मन्त्रीहरुद्वारा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व बहन गर्न अनुरोध

42
Shares

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल(एनवीआई) र यूएनडीपीको संयुक्त आयोजनामा आयोजना भएको व्यवसाय र मानव अधिकार (बीएचआर) को राष्ट्रिय कार्ययोजना कार्यान्वयन बिषयक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले बीएचआरलाई नैतिक विषय मात्रै नभएर अत्यावश्यक आर्थिक रणनीति हुनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘हालैको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रबीचको सम्बन्ध, सुशासन र जवाफदेहितामा रहेका संरचनागत कमजोरीहरु उजागर गरेको छ ।’

मन्त्री सिन्हाले निजी क्षेत्रलाई आह्वान गर्दै भने, ‘राजनीतिक चन्दा र भ्रष्टाचारमा संलग्न नहुनुहोस, युवालाई रोजगारी दिनुहोस, मुनाफा आर्जन गर्नुहोस तर समाजिक उत्तरदायित्व वहन गर्नुहोस् ।’

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सरकारले नै अनुशरण गर्न सक्ने खालको सुशासनको उदाहरण बन्न चुनौती दिए ।
‘अहिलेको अवस्थामा जनमानसमा उत्पन्न असन्तुष्टि केवल सरकारी भ्रष्टाचारप्रति मात्र होइन, सरकारी प्रणालीमा प्रभाव जमाएर लाभ लिन खोज्ने कर्पोरेट क्षेत्रप्रति पनि लक्षित छ,’ अर्थमन्त्री खनालले भने ।

एनबीआईको अध्यक्ष कुशकुमार जोशीले अहिलेको अवस्थामा विश्वासको संकट भएको जानकारी दिए । उनले दोषको सबै भारी अरुको टाउकोमा थुपार्न नहुने सुझाव दिदैं उनले सुधारको सुरुआत आफैंबाट गर्नुपर्ने र निजी क्षेत्र पारदर्शी, जवाफदेही र मानवअधिकार मैत्री बन्नु पर्ने औंल्याए ।