
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको लिग चरणको २६ औँ खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको विजयी लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको हो।
सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
सुदूरपश्चिमले पहिलो विकेटको रूपमा ओपनर विनोद भण्डारीको विकेट गुमायो। उनले १५ रन बनाए। दोस्रो विकेट जोश ब्राउनको गयो। ६।२ ओभरमा नरेन भट्टको बलिङमा २० रन बनाउँदा ब्राउनले जीवनदान पाएका थिए। उनलाई अर्को ओभरको चौथो बलमा सन्दीप लामिछानेले २४ रनमा पेभेलियन फर्काए।
इशान पाण्डेले ३८ रन बनाए। उनले ३५ बलमा समान २ चौका र २ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि आरिफ शेखसँग ७२ रनको साझेदारी गरे। चौथो विकेटको रूपमा हर्मित सिंह गोल्डेन डक भए। पाँचौँ विकेट दीपेन्द्र सिंह ऐरीको गयो। उनले ११ बलमा २ छक्कासहित १९ रनमा क्याच भए।
दीपक बोहरा इनिङ्सको अन्तिम बलमा ३ रनमा बोल्ड भए।
विराटनगर किंग्सका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसीले २ र वसिर अहहमदले १ विकेट लिए।
लिग चरणको दुवै टोलीका लागि यो अन्तिम खेल हो। सुदूरपश्चिमले ६ खेलमा ६ जितसहित अपराजित छ। विराटनगरले समान ६ खेलबाट ४ जित र २ हारसहित ८ अंक जोडेको छ।
दुवै टोली प्लेअफमा छनोट भइसकेका छन्।







प्रतिक्रिया