भजन-कीर्तन संरक्षणमा ‘शताब्दी घर’

126
Shares

पर्वत (कुश्मा) । शताब्दी घर अघिल्तिर उभिँदा कुनै गाउँ पुगेको अभास हुन्छ । मौलिक साँस्कृतिक सोचले बडो जतनले यस घरको संरक्षण गरिएको छ । जहाँ हाम्रा गाउँघरमा पाइने प्राचिन अस्त्र, वस्त्र, भाँडाकुडा, परम्परागत चिजवस्तु अवलोकन, अध्ययन र अनुसन्धान गर्न सकिन्छ ।

यही घरमा शरद रितुको मध्यमासमा वैदिक परम्परागत भजन संस्कृतिलाई संरक्षण गर्ने ध्ययले ‘भजन कीर्तन साँझ’ आयोजना गरिएको छ । कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप सिर्जनात्मक विकास गर्ने अभिप्रायले ‘भजन- कीर्तन साँझ’ आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए ।

‘संस्कृति आफैँले गरीब–धनी छुट्याउँदैन, तर सँस्कृति अपनाउनेहरूले छुट्याइहाल्छन् । सँस्कृति भनेको सुधार्दै ल्याइएको संस्कारलाई सर्वोत्तम रुप दिएर समाजले आफूलाई अघि बढाउने एउटा प्रभावशाली साधन हो । रीतिस्थिति, परम्परा आदिलाई यसको मर्म मान्दै सँस्कृतिमा हामी ठूलो आस्था राख्छौँ र व्यवहारमा ल्याउने प्रयत्न गर्छौँ ।’

‘व्यवहारमा नआई सँस्कृति जीवित रहन सक्तैन । व्यवहारमा नल्याएको सँस्कृति जति नै घतलाग्दो भए पनि मरेर जान्छ ।’ यही चिन्तनले अभिप्रेरित भएर परम्परागत कला, संस्कृति, रैथाने ज्ञान, सीप, उजागर गर्ने हेतुले पर्वते युवाहरू मिलेर ‘भजन कीर्तन’ सत्सङ्ग साँझ आयोजना गरिएको शताब्दी घरका परिकल्पनाकार आरके अदीप्त गिरीले बताए ।

यस कार्यक्रमको मूल अभिप्राय ‘परम्परागत धर्म -संस्कृति, रीतिथिति, सम्पदा र सभ्यता पुस्तौंपुताका लागि बचाउनुपर्छ भन्ने नै भएको गिरीले बताए । परियोजनाको अभियान, आफ्नोपनको आभास दिलाई समाजमा सिर्जनात्मक बहस अघि सारेर आफ्ना वरपरका विभिन्न सम्पदा जोगाउनु पनि रहेको छ । पछिल्लो पुस्ताले बिर्सिंदै गएका मौलिक एवम् सांस्कृति महत्वका चिजलाई पुस्तान्तरण गर्नुसमेत आफ्नो उद्देश्य रहेको उनले बताए ।

कला अनि संस्कृतिबिनाको शहर आत्माबिनाको शरीरजस्तै हो । सुन्दर सहर बन्न कला-संस्कृति, सम्पदा र सभ्यता बाँच्नुपर्छ । हाम्रो मौलिक संस्कार अन्तर्गतको भजन संस्कृति हाम्रो वैदिक परम्परासँग जोडिएको हुँदा पनि यसको उचित संरक्षण गर्नुपर्छ भनेर ‘शताब्दी घर’मा कार्यक्रम आयोजना गरिएको पर्वत युवा संजालका ‘भजन मण्डली’ संयोजक वसन्त बास्तोलाले बताए ।

सांस्कृतिक सुन्दरताले भरिएको कला घर शताब्दी घर आफैंमा एउटा जीवित इतिहास हो । यहाँबाट कार्यक्रम शुभारम्भ गर्दा हाम्रो आफ्नो र संस्कृतिप्रतिको बढी सम्मान हुने देखेर नै शताब्दी घरमा कार्यक्रम आयोजना गरिएको युवा संजालका संयोजक समुन्द्र गिरीले बताए ।

‘संस्कृति धेरै समृद्ध कुरा हो । हामी हाम्रा निसानीहरू मेट्दै बिर्सदै गैरहेका छौं । संस्कृति र संस्कारका सीमाहरू भत्काएका छौं । अब स्थानीय स्तरबाट संस्कृतिको परिभाषालाई व्यापकता दिन ‘भजन कीर्तन साँझ’ आयोजना गरिएको पर्वत युवा संजालका संयोजक समुन्द्र गिरीले बताए ।

धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाहरूले भरिपूर्ण कुश्मा नगरीमा सकरात्मकता फैलौन र युवाहरूलाई सत्सङ्ग र संस्कारको मार्गमा हिंडाउन पनि यस्ता कार्यक्रमको आयोजना गर्नुपरेको स्थानीय युवा संविधान गिरीले जानाकारी दिए। उनका अनुसार नियमित रुपमा अब यस कार्यक्रमलाई जिल्लाका गाउँकुनासम्म पुर्याउने सोच युवा समूहले लिएको र त्यसकै सुरुवाती निरन्तरता स्वरुप शताब्दी घरमा ‘भजन- कीर्तन साँझ’ आयोजना गरिएको हो ।

विविधतात्मक समाजमा रहेका कलाका सबै आयामलाई एउटै थलोमा समेट्ने, यसलाई लोकमञ्च बनाउने, सिर्जनाको परिवेश निर्माण गर्ने र समाजका हरेक युवाहरूले कलालाई नजिकबाट अध्ययन गर्न पाउने, खाने, गाउने, बजाउने रैथाने थलो बनाउनु नै शताब्दी घरको मूलभूत उद्देश्य र अभियान दुवै रहेको शताब्दी घरका शिल्पकार कवि एवम् संरक्षणकर्मी आरके अदीप्त गिरीले बताए ।

समाजका हरेक कला–संस्कृति हाम्रा सक्कली प्रमाण हुन् । उन्नत मानवीय संस्कृति झल्कने हाम्रा मेला–पर्व, चाडबाड, जात्रा, सम्पदा स्थलहरूको उचित संरक्षण र कला, साहित्य, संस्कृतिको चेतना आम मानिसहरूमा फैलाउने उद्देश्यले ‘भजन कीर्तन साँझ’ सिर्जनशील शनिवारका रुपमा परिकल्पना र आयोजना गरिएको पर्वत युवा संजालले जनाएको छ ।