काठमाडौं उपत्यकाको फाहोर फाल्न भइरहेको अवरोध हट्यो, बञ्चरेडाँडा पुगेर कुलमानले यसो भने

315
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा विसर्जन गर्न विगत पाँच दिनदेखि भइरहेको अवरोध हटेको छ । अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्यान्डफिल साइटतर्फ गएका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अवरोध खुलेको हो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि समस्या समाधानका लागि मन्त्री घिसिङ, सहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट तथा धादिङका प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिका कार्यकारी अधिकृतसहितको टोली लिएर आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइटमा गएका थिए ।

टोलीले फोहोर विसर्जन गर्ने ठाउँको स्थलगलत निरीक्षण गर्नुका साथै ल्यान्डफिल साइट पर्ने धादिङको धुनिवेशी नगरपालिकाका प्रमुख, नुवाकोटका ककनी गाउँपालिका अध्यक्ष, प्रभावित वडाका वडाध्यक्षहरु र स्थानीय बासिन्दासँग अन्तक्रिया गरेको थियो ।

मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति एवम् सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले सहमति कार्यान्वयको प्रक्रिया अगाडि बढाउन १५ दिनको समय माग गर्दै फोहोर फाल्न अवरोध नगर्न अनुरोध गरेका थिए ।

‘विगतमा धेरै सहमति भएका रहेछन्, मैले सबैको अध्ययन गरेको छु, अहिले म आश्वासन दिन आएको हैन, कार्यान्वयन गर्छु, फोहोर व्यवस्थापनका लागि अवरोध नगरिदिनुहोस्, अवरोध हटाएर एउटा सन्देश दिनुहोस्, बल प्रयोग गरेर नभई प्रभावितसँग वार्ता र संवादमार्फत सौहार्दपूर्ण रुपमा समस्या समाधान गर्छौं,’ उनले स्थानीयलाई अनुरोध गर्दै भने, ‘फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनासहित अगाडि बढ्छौं, अल्पकालीन रुपमा गर्न सकिने काम काम तत्काल अगाडि बढाउँछौं, विगतमा भएका सहमति कार्यान्वयनका लागि गर्नुपर्ने नीतिगत निर्णय गर्छौं ।’

स्थानीयले उठाउँदै आएको लिचेट व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयको संयोजनमा सबै सरोकारवाला निकाय सम्मिलित समिति बनाइने भएको छ । पोखरीमा जम्मा भएको लिचेटलाई खोलामा जान नदिन रिसाइकल गर्न तत्काल पम्प सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ । हाल पम्प बिग्रिएको छ ।

ल्यान्ड फिल्ड साइटमा जथाभावी फोहोर फालिएको गुनासो सम्बोधन गर्न सहरी विकास मन्त्रालय,काठमाडौं महानगरपालिका र प्रभावित पालिकाका १/१ जना प्रतिनिधि रहने गरी अनुगमन समिति बनाइने भएको छ ।

रात्रिकालीन फोहोर व्यवस्थापन गर्न साइटमा आवश्यक पर्ने बत्तीको व्यवस्था गरिने प्रतिबद्धता जनाउँदै मन्त्री घिसिङले सोमबारबाटै बत्ती राख्न सुरु गरिने उल्लेख गरे । यसका लागि उनले प्राधिकरणका कार्यकारी निर्देशक र नुवाकोट वितरण केन्द्र प्रमुखलाई निर्देशन दिइसकेका छन् ।

वैज्ञानिक व्यवस्थापनका लागि फोहोर छुट्याउन विभिन्न ठाउँमा पहिचान गरिएका सार्वजनिक जग्गा स्थानीय तहलाई उपलब्ध गराउन मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिइने उनले बताए ।

ल्यान्डफिल साइटबाट प्रभावित हुने क्षेत्रको यकिन गर्न चार सिजनको तथ्याङ्क आवश्यक पर्ने भएकाले पूरक वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)सम्पन्न गर्न केही समय लाग्ने देखिएकाले यस्तो अवस्थालाई बुझिदिन उनले स्थानीयलाई आग्रह गर्नुभयो । मन्त्री घिसिङले ईआईएपछि प्रभावित क्षेत्रको पहिचान हुने भएकाले सोही बमोजिम जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढ्ने बताए ।

दीर्घकालीन रुपमा फोहोर व्वस्थापनका लागि लगानी बोर्डले अगाडि बढाइएको प्रक्रियामा भएको कानूनी अड्चन काठमाडौं उपत्यकाका मेयर्स फोरमलाई समेत सहभागी गराएर समाधान गरिने उनले उल्लेख गरे ।

धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, प्रभावित वडाका वडाध्यक्ष, स्थानीय सरोकारवालाले विगतमा सहमति हुने तर कार्यान्वयन नहुँदा फोहोर विसर्जनको समस्या बारम्बार आउने गरेको बताए । उनीहरुले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि कार्ययोजना सहित अगाडि बढ्नु पर्ने, फोहोर फाल्ने स्थान र मानिसलाई छुट्याउनु पर्ने, विगतमा गरिएका सहमति समझौता कार्यान्वयन गरिनु पर्ने बताएका थिए ।

https://www.facebook.com/reel/2072213413524173