
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङ यसै साता दक्षिण कोरियामा भेटवार्ता गर्दैछन् ।
तर, उनीहरू साँच्चै भेट्छन् कि भेट्दैनन् भन्ने कुरा अझै पक्का छैन । यो विश्वकै सबैभन्दा महत्त्वपूर्ण सम्बन्धको अस्थिर अवस्थाको संकेत हो ।
केही हप्तादेखि अमेरिका र चीनले एकअर्कामाथि व्यापारिक आक्रमण गरिरहेका छन् । अमेरिकाले प्रविधि निर्यातमा कडाइ गरेको छ र थप भन्सार शुल्कको धम्की दिएको छ । चीनले पनि दुर्लभ खनिज पदार्थ निर्यातमा रोक लगाएर त्यसको कडा जवाफ दिएको छ ।
दुवै पक्षबीच संवाद कमजोर छ । यो दबाब र धैर्यको खेलमा अमेरिका बलियो रहेको ह्वाइट हाउसले विश्वास गरेको छ । अमेरिकाका अर्थमन्त्री स्कट बेसन्टले चीनलाई कमजोर भनेका छन् । तर, वास्तविकता फरक छ ।
चीन व्यापारयुद्धमा अमेरिकाभन्दा अगाडि छ । उसले अमेरिकाजस्तै आक्रामक रूपमा प्रतिक्रिया दिन सिकिसकेको छ । साथै, उसले आफ्नै नयाँ व्यापार नियम उपयोग गरेर विश्व अर्थतन्त्रको बाटो परिवर्तन गर्न थालेको छ ।
ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि उनको चीन नीति सुरक्षाका दृष्टिले अस्पष्ट थियो । उनी ताइवान र अमेरिकाका सहयोगी राष्ट्रहरूलाई चीनको सैन्य धम्कीबाट बचाउन तयार थिए कि थिएनन् ? अझै पनि त्यसको उत्तर स्पष्ट छैन ।
तर, व्यापारका विषयमा उनको नीति स्पष्ट थियो । चीनमाथिको दबाब झनै बढाउने उनको नीति हो । यसले थप भन्सारशुल्क, प्रविधि निर्यातमा कडाइ र प्रतिबन्धहरूलाई कार्यान्वयन गरिरहेको छ । चीनको उत्पादन शक्ति कमजोर बनाउने, आर्थिक र व्यापारिक फाइदा निकाल्ने र प्रविधि विकासमा ढिलो गराउने ट्रम्प प्रशासनको लक्ष्य थियो । चीनले राज्यनियन्त्रित पूँजीवाद सुधार्ने वाचा गरे अमेरिकी दबाब कम गर्न सकिने र महान् सम्झौता हुने कुरा सम्भव रहेको ट्रम्पको टोलीका केही सदस्यले सोचेका थिए ।
ट्रम्प राष्ट्रपति बनेको ६ महिनापछि चीन अमेरिकाभन्दा सजिलै सास फेर्न सक्ने अवस्थामा पुगेको छ । यसका तीन कारण छन् । पहिलो, चीनले अमेरिकी दबाब बेहोर्न सकेको छ र कुशलतापूर्वक प्रत्युत्तर दिन सिकेको छ । कतिपय आलोचकले यसलाई ट्रम्प अल्वेज चिकेन्स आउट (ट्रम्प सधैं पछि हट्छन्) भनेर व्याख्या गर्छन् ।
तर, यो चीनको लामो तयारी, शक्ति र क्षमताको पनि नतिजा हो । अप्रिल महिनामा ट्रम्पले लगाएको लिबरेशन डे भन्सार शुल्क वालस्ट्रीटको गिरावटपछि फिर्ता लिनुपर्यो । हालै, चीनले प्रविधि उद्योगमा प्रयोग हुने दुर्लभ खनिज निर्यात सीमित गरेपछि ट्रम्पले १०० प्रतिशत शुल्क लगाउने धम्की दिए तर फेरि पछि हटे । चीनमाथि पूर्ण व्यापार रोक लगाउने उनको धम्की विश्वसनीय छैन किनकि त्यसले अमेरिकालाई पनि क्षति पुर्याउँछ । चीन संकटमा छ भन्ने मान्छेले के विचार गर्नुपर्छ भने यो वर्ष मात्र चीनको सेयर बजार ३४ प्रतिशतले बढेको छ । त्या एसएन्डपी ५०० को वृद्धिभन्दा दोब्बर हो ।
चीनले बुद्धिमत्तापूर्वक अमेरिकाको प्रतिकार गर्न सिकेको छ । ट्रम्पले अमेरिकी बन्दरगाहमा प्रवेश गर्ने चिनियाँ जहाजमाथि कर लगाएपछि चीनले आफ्ना बन्दरगाहको व्यवस्थापन शुल्क बढायो । उसले अमेरिकी कम्पनीहरू (जस्तै, डुपोन्ट, गुगल, एनभिडिया, क्वालकम) विरुद्ध प्रतिस्पर्धा ऐनअन्तर्गत अनुसन्धान गर्ने धम्की दिएको छ । चीनले अमेरिकाबाट सोयाबिन किन्ने बन्द गरेको छ । त्यस सोयाबिनले गत वर्ष अमेरिकी किसानलाई १२ अर्ब डलर कमाइ गराएको थियो । यसले ट्रम्पका मतदाताहरूलाई असर गरेको छ ।
