राजस्व वृद्धिका लागि करको दर नभइ दायरा बढाउन आवश्यक: परिसंघ अध्यक्ष पाण्डे


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजस्व बढाउन करको दर नभइ दायरा विस्तार गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व निकै आवश्यक हुने बताए ।

स्वदेशी लगानीकर्ताले मात्रै नभइ विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिका कारण दायित्व हेरेर मात्रै लगानी गर्ने उनको भनाइ छ । मुलुक विषम परिस्थितिमा रहेको बताउँदै उनले केही समयअघिसम्म अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा रहेको भएपनि अहिले जेन जी आन्दोलनपछि राजनीतिक, सामाजिक क्षेत्रमा समेत चुनौती थपिएको बताए ।

मुलुकको समग्र आर्थिक विकासका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक क्षेत्रमा पारदर्शिता, नीतिगत स्पष्टतासँगै स्थिरता आवश्यक रहेको पाण्डेको भनाइ छ ।

मुलुक छिटै नयाँ चरणमा प्रवेश गर्ने र त्यसमा सुशासन, लगानी, व्यक्तिगत सुरक्षासँगै लगानीको वातावरणमा व्यापक सुधार हुने अपेक्षा निजी क्षेत्रले लिएको उनको भनाइ छ ।

राजस्वका कारण सरकारसमेत दबाबमा रहँदै आएको र राजस्व बढाउन करको दर होइन, दायरा विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

नीतिगत सुधारलाई अर्थमन्त्रालयले विशेष ध्यान दिनुपर्ने उनले बताए ।