
एजेन्सी । बंगालको खाडीमा बनेको मोनथा चक्रवात भारतको आन्ध्र प्रदेशतर्फ बढिरहेको छ ।
यो चक्रवात मंगलबार मध्यराततिर आन्ध्र प्रदेशको काकिनाडा नजिकैबाट जमिनमा आइपुग्ने र त्यसपछि माछिलिपटनम र कलिंगपट्टनमबीचको तट पार गरेर उडिसाको दक्षिणी भागतर्फ बढ्ने अनुमान गरिएको छ ।
यस मौसमको यो पहिलो ठूलो चक्रवात हो । यो हाल बंगालको खाडीमा केन्द्रित छ र उत्तरपश्चिम दिशातर्फ सरिरहेको छ ।
स्थलगत हुनुअघि यो गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । यसको हावाको गति प्रतिघण्टा ९० देखि १०० किलोमिटर छ र झड्का ११० किलोमिटर प्रतिघण्टासम्म पुग्ने बताइएको छ ।
आन्ध्र प्रदेश सरकारले काकिनाडा, कोनसीमा, पश्चिम गोदावरी, एलुरु र पूर्व गोदावरी जिल्लालाई उच्च सतर्कतामा राखेको छ । मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले कुनै पनि जनधनको क्षति हुन नदिन निर्देशन दिएका छन् ।
यस आँधीले आन्ध्र प्रदेशमा सबैभन्दा ठूलो असर पर्नेछ । त्यहाँका २३ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । तर, दक्षिण उडिसाका तटीय जिल्लाहरूमा पनि भारी वर्षा र तीव्र हावा चल्ने अनुमान गरिएको छ । तमिलनाडुको उत्तर भाग, विशेषगरी चेन्नई, मा पनि भारी वर्षा पर्न सक्छ ।
यसैबीच, उडिसा सरकारले सोमबार जोखिमपूर्ण क्षेत्रका करिब ३ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिसकेको छ । आँधीका कारण भुवनेश्वर र दक्षिणी जिल्लाहरूमा वर्षा भइरहेको छ ।
प्रशासनले गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूमा पहिरोको सम्भावना भन्दै कडा निगरानी गरिरहेको छ ।
नेपालमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले गर्दा बुधवारसम्म देशका विभिन्न भागमा हलुका वा मध्यम वर्षाका साथै हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उसका अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम हिमपातरवर्षा तथा बाँकी तराईका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपातरवर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात र वर्षाको पनि सम्भावना रहेको छ ।








प्रतिक्रिया