नेपाललाई एकाउन्ट र फाइनान्स आउटसोर्सिङका लागि उत्कृष्ट गन्तव्यको रुपमा चिनाउनुपर्छ

210
Shares

नेपालमा पछिल्लो केही वर्ष यता एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) र बिजनेस प्रोसेसिङ आउटसोर्सिङ (बीपीओ)लाई चासोको रुपमा हेरिँदै आएको छ । विश्वभर फैलिएको एसीसीए सञ्जालको महत्त्वपूर्ण केन्द्रको रुपमा नेपाल पनि रहँदै आएको छ । एसीसीए क्षेत्रका ज्ञाताले बैंकिङ, वित्त, विकास तथा व्यवसायिक प्रक्रिया अग्रणी भूमिका निभाउने भएकाले पनि यसलाई महत्त्वपूर्ण क्षेत्रको रुपमा हेर्ने काम गरिन्छ ।

एसीसीए नेपालका प्रमुख रविन कटुवालका अनुसार एसीसीए नेपालले दिगोपन, कृत्रिम बुद्धिमत्ता (एआई), जलवायु वित्त र हरित प्रविधिजस्ता विषयलाई समेट समेट्ने काम गर्दै आएको छ । कटुवाल सन् २०१६ देखि एसीसीए नेपाल प्रमुखको जिम्मेवारीमा छन् ।

यसै सन्दर्भमा एसीसीए र नेपालमा यसको अवस्था, सम्भावना र नीतिगत व्यवस्थाका विषयमा केन्द्रित रहेर क्लिकमान्डुका लागि पदम भुजेलले एसीसीए नेपाल प्रमुख कटुवालसँग गरेको कुराकानीः

एसीसीए भनेको के हो ? विश्व र नेपालमा यसको उपस्थिति कस्तो छ ?

एसीसीए एक विश्वव्यापी पेशागत लेखा संस्था हो । यसको स्थापना सन् १९०४ मा भएको हो । त्यस हिसाबले सन् २०२५ सम्म पुग्दा एसीसीएले १२१ वर्षको गौरवशाली इतिहास पूरा भएको छ । यद्यपि एसीसीए बेलायतमा आधारित संस्था हो, यसको उपस्थिती विश्वभर फैलिएको छ । हाल विश्वभर करिब पाँच लाखभन्दा बढी विद्यार्थी, डेढ लाखभन्दा बढी सदस्य, १८० भन्दा बढी राष्ट्रमा उपस्थिती छ । करिब ७ हजार ५०० भन्दा बढी स्वीकृत रोजगारदाता र तीन सयदेखि चार सयसम्म परिक्षा केन्द्र सञ्चालनमा छन् ।

यसरुपमा हेर्दा एसीसीए विश्वकै अग्रणी पेशागत लेखा संस्था हो । नेपालमा हाल करिब ६ हजार विद्यार्थी एसीसीएमा अध्ययनरत छन् । यहाँ चारवटा ‘प्लाटिनम अप्रुभल लर्निङ पार्टनर’, दुईवटा ‘गोल्ड अप्रुभल लर्निङ पार्टनर’ र केही ‘सिल्भर अप्रुभल लर्निङ पार्टनर’ पनि छन् । साथै, ९५ भन्दावटा स्वीकृत रोजगारदाता नेपालमा रहेका छन् । त्यसका साथै, विश्व बैंक, एसियाली विकास बैंकजस्ता विकास साझेदार संस्थासँग समय–समयमा सहकार्य गर्दै क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

नेपालकै राष्ट्रिय लेखा संस्था नेपाल चार्टर्ड लेखापाल संस्था (आईक्यान) सँग पनि एसीसीएको सहकार्य सम्झौता रहेको छ । यसरी सम्बन्धहरूलाई निर्माण, सुदृढ र विस्तार गर्दै एसीसीए आफ्नो मूल उद्देश्य ‘सार्वजनिक हितका लागि सकारात्मक शक्ति बन्ने र अवसर सिर्जना गर्दै विश्वव्यापी लेखा पेशालाई अगुवाइ गर्ने’ लक्ष्यसाथ निरन्तर अघि बढिरहेको छ ।

एसीसीएबाट तयार हुने जनशक्तिहरू (ह्युमन रिसोर्स)ले कस्ता सिप र प्राविधिक ज्ञान (टेक्निकल स्किल) हासिल गरेका छन् ? उनीहरू कुन–कुन क्षेत्रका लागि उत्कृष्ट रूपमा मानिन्छन् ?

