
काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्गको पश्चिम (धादिङतर्फ) तर्फको प्रवेशद्वार र पहुँचमार्ग निर्माण गर्नका लागि म्याद थप गर्ने गृहकार्य सुरु भएको छ ।
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार धादिङतर्फको प्रवेशद्वार, पहुँचमार्ग निर्माण र टनेलभित्र थप भएको भेरिएसनअनुसार पूर्वाधार निमार्ण गर्न समय अभाव भएकाले म्याद थप गर्ने तयारी भइरहेको छ।
उनका अनुसार प्रवेशद्वार र पहुँचमार्ग निर्माण गर्नका लागि जापानी परामर्शदाताले कम्तिमा ६ महिनाको समय माग गरेको छ । नागढुंगा सिस्नेखोला सुरुङमार्ग परियोजनाले भने सकेसम्म थोरै समय थप गर्न प्रयासमा छ ।
उनका अनुसार धादिङतर्फको प्रवेशद्वार (सिस्ने खोला) नजिकै पटक पटक नयाँ पहिरो खसेर प्रवेशद्वारमा क्षति पुर्याएको र उक्त स्थानमा टोलगेट प्लाजासहित पहुँचमार्गसमेत निर्माण गर्न बाँकी रहेकाले म्याद थप गर्ने तयारी भएको हो । निरन्तर रुपमा वर्षा र पहिरो गएर निर्माण कार्य प्रभावित भएको थियो ।
यस्तै सुरूवाती डिजाइनअनुसार टनेलभित्र निर्माण गर्दैगर्दा जमिनको अवस्था फरक अवस्थामा भेटिएकाले टनेलभित्रका सपोर्ट सम्बन्धी कार्य र केहि पूर्वाधारका भेरिएसनहरु थप भएको छ ।
‘जापानी परामर्शदाताले अत्याधुनिक प्रविधिसहितको फुल प्रोटेक्सन पहिरो नियन्त्रण, टोलगेटसहित पहुँच मार्ग निर्माण गर्न, टनेलभित्र थपिएको थप भेरिएसन र अन्य पूर्वाधारका संरचनाहरु निर्माण गर्न कम्तिमा ६ महिनाको समय माग गरेको छ,’ आयोजना निर्देशक नेपालले भने, ‘हामीले सकेसम्म लागत र समयको हिसाबले थोरै म्याद थपेर ति संरचनाहरु निर्माण गर्न भनेका छौं । तर परामर्शदाता र ठेक्केदार कम्पनीले त्यस्ता संरचना तयार गर्न कम्तिमा ६ महिना नै आवश्यक पर्ने भनेर आफ्नो धारणा राखेको छ ।’
परामर्शदाता र ठेक्केदार कम्पनीले माग गरेको अवधिअनुसार अब ६ महिना थपिए यो आयोजना आगामी चैत अन्तिम सातासम्म सम्पूर्ण रुपमा तयारी अवस्थामा पुग्ने अवस्था छ । तर आयोजनाले सकेसम्म माघको अन्तिम सातादेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने आन्तरिक गृहकार्य गरेको छ ।
सिस्नेखोला नजिकको पहिरो नियन्त्रण गर्ने काम आयोजनाको डिजाइनमा भएअनुसार सम्पन्न भइसकेको अवस्थामा पछिल्लो असोजको पटक पटकको वर्षाले धादिङतर्फ सिस्ने खोला नजिकै ठूलो पहिरो गएर समस्या आएको नेपालले जानकारी दिए ।
पहिरो गएका कारण निर्धारित समयमा सक्नु पर्ने टोलगेट प्लाजा र पहुँचमार्गको निर्माण कार्य अवरुद्ध भएको थियो ।
‘म्याद थप गर्ने विषयमा टुंगो लागेको छैन, अझै छलफलमै छौं, म्याद थप भयो भने लागत पनि केहि बढ्ने सम्भावना छ,’ नेपालले भने, ‘थप भएको नयाँ भेरिएशन र डिजाइन पनि टुंगो लागिसकेको छैन, टुंगो लागेपछि मात्रै म्याद र लगानीको विषय फाइन हुन्छ।’
म्याद थपको विषय टुंगो लागेपछि मात्रै पश्चिमतर्फको टोलगेट प्लाजा र २.३ किलोमिटरमध्ये करिब ७० मिटर पहुँचमार्ग (एप्रोच सडक) निर्माण प्रक्रिया सुरु हुने उनले जानकारी दिए । एप्रोच सडकको पाँच लेनमध्ये २ लेनको निर्माण सम्पन्न भइसकेको छ भने ३ लेनको निर्माण कार्य बाँकी छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार यो आयोजनाअन्तर्गत हालसम्म भौतिकतर्फ ९८ र वित्तीयतर्फ ९० प्रतिशत प्रगति हासिल भएको छ ।
