
एजेन्सी । पाकिस्तान र अफगानिस्तानबीच इस्तानबुलमा भएको शान्तिवार्ता कुनै सहमतिविना नै सकिएको छ ।
सीमा तनाव घटाउने र युद्धविराम कायम राख्ने उद्देश्यका साथ सुरु गरिएको वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि दोषारोपण गरेका छन् ।
हालैका हप्ताहरूमा सीमामा भएको घातक संघर्षका कारण १०औं सैनिक र सर्वसाधारणको मृत्यु भएपछि दुवै देशबीच तनाव बढेको थियो । यो हिंसा अक्टोबर ९ मा काबुलमा भएका विस्फोटहरूपछि सुरु भएको थियो । अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि ड्रोन आक्रमण गराएको आरोप लगाएको थियो र बदला लिने चेतावनी दिएको थियो ।
कतारको मध्यस्थतामा अक्टोबर १९ मा युद्धविराम घोषणा गरिएको थियो । तर, यो अहिले पनि अस्थिर अवस्थामा छ ।
अफगान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएका छन् । ‘पाकिस्तानका मागहरू अव्यवहारिक भएकाले वार्ता अघि बढ्न सकेन । बैठक समाप्त भएको छ र अहिलेका लागि वार्ता रोकिने अवस्थामा छ,’ उनले भने ।
शनिबार दक्षिणी अफगान शहर कान्दहारमा पत्रकार सम्मेलन गर्दै मुजाहिदले क्षेत्रीय असुरक्षा नचाहेको र युद्धमा जानु पहिलो विकल्प नभएको उनले थपे । ‘युद्ध भयो भने हामीलाई आत्मरक्षाको अधिकार हुनेछ,’ उनले बताए ।
यसअघि उनले जारी गरेको लिखित वक्तव्यमा अफगानिस्तानले कसैलाई पनि आफ्नो भूभाग प्रयोग गरेर अर्को देशविरुद्ध गतिविधि गर्न अनुमति नदिने र आफ्नो सार्वभौमसत्ता वा सुरक्षालाई कमजोर पार्ने कुनै कदम नस्वीकार्ने बताएका थिए ।
सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तानबीच सीमातनाव हुने गरेको छ । टर्की र कतारको मध्यस्थतामा भएको दुईदिने वार्ता दुवै देशबीचको तेस्रो महत्त्वपूर्ण शान्ति प्रयास थियो । अधिकारीहरूका अनुसार, तीव्र कूटनीतिक प्रयासका बाबजुद शुक्रबार साँझसम्म कुनै ठोस प्रगति नभएपछि वार्ता रोकिएको थियो ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार सञ्चारमाध्यमलाई वार्ता सकिएको र भविष्यमा बैठकहरूको कुनै योजना नरहेको जानकारी दिँदै पाकिस्तानी टोली स्वदेश फर्किएको बताए । अफगान पक्षबाट उल्लंघन नभएसम्म युद्धविराम कायम रहने उनको भनाइ छ ।








प्रतिक्रिया