एसीसीए मूलतः एक विश्वव्यापी पेशागत लेखा संस्था हो । पेशागत लेखा संस्था भएकाले एसीसीएका सदस्यहरू वित्त र लेखा क्षेत्रमा दक्ष र विशेषज्ञ मानिन्छन् । तर एसीसीएको मूल सोच ‘भविष्य सोचौं’ (थिंक अहेड) भन्ने हो । यसको अर्थ अहिले आवश्यक सिप र क्षमतासँगै भविष्यमा आवश्यक हुने सिप र ज्ञानमा पनि केन्द्रित रहनु हो ।

त्यसैले, हामीले हालै आफ्नो शैक्षिक पाठ्यक्रम (क्वालिफिकेसन) मा आवश्यक सुधार गरेका छौं । अहिलेको विश्वमा दिगोपन (सस्टेनेबिलिटी), कृत्रिम बुद्धिमत्ता (एआई), तथ्यांक (डेटा), जलवायु वित्त (क्लाइमेट फाइनान्स), हरित प्रविधि (ग्रिन टेक) आदि विषय अत्यन्त महत्त्वपूर्ण बन्दै गइरहेका छन् । विश्व नै ती विषयहरूतर्फ उन्मुख भइरहेकाले, हामीले पनि यी सबै पक्षहरूलाई एसीसीएको पाठ्यक्रममा समेटेका छौं र निरन्तर अद्यावधिक गरिरहेका छौं ।

हाम्रो उद्देश्य भनेको पनि एसीसीएको योग्यता हासिल गर्ने प्रत्येक सदस्य आजका लागि मात्र होइन, भविष्यका लागि पनि काम गर्न तयार (वर्क–रेडी) रहुन् भन्ने हो । त्यसैका लागि हाम्रो पाठ्यक्रमलाई निरन्तर विकसित र भविष्यमुखी बनाइरहेका छौं । अहिलेका लागि मात्रै नभएर भोलि पनि दक्ष रहनेगरी काम गरिरहेका छौं ।

नेपालका सन्दर्भमा, एसीसीएका सदस्यहरू मुख्यतः कुन क्षेत्रमा कार्यरत छन् ? र उनीहरूले उल्लेखनीय योगदान के–के दिएका छन् ?

नेपालमा अहिले करिब ६०० जना एसीसीए सदस्यहरू सक्रिय रूपमा कार्यरत छन् । त्यस्तै संख्यामा नेपालमै योग्यता हासिल गरेर विभिन्न देशहरूमा कार्यरत सदस्यहरू पनि रहेका छन् । यो सम्भव भएको कारण भनेको एसीसीएको विश्वव्यापी सञ्जाल र अन्तर्राष्ट्रिय मान्यता हो । नेपालमा एसीसीए सदस्यहरूको सबैभन्दा ठूलो उपस्थिति बैंकिङ र वित्त क्षेत्र मा छ ।

यहाँका धेरैजना सदस्यहरू उच्च पदहरूमा कार्यरत छन् । त्यसबाहेक विकास क्षेत्र (डेभलपमेन्ट सेक्टर) जस्तै विश्व बैंक, एडीबी, एनजीओ, आईएनजीओ लगायत संस्थाहरूमा पनि उल्लेखनीय संख्यामा एसीसीए सदस्यहरू कार्यरत छन् । त्यस्तै निजी क्षेत्रमा पनि उनीहरूको सक्रियता बढ्दो छ । पछिल्ला वर्षहरूमा देशकै अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको अर्को महत्त्वपूर्ण क्षेत्र भनेको वित्त तथा लेखा बाह्य सेवा (फाइनान्स एन्ड अकाउन्ट्स आउटसोर्सिङ) हो ।

यो क्षेत्र अहिले तीब्र रूपमा विस्तार हुँदैछ, र यसमा एसीसीए सदस्यहरूले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूले देशको अर्थतन्त्रमा योगदान दिनुका साथै, नेपालको सीपयुक्त जनशक्ति प्रयोगको दायरालाई पनि विस्तार गरिरहेका छन् । राइट । बैंकिङ क्षेत्रको कुरा गर्दा, त्यहाँ मुख्य रूपमा फाइनान्स र लेखा सम्बन्धी सिप आवश्यक पर्छ ।