पन्थीका अनुसार निर्माणसम्पन्न भएर अन्तिम समयमा पुगिसकेको अवस्थामा पहिरोजस्ता प्राकृतिक प्रकोपजन्य विपद्का कारण थप भएको विभिन्न प्रकारको भेरिएसनका कारण लागत खर्च बढ्ने भएकाले जापानको जाइका सहयोग एजेन्सी (जाइका) सँग थप ५ अर्ब ७० करोड नेपाली रुपैयाँ मागसहित प्रस्ताव गरिएको छ ।
थप बजेट प्राप्तिका लागि प्रस्ताव गरिए पनि हालसम्म यो रकमको लागि सम्झौता भने भएको छैन । पन्थीका अनुसार सम्झौता भएको रकममा नयाँ थप भएको भेरिएसनअनुसार अब करिब ७ प्रतिशतसम्म लागत खर्च बढ्न सक्ने सम्भावना छ ।
नागढुंगा-सिस्नेखोला सडक खण्ड निक्कै साँघुरो भएकाले सडकमा सानो अवरोध हुँदा नौबिसे–काठमाडौं बीचको यात्रामा घण्टौँ जाम हुने गरेको छ । सुरुङमार्ग सञ्चालनमा आएपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ ।
सरकारले यो आयोजनामा हालसम्म दुई पटक म्याद थप गरिसकेको छ । पहिलो पटक १ वर्ष र दोस्रो पटक १८ महिनाको म्याद थप गरी निर्माण सक्ने अवधि अक्टोबर २५ तारिख (कात्तिक ८ गते) तोकेको थियो ।
आयोजनका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु गरेको थियो । यसको कूल लागत २२ अर्ब छ ।

जापानको जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी(जाइका) मार्फत सोहि मुलुकको हाजमा एण्डो कर्पोरेशनले नागढुंगा-सिस्नेखोला सुरुङ मार्ग निर्माणको ठेक्का पाएको थियो । सडक विभागले यो कम्पनीसँग २०१९ सेप्टेम्बर २३ मा ठेक्कासम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेक्का पाएको ४२ महिना (२०२३ अप्रिल २५) मा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
कोभिडकाल, स्थानीयबासिन्दाको पटक पटकको अवरोध, अघिल्लो वर्ष क्रसर उद्योग बन्द, भौगोलिक जटिलतालगायतका कारण पहिलो पटक २०८० साउन ४ गते(२०२३ जुलाई २०) मा १ वर्षको र २०८०) चैत १२ गते(२०२४ अप्रिल २५) मा दोश्रो पटक १८ महिना म्याद थप भएको थियो ।
अन्तिम पटक थप भएको समयभित्र निर्माण कार्य सकेर, सञ्चालन—व्यवस्थापन कम्पनी छनोट गरि आगामी पुसभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने योजना सडक विभागले बनाए पनि थप भएको भेरिएसनका कारण अब भने माघको अन्तिम सातादेखि सञ्चालन गर्ने गरी सडक बिभागले तयारी गरेको नेपालले जानकारी दिए ।
आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि ‘नागढुंगा(काठमाडौं)–सिस्नेखोला (धादिङ) सुरुङमार्ग यातायात सञ्चालन सम्बन्धी’ कार्यविधि पनि तयार गरेको छ ।

यो सुरुङमार्ग अन्तर्गत दुईवटा टनेल निर्माण भएको छ । जसअनुसार आपतकालीन उद्दारमा प्रयोग गर्नका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपातकालिन सुरुङमार्ग (इभाक्युसन टनेल) र सवारी साधन ओहोर दोहोर गर्न २ हजार ६ सय ८८ मिटर दूरी र ३.५ मिटर चौडाई भएको दुई लेनको मुख्य सुरुङमार्ग (मेन टनेल) निर्माण गरिएको छ ।
