
एजेन्सी । रुसले आणविक शक्तिसम्पन्न बुरेभेस्तनिक क्रुज क्षेप्यास्त्रको सफल परीक्षण गरिएको जनाएको छ ।
आणविक वारहेड समेत राख्न सकिने यो हतियारले कुनै पनि प्रतिरक्षा प्रणालीलाई नष्ट गर्न सक्ने रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् ।
रुसका सेनाप्रमुख भ्यालरी गेरासिमोभले यो क्षेप्यास्त्रले १४ हजार किलोमिटरको यात्रा गरेको र यो आकाशमा १५ घन्टा रहेको पुटिनलाई जानकारी दिए ।
क्षेप्यास्त्रको परीक्षण मंगलबार अर्थात् अक्टोबर २१ मा गरिएको थियो ।
यसको असीमित दायरा तथा पूर्वानुमान गर्न नसकिने फ्लाइट पाथका कारण यसले विद्यमान तथा भविष्यमा बन्ने समेत प्रतिरक्षा प्रणालीलाई सजिलै छल्न सक्ने रुसको दाबी छ । नेटोले यस क्षेप्यास्त्रलाई एसएससी–एक्स–९ स्काईफल नाम दिएको छ ।
‘यो संसारमै कसैसँग नभएको अद्वितीय हतियार हो,’ पुटिनले बताए । आफूलाई रुसी विज्ञहरूले यस्तो हतियार बन्नै सक्दैन भनेको तर अहिले यो तयार भएर यसको परीक्षण समेत गरिएको पुटिनको भनाइ छ ।
यस हतियारलाई कसरी वर्गीकरण गर्ने र यसलाई तैनाथी गर्नका लागि कस्तो आवश्यक पूर्वाधार तयार पार्ने भनी बुझ्नुपर्ने पुटिनले गेरासिमोभलाई बताए ।
यो क्षेप्यास्त्र आणविक शक्तिको बलमा उडेको र यति लामो दूरीसम्म उडेकाले यो परीक्षण फरक रहेको गेरासिमोभको भनाइ छ । यसको दायरा असीमित भएको उनले दाबी गरे ।
पुटिनले गत बुधबार रुसको रणनीतिक आणविक बलले स्थल, जल र आकाशमा गरेको परीक्षणको अवलोकन गरेका थिए । तयारी अवस्था र कमान्ड संरचनाका लागि उक्त परीक्षण गरिएको थियो ।








प्रतिक्रिया