त्यसमा फाइनान्स विभाग, इन्टरनल अडिट विभाग र रिस्क तथा एडभाइजरी विभागजस्ता निकायहरू पर्दछन् । साथै, बाह्य अडिटमा पनि एसीसीए सदस्यहरू प्रत्यक्ष रूपमा साइनिङ पार्टनर नभए पनि टिम लिडरको रूपमा संलग्न हुनुहुन्छ । त्यसैले बैंकिङ तथा वित्तीय क्षेत्रमा एसीसीए सदस्यहरूको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ ।

अब बीपीओ (बिजनेस प्रोसेस आउटसोर्सिङ अर्थात् व्यवसायिक प्रक्रिया बाह्यकरण) अर्थात् फाइनान्स र लेखा बाह्यकरण सेवाको सन्दर्भमा कुरा गर्दा, यहाँ मुख्य रूपमा विदेशबाट आउने लेखा, कर, बुककिपिङ, कानुनी परामर्श तथा एडभाइजरी कार्यमा एसीसीए सदस्यहरूले नेतृत्व गरिरहनुभएको छ । यसमा उहाँहरूले विभिन्न परियोजनाहरूको नेतृत्व गर्दै कामको सम्पूर्ण व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्न भूमिका खेलिरहनुभएको छ ।

कन्सल्टिङ क्षेत्रमा हेर्दा, उहाँहरूको संलग्नता रणनीतिक कागजात तयार पार्ने, तालिम तथा क्षमता अभिवृद्धि गर्ने, अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड कार्यान्वयनमा परामर्श दिने, सार्वजनिक वित्तीय व्यवस्थापन सुधार गर्ने र जलवायु वित्त क्षेत्रमा योगदान पुर्‍याउनेजस्ता कामहरूमा केन्द्रित रहेको छ । यी सबै क्षेत्रमा उहाँहरू परामर्शदाता, परियोजना लिडर र अग्रणी विशेषज्ञको रूपमा सक्रिय हुनुहुन्छ ।

गुणस्तर र विश्वसनीयताको सन्दर्भमा एसीसीएको योगदानको के छ ? मानव स्रोतलाई प्रयोग गरेर कस्तो सेवा दिनु भएको छ ?

गुणस्तर र विश्वसनीयताको सन्दर्भमा एसीसीएको भूमिका हेर्दा, यो केवल संस्थागत प्रयास मात्र नभई देशकै लागि एउटा ‘उर्वर भूमी’ सिर्जना स्थान हो । एसीसीएका विद्यार्थीहरू अंग्रेजी शिक्षामा दखल राख्ने भएकाले अन्तर्राष्ट्रिय क्लाइन्टसँग काम गर्न सहज हुन्छ । अहिले नेपालबाट हुने लेखा तथा वित्तीय बाह्यकरण कार्यहरू मुख्यतः बेलायत, अस्ट्रेलिया, अमेरिका र केही हदसम्म मध्यपूर्वका देशहरूबाट आउँछन् ।

एसीसीए सदस्यहरूले अध्ययनकै क्रममा बेलायती कर प्रणाली पढ्ने भएकाले त्यहाँको बुककिपिङ र कर व्यवस्थाको सीधा ज्ञान हासिल गर्छन्, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा सहजता प्रदान गर्छ । त्यसैगरी, अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड, अन्तर्राष्ट्रिय अडिट मापदण्ड र अन्य विश्वव्यापी अभ्यासहरूसँग उनीहरू परिचित हुने भएकाले, सो ज्ञानले उनीहरूलाई प्रभावकारी रूपमा काम गर्न सक्षम बनाएको छ ।

विभिन्न मुलुकका नियोजकहरूबाट प्राप्त प्रतिक्रियाहरूले पनि एसीसीए सदस्यहरूको क्षमतामा विश्वास प्रकट गर्छन् । कतिपय अवस्थामा उनीहरूले स्थानीय जनशक्तिभन्दा अझ राम्रो प्रदर्शन गरिरहेका छन् । अर्को महत्त्वपूर्ण पक्ष भनेको एसीसीएले अहिलेका नयाँ आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो पाठ्यक्रमलाई निरन्तर परिमार्जन गरिरहेको छ । जस्तै, ‘उन्नत डेटा विज्ञान’ जस्ता नयाँ विषयहरू समावेश गर्दै छ । अहिलेका परिक्षाहरू पनि पूर्ण रूपमा कम्प्युटरमा आधारित छन्, जसमा वर्ड, एक्सेल, र पावरप्वाइन्ट प्रयोग गर्न विद्यार्थीहरू सक्षम हुन्छन् ।

