
एजेन्सी । बंगलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसद्वारा पाकिस्तानको जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल साहिर शम्शाद मिर्जालाई आर्ट अफ ट्रायम्फ नामक कलाकृति उपहार दिएका छन् ।
त्यो सामान्य कूटनीतिक उपहार मात्र नभई राजनीतिक सन्देश बोकेको कदम हुनसक्ने भारतीय गुप्तचर स्रोतहरूले दाबी गरेका छन् । उनीहरूका अनुसार, युनुसले उक्त चित्रकला कुनै नागरिक प्रतिनिधिलाई नभई पाकिस्तानका उच्च सैन्य अधिकृतलाई सिधा हस्तान्तरण गर्नु नियोजित कदम हो ।
गुप्तचर निकायसँग सम्बन्धित स्रोतहरूले बताएअनुसार, यस कार्यले ढाकाको अन्तरिम शासन र रावलपिण्डीको सैन्य नेतृत्वबीचको अघोषित राजनीतिक–रणनीतिक समझदारीको संकेत दिन्छ । उनीहरूका अनुसार, यसले भारतविरुद्ध पाकिस्तानको दीर्घकालीन प्रचारबाजीलाई ढाकाबाट मौन समर्थन प्राप्त भएको संकेत दिन्छ । विशेषगरी, दुवै देशले विदेशी प्रभावमा परेर क्षेत्रीय सन्देशलाई पुनःसंरचना गर्न खोजिरहेको समयमा यो कदम चालिएको हो ।
स्रोतहरूका अनुसार, उक्त कलाकृतिमा भारतको पूर्वोत्तर राज्यका भूभागलाई बृहत्तर बंगलादेशी सीमाभित्र चित्रण गरिएको देखिन्छ । यसले नयाँ दिल्लीका रणनीतिक वृत्तहरूमा चिन्ता उत्पन्न गरेको छ ।
उनीहरूका भनाइमा यो मनोवैज्ञानिक युद्धको प्रतीकात्मक सन्देश हो । यसले भारतको भौगोलिक अखण्डता कमजोर पार्ने र सन् १९७१ को विभाजनका ऐतिहासिक घाउहरू फेरि बल्झाउने प्रयास गर्छ ।
विश्लेषकहरूले यस कदमलाई पाकिस्तानले सन् १९७१ मा बेहोरेको सैन्य हारलाई प्रतीकात्मक रूपमा मेट्ने र ढाका–इस्लामाबादबीचको नयाँ वैचारिक साझेदारी प्रदर्शन गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन् ।
गुप्तचर स्रोतहरूले समयको सन्दर्भलाई पनि अर्थपूर्ण बताएका छन् । यो घटनाक्रम त्रिपुरा र मिजोरम सीमामाट अवैध आप्रवासीहरूको प्रवेशमा वृद्धि भएको रिपोर्टहरूसँग मेल खान्छ । भारतका सुरक्षा निकायहरूले पाकिस्तान–समर्थित इस्लामिक एनजिओहरूका बंगलादेशी सञ्जालले अवैध रूपमा मानिसहरूलाई भारत पठाइरहेको अनुमान गरेका छन् ।
उनीहरूका अनुसार, यी विकासक्रमहरूले संस्कृति र कूटनीतिमार्फत सफ्ट पावर युद्ध सञ्चालन गर्ने संयोजित अभियानको संकेत दिन्छन् । यसले प्रत्यक्ष आतंकवादी माध्यमको सट्टा वैचारिक प्रभावको उपयोग गर्छ ।
युनुस पश्चिमका वित्तीय निकायहरू यूएसएड र वाशिङटनमा रहेका थिंकट्यांकहरूको अप्रत्यक्ष समर्थनमा बंगलादेशको सत्तामा आएका हुन् । यी संस्थाहरूले वर्षौंदेखि शेख हसिनाको सरकारलाई कमजोर पार्ने र ढाकालाई भारतको बढ्दो प्रभावविरुद्ध सन्तुलनको केन्द्रका रूपमा विकसित गर्ने प्रयास गरिरहेका छन् ।
हाललाई यो कलाकृतिको कूटनीतिक प्रभाव सीमित देखिए पनि यसले अमेरिकी निर्देशनमा गरिएको सफ्ट–पावर परीक्षणको प्रतिनिधित्व गर्न सक्ने गुप्तचर स्रोतहरूले चेतावनी दिएका छन् । प्रत्यक्ष कूटनीतिक मर्यादाको उल्लंघन विना नै यसले भारतको प्रतिक्रियाको परीक्षण गर्ने काम गर्छ, उनीहरूको भनाइ छ ।








प्रतिक्रिया