उड्डयन प्राधिकरणका महानिर्देशक निलम्बनको असर: हेलि एभरेष्टको उडान दुई दिन रोकियो

609
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको निलम्बनपछि निमित्त नतोकिँदाको असर हवाई उड्डयनमा कति छिटो पर्छ भन्ने उदाहरण बन्न पुगेको छ, हेलि एभरेष्टको उडान ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १७ गते (बुधबार) विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्‍यो । भक्तपुरमा निर्माण गरिएको हेलिपोर्टमा भ्रष्टाचार गरेको आरोपमा अधिकारीसहित ७ जनाविरुद्ध दायर गरेको मुद्दाकै दिनदेखि अधिकारी स्वतः निलम्बनमा परे ।

सोही दिन निजी क्षेत्रको हेलिकप्टर कम्पनी हेलि एभरेष्टको उडान सञ्चालन अनुमतिपत्र (एओसी) नवीकरण गर्नेगरी फाइल अगाडि बढेको थियो । अधिकारी निलम्बनमा परेपछि शनिबारदेखि एओसीको नवीकरण सकिएको हेलि एभरेष्टको एओसी नवीकरण हुन सकेन् । सरकारले तत्कालै निमित्त महानिर्देशक नतोक्दा यसको एओसी नवीकरण अन्योलमा पर्यो ।

पर्यटन मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार साँझ मात्रै पर्यटन मन्त्रालयका सहसचिव मुकेश ढंगोलालाई अर्को व्यवस्था नभएसम्मको लागि भन्दै प्राधिकरणको समेत जिम्मेवारी तोकिन् ।

ढंगोलले जिम्मेवारी पाएर आइतबार ढिलो गरी प्राधिकरणको काम गर्दा शनिबारदेखि नै हेलि एभरेष्टको एओसीको समय सकिएकोले यसका ४ वटै हेलिकप्टर २ दिन ग्राउन्डेड भए ।

हेलि एभरेष्टसँग भएका ४ वटा हेलिकप्टर एओसी नवीरकण नभएका कारण उड्डन पाएनन् । यो वायुसेवाको आइतबार साँझ मात्रै एओसी नवीकरण भएका कारण सोमबारदेखि उडानमा आएको छ । उड्डयन नियम अनुसार एओसी नवीकरण नगरी वायुसेवा कम्पनीले उडान अवतरण गर्न पाउँदैन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आइतबार साँझ यो हेलिकप्टर कम्पनीको एओसी नवीकरण भएकोले सोमबारदेखि नियमित उडानमा गएको जानकारी दिए ।