त्यसबाहेक, एसीसीएले विभिन्न ‘रोजगारयोग्यता मोड्युलहरू’ पनि आफ्नो योग्यता कार्यक्रमभित्र समावेश गरेको छ, र भविष्यमा थप नयाँ मोड्युलहरू ल्याउँदैछ । अन्ततः यी सबै प्रयासहरूको उद्देश्य एउटै एसीसीए सदस्यहरूको गुणस्तर र विश्वसनीयतालाई सुनिश्चित गर्नु र उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा योगदान गर्न सक्षम बनाउनु हो ।

हामी एसियामै उत्कृष्ट अंग्रेजी बोल्ने देशको छैटौं स्थानमा पर्छौं । त्यसका साथै हाम्रो श्रमशक्ति अत्यन्तै उत्पादक छ । हामी विकसित मुलुकको तुलनामा आधा लागतमै गुणस्तरीय जनशक्ति उपलब्ध गराउन सक्षम छौं । यो अवस्थालाई कसरी हेर्नु भएको छ ? यो अवसर हो ?

एसीसीए एउटा विश्वव्यापी समुदाय हो । अस्ट्रेलिया, बेलायत, संयुक्त राज्य अमेरिका, क्यानडा वा मध्यपूर्वका देशहरू जहाँ गएपनि एसीसीए समुदाय विद्यमान छ । यही कारण त्यस समुदायमा मिसिन र त्यसको फाइदा लिन सजिलो हुन्छ । एसीसीएको विशेषता भनेको ‘सुपर कनेक्टर’ हुनु हो । अर्थात् फरक–फरक सरोकारवालाहरूलाई जोड्ने माध्यम बन्ने बाटो हाम्रो छ ।

उदाहरणका लागि, यदि नेपालमा कुनै एसीसीए शिक्षाप्रद संस्थाले श्रीलंका वा बेलायतसँग सहकार्य गर्न चाहन्छ भने, एसीसीएले त्यसलाई सिधै जोड्न भूमिका खेल्छ । त्यसरी हाम्रो श्रमशक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा एकीकृत गर्न सकिन्छ, जसको फाइदा नेपालले पनि पाएको छ ।

सामान्य रूपमा अहिलेको संसार निकै एकीकृत भइसकेको छ । सबैलाई इन्टरनेट, मोबाइल र कम्प्युटर पहुँचमा छ । पहिलाको जस्तो लोडसेडिङको समस्या पनि छैन । त्यसैले अब हामी विश्वमा के भइरहेको छ, त्यो सहजै बुझ्न सक्छौं र त्यसको फाइदा लिन सक्छौं । यस्तो अवस्थामा सही मार्गदर्शन पाइयो भने धेरै राम्रो हुन्छ ।

यसका साथै जो विदेशमा सफलता हासिल गरेर फर्किएका छन्, उनीहरूले व्यवसाय नेपालमा ल्याइरहेका छन् । तर यहीँ बसेर पनि हामी अन्तर्राष्ट्रिय ग्राहकहरूसँग जोडिन सक्छौं । त्यसका लागि आवश्यक उपकरण, स्रोत र क्षमता अहिले नेपालमा उपलब्ध छन् । एसीसीएले नेपालमा जनशक्ति तयार गरिरहेको छ भने आईक्यानले उत्पादन गरिरहेको छ । यी दुबैको संयोजनले नेपालमा ठूलो सम्भावना देखिएको छ ।

बीपीओ तथा यस क्षेत्रको नेपालको जनशक्तिलाई बाह्य मुलुकहरुले कसरी हेरिरहेका छन् ? अन्य देशको तुलनामा हाम्रो दक्षता वा क्षमता कस्तो किसिमको छ ?

ग्लोबल प्रतिस्पर्धाको कुरा गर्दा, नेपालले विश्वस्तरको श्रमशक्ति तयार गरिरहेको छ । एसीसीएका विभिन्न विषयहरूमा विश्वभर हजारौं विद्यार्थी प्रतिस्पर्धा गर्छन्, तर नेपाली विद्यार्थीहरू निरन्तर शीर्ष स्थानमा आइरहेका छन् । यस्तो गुणस्तरीय जनशक्ति भएकोले अन्तर्राष्ट्रिय ग्राहकहरू नेपालमाथि भरोसा गर्छन् र यहाँबाट सेवा लिन इच्छुक हुन्छन् ।

