चुनढुंगा उत्खनन गर्न सरकारको स्वीकृति

616
Shares

काठमाडौं । सरकारले सात उद्योगलाई राष्ट्रिय वनबाट चुनढुङगा उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै विभिन्न सात उद्योगलाई राष्ट्रिय वनबाट चुनढुङगा उत्खननका लागि अनुमति प्रदान गरेको हो ।

बैठकले गरेको निर्णयानुसार पाल्पाको माथागढी गाउँपालिका ७ स्थित धनुषाको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गरी चुनढुङगा उत्खनन गर्न दिन शक्ति मिनरल्स प्रालीलाई अनुमति प्रदान गरिएको हो ।

यस्तै चितवनको राप्ती नगरपालिका १३ स्थित राष्ट्रिय वनको २१.१४ हेक्टर जग्गा प्रयोग गरी त्रिशक्ति होल्डिङस प्रालीलाई चुनढुङगा उत्खनन गर्न अनुमति दिइएको छ । त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका ५ स्थित राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गरी रिद्धिसिद्धि सिमेन्ट लिमिटेडलाई चुनढुङगा उत्खनन गर्न गर्न अनुमति दिइएको छ ।

यसैगरी मकवानपुरको भिमफेदी ५ स्थित राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा बाबा माइन्स एण्ड मिनिरल्स प्रालि, सोहि स्थानको वनको ४.४८ हेक्टर जग्गा विग प्लस मिनिरल्स प्राली, उदयपुरको चौदण्डीगढी नगरपालिका ८ स्थित वनको २ हेक्टर जग्गा केके लाइम्स एण्ड इन्डस्ट्रिज प्राली र मकवानपुरको बागमती गाउँपालिका ६ स्थित वनको ४.९६ हेक्टर जग्गा अन्नपूर्ण मिनिरल्स प्रालीलाई चुनढुङगा उत्खनन गर्न अनुमति प्रदान गरिएको हो ।