डाइपर बेच्ने विराट हेल्थकेयरले एकै वर्ष गर्‍यो ४५ करोडको व्यापार, डेढ अर्ब कर्जा लिँदै

182
Shares

काठमाडौं । विराट हेल्थकेयर इन्डष्ट्रिजले एकै वर्ष ४५ करोड रुपैयाँको व्यापार गरेको छ । सन् २०२४ मा ३६ करोड २० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२३ मा ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार गत आर्थिक वर्षमा सन् २०२४ को तुलनामा २४ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आवमा २.५६ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ९.९७ प्रतिशत नाफा कमाएको थियो ।

सन् २०२१ मा स्थापना भएको कम्पनीले हेल्थ र हाइजीन सामग्री जस्तै स्यानिटरी प्याड, सर्जिकल मास्क, ग्लोब्स, बेबी डाइपर, एम्जामिनेसन ग्लोब्स, डिस्पोजेबल मास्क, एडल्ट डाइपर, सर्जिकल क्याप उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले उत्पादन गरेको वस्तुहरु ह्वाइट मुन स्यानिटरी प्याड, विराट टुलिप ग्लोब्स, बेबी मुन डाइपर एन्ड विराट टुलिप एडल्ट डाइपर ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले कारोबार गरेकोमध्ये ८४ प्रतिशत कच्चा पदार्थको हिस्सा रहेको छ ।

कम्पनीले आफ्नै डाइपर उद्योग निर्माण गरिरहेको छ । उक्त उद्योग निर्माणको अन्तिम चरणमा छ ।

ज्ञानेन्द्रमान सिंह कार्की अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ४६ करोड ३६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड ६० लाख रुपैयाँको रेटिङ गराएको हो ।