नेपालमा स्थापित विभिन्न फर्महरूले पनि यस्ता दक्ष जनशक्तिलाई अवसर दिइरहेका छन् । उनीहरूले स्पष्ट सन्देश दिएका छन् ‘जसमा रुची, क्षमता, महत्त्वाकांक्षा र गुणस्तर छ, हाम्रो ढोका सधैं खुला छ ।’ यसले नयाँ पुस्तालाई आफ्नो सिप र दक्षता प्रदर्शन गर्ने प्लेटफर्म दिएको छ । मैले विभिन्न फर्म र कामदार दुवैबाट पाएको प्रतिक्रिया सकारात्मक छ ।

अन्तर्राष्ट्रिय ग्राहकहरूले पनि नेपालबाट प्राप्त सेवाको गुणस्तरबारे उच्च मूल्यांकन गरेका छन् । त्यो सबै कुराले मैले भनिराखेको कुरालाई पुष्टि गर्छ भन्ने मलाई लाग्छ । अब यो प्रक्रियालाई अझ तीब्र बनाउन सहयोग आवश्यक हुन्छ । सहयोग कुन अर्थमा भने नेपालमा रहेका विभिन्न फर्महरू, एसीसीए संस्था, यसको सदस्य तथा भावी सदस्य समुदाय, साथै आईक्यान (नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था) यी सबैबीच सहकार्य आवश्यक छ ।

यदि हामीले मिलेर काम गर्न सक्यौं भने यो अवसरलाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सक्छौं । नेपाल पनि अहिले भारत वा फिलिपिन्सजस्तै आउटसोर्सिङका लागि सम्भावनायुक्त केन्द्र बन्न सक्छ । उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रमा हामी चीन वा भारतजस्ता विशाल देशसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । तर केही विशिष्ट क्षेत्र जस्तै औषधि उत्पादन वा प्रविधि (टेक्नोलोजी) मा भने सम्भावना छ ।

त्यसबाहेक, हामीले कौशल (स्किल) आपूर्ति गरेर, विशेष गरी सूचना प्रविधि, लेखा र वित्त क्षेत्रमा, आफ्नो मूल्य प्रदर्शन गर्न सक्छौं । यी सबै क्षेत्रबीचको सहकार्यबाट उत्पन्न ‘सिनर्जी’ प्रयोग गरी हामीले अझ अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

एसीसीएले उत्पादन गरेको मानव स्रोतले नेपालमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्र्याउन र बीपीओ व्यवसायहरू विस्तार गर्न पनि योगदान पुर्‍याइरहेको छ ।

अहिले नेपालमा भएका लेखा र वित्तसम्बन्धी आउटसोर्सिङ फर्महरूले यहाँ लगानी गरिरहेका छन् र रोजगारी सिर्जना पनि गरिरहेका छन् । यसले नेपालमा करियरको सम्भावनाबारे चलिरहेको बहसलाई पनि बल दिएको छ । यी फर्महरूले सिर्जना गरेका रोजगारीहरू बजारदरभन्दा राम्रो पारिश्रमिकका छन्, जुन अर्को ठूलो फाइदा हो ।

हाम्रो भूमिका भनेको यस्ता लगानीकर्ताहरूलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनु हो । किनभने व्यवसाय स्थापना मात्र पर्याप्त हुँदैन; त्यसलाई टिकाइराख्न आवश्यक जनशक्ति आपूर्ति गर्न सक्नुपर्छ । भारत, चीन वा फिलिपिन्समा जस्तो ठूलो मात्रामा जनशक्ति उत्पादन गर्न नसके पनि, हामीले गुणस्तरीय, भविष्यका लागि तयार र कामका लागि तयार जनशक्ति उपलब्ध गराउन सकेका छौं ।

यसका लागि एसीसीएले रोजगारदातासँग सहकार्य गर्दै आफ्ना सदस्य र भावी सदस्यहरूको दक्षता विकास, पुनःदक्षीकरण र क्षमतावृद्धिमा निरन्तर काम गरिरहेको छ । हाम्रो उद्देश्य यसलाई एउटा अभियानकै रूपमा अघि बढाउने हो, सबै सरोकारवालाहरूलाई एउटै मञ्चमा ल्याएर सहकार्य गर्ने, विचार आदान–प्रदान गर्ने, र नेपाललाई ‘प्रविधि तथा प्रतिभाको गन्तव्य’ बनाउने धारणा बलियो बनाउने हो ।

