
काठमाडौं । प्राथमिक सेयर निष्काशन गर्ने तयारी रहेको ठमेलस्थित होटेल रमदा इन्कोर काठमाडौंले एकै वर्ष साढे २८ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा २७ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीकाअनुसार सन् २०२४ को तुलनामा गत आवमा होटलको व्यापार ६ प्रतिशतले बढेको पाइएको छ । कम्पनीले गत आवमा १२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा होटलले १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले गत आवमा ५ करोड २० लाख रुपैयाँ होटलबाट नभएर जग्गा बिक्रीबाट भएको उल्लेख छ । गत आवमा कम्पनीको अकुपेन्सी रेट भने घटेको पाइएको छ । सन् २०२४ मा ७२ प्रतिशत रहेकोमा गत आवमा ६७ प्रतिशत अकुपेन्सी रेट रहेको कम्पनीले जनाएको छ । जसमा होटलको प्रतिकोठाको मूल्य २ हजार ४ सय ३६ रुपैयाँ तोकेको उल्लेख छ । सन् २०२४ मा प्रति कोठाको मूल्य २ हजार ६ सय ६५ रुपैयाँ तोकेको थियो ।
त्यसैगरी, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कम्पनीको अकुपेन्सी लेभल ६३ प्रतिशत रहेको छ । कम्पनीले आईपीओ जारी गर्नका लागि आवश्यक क्षमता सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । साथै, आईपीओ ल्याउनका लागि आवश्यक प्रक्रिया भइरहेको उल्लेख छ ।
सन् २०१२ मा ठमेल प्लाजा होटल एन्ड सुइट नाममा दर्ता भएको कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको थियो । होटल १ हजार १ सय ७० स्क्वारमिटर क्षेत्रफलमा फैलिएको छ ।
होटलमा ९० वटा कोठाको सुविधा रहेको छ । उक्त होटल सन् २०२१ बाट पूर्ण क्षमतामा सञ्चालनमा ल्याएको थियो । जगन्नाथ ज्ञवालीको १२ प्रतिशत स्वामित्व रहेको कम्पनीले वाइनदम होटल एसिया प्यासिफिक कम्पनीसँग व्यवस्थापनका लागि सम्झौता गरेको थियो ।










प्रतिक्रिया