आगजनी भएको भाटभटेनी भत्काउने क्रममा तीन मजदुर घाइते, उपचार हुँदै

56
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउने क्रममा आइतबार तीन जना मजदुर घाइते भएका छन् ।

आइतबार दिउँसो करिब साढे ३ बजेतिर भग्नावशेष पर्खाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भवनतर्फ खस्दा मजदुरहरू फसेका थिए ।

प्रारम्भिक उद्धारमा दुई जनालाई तत्काल अस्पताल पठाइएको र त्यसपछि फसेका अर्का मजदुरलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन रहेका छन्। तामाङको दुबै हात र खुट्टामा, स्याङ्तानको टाउको र दुबै खुट्टामा तथा पाख्रिनको टाउको, दुबै हात र दुबै खुट्टामा चोट लागेको छ। तीनै जनाको उपचार टिचिङ अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले नक्सालस्थित भाटभटेनीमा आगजनी गरेका थिए । त्यसपछि सुपरमार्केटको भवन पूर्णरूपमा जिर्ण बनेको र मर्मत तथा सरसफाइ कार्य जोखिमपूर्ण भएको प्रहरीले जनाएको छ।