मुख्य सुरुङमार्गसँगै सामानान्तर रुपमा निर्माण भएको आपातकालिन सुरुङ्गमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट) निर्माण भएको छ ।
मुख्य सुरुङमार्गमा सबारी साधन ओहोर दोहोर गर्दा हुने भवितव्य दुघर्टना, गाडी बिग्रने र समस्यामा पर्ने यात्रुलाई उद्दार गर्नका लागि समानान्तर रुपमा यो सुरुङ्ग निर्माण गरिएको हो ।
मुख्य सुरुङमार्गभन्दा २० मिटरको दुरीमा देव्रेतर्फ सामानान्तर रुपमा निर्माण भएको आपातकालिन सुरुङमार्ग साढे चार मिटर चौडाई र ५ मिटर उचाई छ । यो सुरुङमार्गलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटरको दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ ।
नागढुंगा सुरुङमार्ग सञ्चालनका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान
सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि आवश्यक पर्ने सेवा प्रदायक छनोट गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरेको छ ।
सरकारले गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र टेण्डर आह्वान गरेकोे थियो ।
नागढुंगा-सिस्नेखोला सुरुङ्ग मार्ग आयोजनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको हो । बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (२०२५ डिसेम्बर १७) तोकिएको छ ।
पन्थीका अनुसार यो टेण्डरमार्फत छनौट प्रक्रिया, मूल्याँकन आशय पत्र, सम्झौतालगायत सबै प्रक्रिया सम्पन्न गर्न कमितमा २ महिना समय लाग्नेछ ।
सुरुङमा अत्याधुनिक प्रणाली समावेश रहेको तर सडक विभागको हालको संरचनाबाट उक्त सुरुङमार्ग सञ्चालन र मर्मतसम्भार गर्न कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो । सेवा प्रदायकले पाँच वर्षको सुरुङ मार्ग सञ्चालन तथा मर्मत गर्ने शर्त तोकिएको छ ।
सुरुङ्ग मार्ग नियमित रुपमा सञ्चालनको लागि १५० जनाको दरबन्दीसमेत प्रस्ताव गरिएको छ । पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन तथा मर्मत सम्भार प्रमुखको नेतृत्वमा यस्ता कर्मचारी रहने व्यवस्था गर्न लागिएको छ ।
पन्थीकाअनुसार सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना, सडक उपभोग दस्तुर (टोलगेट) उठाउन ५४ जना, ट्राफिक सुविधा अनुगमन तथा नियन्त्रणका लागि १४ जना, सिभिल संरचना तथा अन्य संरचना मर्मत सम्भारका लागि ८—८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ ।
सुरुङमार्गमार्फत यात्रा गर्दा टोलगेट(शुल्क) तोकियो
सरकारले नागढुंगा सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ ।
गत् श्रावण २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्गबाट यात्रा गर्दा शुल्क दर निर्धारण गर्ने निर्णय गरेको थियो । यो निर्णयअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार र भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने मिनी बस र ट्रकले ११५ र फर्कदा ८० रुपैयाँ, काठमाडौं आउने ठूला बस र ट्रकले २६० र फर्कदा २०० रुपैयाँ तिर्नु पर्ने छ ।
त्यस्तै नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं आउने भारी उपकरणले ६०० र फर्कदा २५० रुपैयाँ तिर्नु पर्ने सरकारले निर्णय गरेको थियो ।







प्रतिक्रिया