जसरी प्रविधिको क्षेत्रमा नेपाल सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित हुँदैछ, त्यस्तै लेखा र वित्तसम्बन्धी बाह्य सेवाको क्षेत्रमा पनि नेपाल अग्रसर हुन सक्छ । त्यसका लागि आवश्यक प्रतिभा नेपालमै छ भन्ने सन्देश विश्व बजारमा प्रभावकारी रूपमा पुर्‍याउनुपर्छ । यही हाम्रो साझा प्रयासको उद्देश्य हो ।

एसीसीएले एफडीआई भित्र्याउन, बीपीओ सेवालाई विस्तार गर्नका लागि योगदान गर्दै आएको छ । नेपालको हकमा यसको स्थिति कस्तो छ ? कसरी भूमिका खेलेका देख्नुहुन्छ ?

हामी अहिले देशभित्रै रोजगारी सिर्जना गर्दैछौं, बीपीओ क्षेत्रमा काम गरेर युवाहरूलाई विदेश जानबाट रोकिरहेका छौं । विदेशमा जानेहरूले पठाउने रेमिट्यान्सको सट्टा, अहिले यहीँ बसेर विदेशी आम्दानी नेपालमै ल्याउने काम भइरहेको छ । यस अर्थमा हेर्दा, हामी रेमिट्यान्स–केन्द्रित अर्थतन्त्रबाट बिस्तारै तलब–आधारित अर्थतन्त्रतर्फ रूपान्तरणमा योगदान पुर्‍याइरहेका छौं ।

विदेशी लगानी नेपालमा आउँदैछ भने त्यस्तो सेवा–उन्मुख व्यवसायका लागि देश आफैं कत्तिको तयार छ ? वातावरण कत्तिको अनुकूल छ ? यो निकै महत्त्वपूर्ण प्रश्न हो । यदि हामीले यसमा गहिरो रूपमा सोचेनौं र अग्रसर भएर तयारी गरेनौं भने, यो अवसर गुम्न सक्छ । किनभने हामीसँग प्रतिस्पर्धा गर्ने देशहरू भारत, फिलिपिन्स, र केही हदसम्म पाकिस्तान पहिले नै अनुकूल नियामक वातावरण बनाउन सफल भएका छन् ।

नेपालमा भने केही नियामक अवरोधहरू अझै छन्, यद्यपि त्यसमा सुधारका प्रयास भइरहेको देखिन्छ ।तर अझै पनि कर–छूट जस्ता प्रोत्साहनका उपायहरू आवश्यक छन् । जस्तै, अहिले स्टार्टअपहरूका लागि जस्तो सुविधा दिइएको छ, त्यस्तै किसिमको नीतिगत प्रोत्साहन आउटसोर्सिङ क्षेत्रमा पनि हुन सक्छ । त्यस्तै, विदेशमा रहेका नेपाली मूलका व्यावसायिकहरू जसले नेपालमा व्यवसाय विस्तार गर्दै लगानी ल्याइरहेका छन्, उनीहरूलाई राष्ट्रिय स्तरमा सम्मान र पहिचान दिन सकियो भने, त्यसले उनीहरूलाई अझ प्रोत्साहित गर्न सक्छ ।

व्यवसायिक सफलता पछि, मानिसहरू सामाजिक सम्मान र राष्ट्रिय मान्यता पनि खोज्छन् । त्यसैले राज्यले यस्ता योगदानकर्ताहरूलाई पहिचान गर्न सक्नु आवश्यक छ । यो क्षेत्रलाई सही रूपमा स्थान दिन सकियो भने, त्यसले समग्रमा सक्षम वातावरण निर्माण गर्न सहयोग गर्छ । त्यसका लागि सबै सरोकारवालाहरू एउटै मञ्चमा आएर यसलाई राष्ट्रिय प्राथमिकताको रूपमा लिनुपर्छ र सहकार्यको पहल गर्नुपर्छ । यसबाट नयाँ विचार र नीतिगत सुधारका सम्भावनाहरू पनि खुल्नेछन् ।

एसीसीए वा बीपीओको विषयमा यसरी कुरा गर्दै गर्दा नेपाल यसका लागि कति तयार छ ? हाम्रो नीतिगत व्यवस्था, संयन्त्र र नियामकीय व्यवस्थाहरु कुन अवस्थामा छन् ?

