अब नयाँ अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा ५ हजार, नवीकरणमा २५ सय लाग्ने

245
Shares

काठमाडौं । सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण प्रक्रिया व्यवस्थित गर्न नयाँ नियमावली जारी गरेको छ । ‘छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२’ अनुसार अब नयाँ अनलाइन दर्ता गर्दा ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने सञ्चालनमा रहेका अनलाइनले हरेक आर्थिक वर्ष आफ्नो प्रमाणपत्र २ हजार ५ सय रुपैयाँ शुल्कमा नवीकरण गराउनुपर्नेछ । यसअघि अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणमा पैसा लाग्दैन थियो ।

नियमावलीले नवीकरणमा ढिलाइ भएमा पहिलो महिनामा १० प्रतिशतदेखि सातौँ महिनासम्म २०० प्रतिशतसम्म जरिवाना तोकेको छ । तर, २०८२ पुस मसान्तसम्म नवीकरण गर्दा शुल्क लाग्ने छैन।

अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि केही नयाँ प्रावधान पनि लागू भएका छन् । संस्थामा कम्तीमा सम्पादकसहित तीन कर्मचारी हुनु अनिवार्य गरिएको छ । एउटै व्यक्ति एकभन्दा बढी अनलाइनको सम्पादक हुन पाउने छैन । दर्ता र नवीकरणका लागि आवेदन सूचना व्यवस्थापन प्रणालीमार्फत गर्नुपर्नेछ।

यसका साथै अनलाइनले आफ्नो वेबसाइटमा दर्ता नम्बर, कार्यालयको नाम, ठेगाना, सम्पर्क नम्बर र सम्पादकको विवरण अनिवार्य राख्नुपर्नेछ। पहिले नै दर्ता भइसकेका अनलाइनले पुनः दर्ता गर्न नपर्ने भए पनि नवीकरण अनिवार्य हुनेछ ।