चीनले दुर्लभ खनिज पदार्थको निर्यात सीमित गर्ने धम्की दिएको छ र यसले पश्चिमी मुलुकका उद्योगहरूमा डर पैदा गरेको छ । चीन विश्वव्यापी लाइसेन्स प्रणाली लागू गर्ने दिशामा अघि बढेको यसले संकेत दिन्छ ।
चीनमाथि अमेरिकाका केही नियन्त्रण अझै पनि बाँकी छन् (जस्तै, हवाई इन्जिन), राष्ट्रपति सीले चीनका आपूर्ति शृंखलालाई विदेशी निर्भरताबाट स्वतन्त्र बनाउन प्रयास गरिरहेका छन् । सैद्धान्तिक रूपमा ट्रम्पले चीनलाई डलर बैंकिङ प्रणालीबाट विच्छेद गर्न सक्थे तर उनले त्यसो गर्ने सम्भावना कम छ किनकि त्यसो गर्दा अमेरिकामै ठूलो वित्तीय संकट निम्तिन्थ्यो ।
अमेरिकालाई प्रतिकार गर्ने क्रममा चीनले ट्रायल एन्ड एरर (परीक्षण र गल्ती) मार्फत नयाँ व्यापारिक नियम बनाइरहेको छ । उसको दोस्रो सफलता यही हो । उसले पुरानो उदारवादी व्यापार प्रणालीको सट्टा चीनकेन्द्रित प्रणाली बनाउने प्रयास गरिरहेको छ ।
हालै चीनको कुल निर्यात ८ प्रतिशतले बढेको छ जबकि अमेरिकातर्फको निर्यात २७ प्रतिशतले घटेको छ । चीनले दुर्लभ खनिज पदार्थको निर्यात सीमित गर्ने धम्की दिएको छ र यसले पश्चिमी मुलुकका उद्योगहरूमा डर पैदा गरेको छ । चीन विश्वव्यापी लाइसेन्स प्रणाली लागू गर्ने दिशामा अघि बढेको यसले संकेत दिन्छ । अमेरिकाको सेमिकन्डक्टर नियन्त्रणभन्दा अझ यो अझ कडा कदम हो ।
व्यापारयुद्धले राष्ट्रपति सी र कम्युनिस्ट पार्टीलाई कमजोर बनाउनुको साटो अझ बलियो बनाएको छ । विदेशीहरू चीनका विभिन्न समस्याहरू (जस्तै, आवास संकट, डराएका उपभोक्ता, दबिएका उद्यमी र औद्योगिक नीतिका कारण अधिक उत्पादन) देखाउँछन् । तर, धेरै चिनियाँका लागि ट्रम्पको दबाबले सीको आत्मनिर्भर चीन बनाउने १२ वर्षे योजना सही भएको प्रमाणित गरेको छ । यही कारणले गर्दा पार्टीले नयाँ पञ्चवर्षीय योजना तयार पार्दै सीको प्रविधि–राष्ट्रवादमा अझ जोड दिने अपेक्षा गरिएको छ ।
हुन त चीनका लागि सबै कुरा सहज छैन । अमेरिकाबाट अन्यत्रै व्यापार मोड्दा अन्य देशहरूले पनि भन्सार शुल्क बढाउन सक्छन् । नयाँ लाइसेन्स प्रणालीले चीनकै लागि प्रशासनिक झन्झट निम्त्याउन सक्छ । आर्थिक शक्तिलाई हतियारको रूपमा उपयोग गर्दा जोखिम निम्तिन्छ भन्ने कुरा अमेरिकाको हालको नीतिले नै देखाएको छ । अन्य देशहरू वैकल्पिक उपाय खोज्न र नयाँ प्रविधि विकास गर्न प्रेरित हुन सक्छन् ।
ट्रम्प र सी चिनपिङले दक्षिण कोरियामा भेटघाट गरेछन् भने दुवैका लागि यो केही समयका लागि तनाव घटाउन उपयोगी हुन सक्छ । शायद अमेरिकाले भन्सारशुल्क स्थगित गर्ने र चीनले दुर्लभ खनिज पदार्थमाथिको नियन्त्रण ढिला गर्ने, सोयाबिन फेरि किन्न थाल्ने र टिकटकको बिक्री सम्झौतालाई समर्थन गर्ने सहमति हुन सक्छ । तर, यो दुई देशबीचको मेलमिलाप नभई आर्थिक शक्तिलाई हतियारको रूपमा उपयोग गर्ने नयाँ प्रतिस्पर्धाको तयारी हो भनी बुझ्नुपर्छ ।
चीन व्यापार युद्धमा जित्दै गरेको भए पनि खुला व्यापारबाट पछाडि हटेछ भने अन्ततोगत्वा सबैजना हार्नेछन् ।
दी इकोनोमिस्टमा प्रकाशित आलेखको अनुवाद







प्रतिक्रिया