नेपालसँग जनशक्ति र भाषा दुवैमा राम्रो अवस्था छ । प्रत्येक वर्ष करिब ४ लाख नयाँ युवाहरू रोजगारी बजारमा प्रवेश गर्छन्, जसको कम्तीमा २० प्रतिशत उच्च दक्ष जनशक्ति पर्छन् । यी युवाहरूलाई उचित प्रशिक्षण र अवसर प्रदान गर्न सकेमा नेपालले अर्बौं डलर बराबरको विदेशी आम्दानी भित्र्याउन सक्छ ।

तर, त्यसका लागि दीर्घकालीन दृष्टि र रणनीति चाहिन्छ । हामीले आफ्नो शिक्षण प्रणाली पुनरावलोकन गर्नुपर्छ । नेपालले अब उत्पादनमुखी होइन, सेवामुखी अर्थतन्त्रमा फोकस गर्नुपर्छ । प्रविधि, लेखा, वित्त, तथा अन्य सेवा–सम्बन्धी सीपहरूलाई निर्यात गर्न सक्ने स्तरको जनशक्ति उत्पादन गर्नु नै अबको प्राथमिकता हुनुपर्छ । नेपालबाटै बसेर विश्वका क्लाइन्टहरूलाई सेवा दिन सक्ने क्षमतायुक्त युवाशक्ति तयार गर्न शिक्षा प्रणाली अनुकूल हुनुपर्छ ।

अन्ततः सहकार्य नै सबैभन्दा ठूलो मूल्य हो । कुनै कामलाई केवल व्यक्तिगत रूपमा होइन, सहकार्यका माध्यमबाट गर्न सके, त्यसको लाभ व्यापक समुदायमा फैलिन्छ । यही सोचका साथ सबै सरोकारवालाले सहकार्य गरे भने नेपालले ग्लोबल आउटसोर्सिङ नक्सामा आफ्नो बलियो स्थान बनाउन सक्छ भन्ने विश्वास म राख्छु । नीतिहरु पनि आगामी दिनमा थप सहज बन्दै जानेछन् ।

हाम्रो सोच र काम गर्ने शैलीमा मैले देखेको कुरा के हो भने, धेरैजसो व्यक्तिहरू आफैंलाई अगाडि राख्न खोज्छन्, आफ्नो नाम मात्र आउनुपर्छ भन्ने सोच राख्छन् । तर यस्तो सोचले व्यक्तिगत बल र कमजोरी दुबैको मूल्यांकनमा असर पार्छ । महत्त्वपूर्ण कुरा के हो भने, आफ्नो कमजोरीलाई अरूको बलबाट कसरी पूर्ति गर्ने र आफ्नो बलले अरूको कमजोरीलाई कसरी सहारा दिन सक्छ भन्ने कुरा मूल्याङ्कन हुनु आवश्यक छ ।

यस क्षेत्रका लागि अबको हाम्रो महत्त्वपूर्ण विषय के हो ? हामीले यसलाई कसरी अगाडि बढाउँदा उचित हुन्छ ?

यसलाई संक्षेपमा भन्नुपर्दा, हाम्रो प्राथमिकता ग्लोबल क्लाइन्टलाई सेवा दिन सक्ने दक्ष, काम गर्न तयार जनशक्ति तयार पार्न हुनुपर्छ । त्यसका लागि स्थानीय र अन्तर्राष्ट्रिय शिक्षा प्रणालीसँग सहकार्य गर्दै, शिक्षण र तालिममा फोकस गर्नु आवश्यक छ ।

उदाहरणका रूपमा, नेपालमा रहेको व्यक्तिहरुले ओपनएआई, माइक्रोसफ्ट जस्ता बिलियन–डलर कम्पनीहरूलाई सेवा दिइरहेको छ । त्यस्तै, क्लाउड फ्याक्ट्री जस्ता व्यवसायहरूलाई सपोर्ट गर्न सक्ने वर्कफोर्स तयार गर्न सक्ने क्षमता नेपालमा छ । यस प्रकारको क्षमता हाम्रो देशको रणनीतिक लाभ बन्न सक्छ ।

तर, एक चुनौतिपूर्ण विषय भनेको युवा जनशक्ति विदेश गइरहेको छ । प्रत्येक घरमा कुनै न कुनै सदस्य विदेशमा रहेको कुरा सुनिन्छ । तथ्यांक हेर्दा, लाखौं युवाहरू वार्षिक रूपमा बाहिर जान्छन्, जसले राष्ट्रिय जनशक्ति बजारमा असर पुर्‍याउँछ । यस सन्दर्भमा, एसीसीए जस्ता संस्था र अन्य सरोकारवालाहरूले योगदान गर्न सक्छन् ।

