्यमा समेत खर्च कटौतीलाई प्राथमिकता दिइन्छ ।

नाम नबताउने शर्तमा एक दशकभन्दा बढी समयदेखि एयरलाइनमा कार्यरत एक पाइलटले भने, ‘केही उद्योगहरूमा ओभरटाइम काम गर्नु सामान्य हुन सक्छ तर उड्डयन सुरक्षा–केन्द्रित पेशा हो जहाँ थकान एक मौन हत्यारा हो । धेरै ढिलो नहुँदासम्म तपाईंलाई यसको असर थाहै हुँदैन ।’

खर्चमा केन्द्रित हुनुका साथै नयाँ अन्तर्राष्ट्रिय रुटहरू सुरु गर्ने लगायत इन्डिगोको आक्रामक विस्तारले पनि व्यवस्थापनको ध्यान झ्याउलाग्दो मानिने स–साना आरामसम्बन्धी नियमहरूतर्फ जानबाट विचलित गरेको हुन सक्ने बन्द भइसकेको एयर डेक्कनका संस्थापक जीआर गोपीनाथले इकोनोमिक टाइम्समा लेखेका छन् ।

उनले उड्डयन क्षेत्रमा एयरलाइनको निर्विवाद प्रभुत्वलाई पनि दोष दिए । भारतमा ६० प्रतिशत बजार हिस्सा रहेको यस कम्पनीले वार्षिक १० करोडभन्दा बढी यात्रुलाई सेवा दिन्छ ।

गोपीनाथले लेखे, ‘व्यावहारिक प्रयोजनका लागि यो एयरलाइन अब एकाधिकार जस्तै भएको छ । र एकाधिकारसँगै उदासीनता पनि आउँछ ।’

विगत १५ वर्षमा जेट एयरवेज र किङफिसरदेखि गो एयरसम्मका धेरै भारतीय एयरलाइन्स ऋण वा इन्धन र इन्जिनको चर्को लागतका कारण बन्द भए । प्रतिस्पर्धीहरू बाहिरिएपछि इन्डिगोले ती खाली ठाउँहरू छिट्टै ओगट्यो र साना शहर तथा सहायक रुटहरूमा विस्तार गर्यो जहाँ यसका नीलो र सेतो रङका विमानहरू हवाईयात्राको पर्याय बने ।

बदलिँदो बजार गतिशीलताले एयरलाइनलाई यस्तो स्तरको बजार हिस्सा सुदृढ गर्न अनुमति दियो जुन दशकौंदेखि कुनै पनि भारतीय एयरलाइनले ओगटेको थिएन ।

तर, स्थिर समयमा लागत दक्षता प्रदान गर्ने एयरलाइनको मितव्ययी सञ्चालनले नियमहरूको यो परिवर्तन खप्न आवश्यक लचकताको अभाव गरायो । त्यसले गर्दा प्रणालीगत रिबुटको आवश्यकता परेको र ५ डिसेम्बरमा करिब १६ सय उडानहरू रद्द भएको रेटिङ एजेन्सी मुडिजले जनायो ।

संकट गहिरिँदै जाँदा इन्डिगोले फेब्रुअरी महिनासम्मका लागि नयाँ नियमहरूबाट एकपटकका लागि छुट पाएको छ र १० देखि १५ डिसेम्बरको बीचमा सञ्चालन स्थिर हुने बताएको छ ।

तर, नियामकलाई लेखिएको कडा शब्दको पत्रमा एयरलाइन पाइलट्स एसोसिएसन अफ इन्डियाले यसबाट नयाँ नियमहरूको मर्मलाई नै कमजोर बनेको र हवाई यात्रुहरूको सुरक्षामा गम्भीर सम्झौता गरेको जनाएको छ ।

बीबीसीले इन्डिगोलाई आफ्ना पाइलटहरूका टिप्पणी र पाइलट्स एसोसिएसनको पत्रका दाबीहरूबारे प्रतिक्रिया माग्दा एयरलाइनले अस्वीकार गर्यो ।

विज्ञहरूले बीबीसीलाई बताएअनुसार, घट्दो समयपालनको चिन्ताका बीच इन्डिगोलाई आफ्नो आर्थिक अवस्था, सुरक्षा र प्रतिष्ठामा परेको दीर्घकालीन असरबाट पुनरागमन गर्न वर्षौं लाग्न सक्छ ।

अनलाइन सामुदायिक प्लेटफर्म लोकलसर्कल्सले हालै गरेको सर्वेक्षण अनुसार, विगत १२ महिनामा एयरलाइनमा यात्रा गरेका करिब ५४ प्रतिशत यात्रुले समयपालनामा समस्या भोग्नुपरेको बताएका छन् । मुडिजका अनुसार, नोभेम्बर महिनामा यसको अन–टाइम परफर्मेन्स अक्टोबरको ८४ प्रतिशतबाट झरेर ६८ प्रतिशतमा पुगेको छ ।

संकट सुरु भएदेखि मुम्बईमा इन्डिगोको सेयर मूल्य ओरालो लागेको छ । लगानीकर्ताहरू सञ्चालनमा अवरोध र नयाँ नियमअन्तर्गत कर्मचारी खर्च बढ्ने डरले चिन्तित छन् ।

यद्यपि, ब्रान्डमा विश्वास गर्ने लाखौं यात्रुहरूको भरोसा पुनः जित्नु सबैभन्दा ठूलो चुनौती हुनेछ ।

‘इन्डिगोले आफ्नै खुट्टामा बन्चरो हानेको छ र आफ्नो ब्रान्डमा अपूरणीय क्षति पुर्याएको छ,’ मार्टिनले बताए, ‘अन्य एयरलाइन्सहरूले अब इन्डिगोका यात्रुहरू तान्ने प्रयास गर्नेछन् ।’

एयर इन्डिया र स्पाइस जेट जस्ता वायुसेवाहरूले इन्डिगोका प्रभावित यात्रुहरूलाई समायोजन गर्न सयौं अतिरिक्त उडानहरूको घोषणा गर्दै त्यो काम सुरु गरिसकेका छन् ।

‘अहिलेको परिस्थितिलाई हेर्दा इन्डिगो एयरलाइनलाई खाली रहेका पाइलटको पदपूर्ति गर्न पनि कठिनाइ हुन सक्छ,’ मार्टिन भन्छन् ।

सोमबार संसदमा पनि यस विषयमा छलफल भयो जहाँ भारतका उड्डयनमन्त्रीले एयरलाइनलाई निकै कडा कारबाही गरिने चेतावनी दिए ।

भारतको उड्डयन नियामकले योजना र निरीक्षणमा गम्भीर त्रुटिहरू औंल्याउँदै इन्डिगोलाई स्पष्टीकरण सोधेको छ र एयरलाइनलाई आफ्नो उडान तालिका ५ प्रतिशतले कटौती गर्न भनेको छ ।

एयरलाइनलाई कसरी जवाफदेही बनाइन्छ भन्ने स्पष्ट छैन । तर, यो इन्डिगोलाई उदाहरण बनाएर पाठ सिकाउने नियामकका लागि सुनौलो मौका भएको उड्डयनविज्ञ अमेया जोशी भन्छन् ।

‘हामीसँग यस्तो घटना छ जहाँ राम्रो पुँजी भएको एयरलाइनले सामान्य काम पनि गर्न सकेन । अहिले सिंगो देश नियामक र मन्त्रालयतर्फ हेरिरहेको छ,’ जोशीले भने ।