जापानमा ६.७ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी

273
Shares

एजेन्सी । जापानको इवाते प्रान्तको तट नजिक आइतबार साँझ ६.७ म्याग्निच्युडको भूकम्प आएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।

इवाते प्रान्तको ओफुनातो शहरका अधिकारीहरूले तटीय क्षेत्रका २ हजार ८ सय २५ घरका ६ हजार १ सय ३८ जनालाई सुरक्षित स्थानमा जान निर्देशन जारी गरेको छ ।

जापानको मौसम विभागका अनुसार, साँझ ५ः३९ बजे ओफुनातो बन्दरगाहमा १० सेन्टिमिटर अग्लो सुनामीको छाल देखिएको थियो । त्यसअघि ५ः१२ बजे एजेन्सीले इवातेको तटदेखि करिब ७० किलोमिटर टाढा कमजोर सुनामी देखापरेको जनाएको थियो ।

सुनामीको चेतावनी सामान्यतया १ मिटरभन्दा कमका छालहरूको सम्भावनालाई जनाउँछ ।

यो भूकम्प साँझ ५ः०३ बजे आएको थियो र इवाते प्रान्तको मोरिओका शहर, याहाबा गाउँ, र छेउको मियागी प्रान्तको वाकुया गाउँमा शिन्दो ४ (म्याग्निच्युड ४) मापन गरिएको थियो ।

जापान रेलवेले तोहोकु शिनकान्सेन रेलको विद्युत् आपूर्ति केही समयका लागि अवरुद्ध भएको र सेनदाइ र शिन–आओमोरी स्टेशनबीच रेल सञ्चालन अस्थायी रूपमा रोकिएको जनाएको छ ।