मेरो मुख्य तर्क के हो भने, हामीले उत्पादन गरिरहेका फ्युचर–रेडी, वर्क–रेडी, ग्लोबल स्ट्यान्डर्ड अनुसार दक्ष जनशक्तिलाई नेपालमै राखेर पनि विश्वका क्लाइन्टहरूलाई सेवा दिन सक्ने अवस्था सिर्जना गर्न सकिन्छ । हाम्रो देशको प्रविधि पूर्वाधार, अंग्रेजी बोल्ने क्षमता, हार्डवेयर र सफ्टवेयरको उपलब्धता यसलाई सम्भव बनाउँछ ।

फाइनान्स र अकाउन्ट्स आउटसोर्सिङमा पनि त्यही अपच्र्युनिटी नेपालमै ट्याप भइरहेको छ । नेपालको योग्य जनशक्ति, उपयुक्त शिक्षा र संरचना निर्माण गरेपछि, विदेश जान आवश्यक नपरी पनि यहाँ बसेर भविष्य निर्माण गर्न सकिन्छ । यस किसिमको सम्भावना नेपालको शिक्षा प्रणाली परिष्कृत हुँदै जाँदा अझ व्यापक हुनेछ ।

अहिले सबै युवाहरु विदेशिनेक्रम मात्रै देखिन्छ । तपाईं बाहिर जानका लागि हतारिने युवा जनशक्तिलाई के भन्नु हुन्छ ?

हालको प्रमुख र गम्भीर विषयमध्ये एक हो, युवा जनशक्ति निरन्तर विदेशिनु । आज लगभग प्रत्येक घरमा कोही न कोही अस्ट्रेलिया, अमेरिका वा अन्य देशमा रहेको कुरा सुनिन्छ । तथ्यांकले पनि त्यही देखाउँछ । प्रत्येक वर्ष लाखौं युवाहरू देश छोड्दै छन् । एनओसी लिनेहरूको संख्या र रेमिटेन्सको तथ्यांक हेर्दा देश क्रमशः रित्तिँदै गएको अनुभूति हुन्छ ।

यस्तो परिस्थितिमा एसीसीए र यस्ता पेशागत संस्थाहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । म यसलाई केवल एसीसीएसम्म सीमित गर्न चाहन्नँ, किनभने यो विषय देशकै साझा चिन्ताको विषय हो—कसरी दक्ष जनशक्ति देशमै उपयोग गर्न सकिन्छ भन्ने । एसीसीएलाई जोडेर हेर्दा, अहिले हामीले तयार गरिरहेका जनशक्ति ‘भविष्यका लागि तयार’, ‘कामका लागि तयार’ र ‘विश्वस्तरको मापदण्डमा अभ्यस्त’ छन् ।

यस्ता जनशक्तिले नेपालमै रहेर पनि विश्वका क्लाइन्टहरूलाई सेवा दिन सक्ने क्षमता राख्छन् । नेपालमा अहिले प्रविधिगत पूर्वाधार, अंग्रेजी भाषाको दक्षता, हार्डवेयर र सफ्टवेयरको सहज उपलब्धता, यी सबैले यस्तो अवसर प्रदान गरेका छन् । फाइनान्स र अकाउन्ट्स आउटसोर्सिङ मार्फत नेपाली पेशेवरहरूले यी अवसरहरू प्रयोग गर्न थालेका छन् । यस अर्थमा एसीसीएले यस्तो जनशक्तिलाई नेपालमै बस्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना देखाएको छ ।

मेरो दृष्टिमा, विदेश जानु वा नेपालमै रहनु भन्ने कुरा व्यक्तिगत सम्भावना र चाहनासँग सम्बन्धित हो । नागरिकको रूपमा प्रत्येक व्यक्तिलाई आफ्नो भविष्य जहाँ देख्छ, त्यहाँ जाने स्वतन्त्रता छ । तर, नेपालमै पनि ठूलो सम्भावना छ भन्ने सन्देश म दिन चाहन्छु । हाम्रो शिक्षा प्रणाली परिष्कृत र प्रविधि–मैत्री बन्दै गएसँगै, नेपालमै बसेर पनि विश्वस्तरको अवसर पाउन सकिने वातावरण विस्तार हुँदै गएको छ । यही विश्वासले नेपाली युवालाई देशमै सम्भावनाको नयाँ बाटो देखाउन सकिन्छ ।