
एजेन्सी । भारत र अमेरिकाबीच लामो समयदेखि चलिरहेको व्यापार सम्बन्धी वार्तामा सहमति बन्न लागेको मिन्ट पत्रिकाले समाचार प्रकाशन गरेको छ ।
नयाँ सहमतिअनुसार, अमेरिका आयात हुने भारतीय वस्तुहरूमा १५ देखि १६ प्रतिशत भन्सारशुल्क लाग्नेछ ।
विशेषगरी ऊर्जा र कृषिका विषयमा सहमति भएको छ । त्यसअनुसार भारतले रुसबाट आयात गरिरहेको कच्चा तेलको मात्रा क्रमशः घटाउँदै लैजानेछ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंगलबार फोनमा कुराकानी गरेको बताएका छन् । त्यसमा व्यापारका विषयमा छलफल भएको थियो ।
ऊर्जाको चर्चा पनि गरेको ट्रम्पको भनाइ छ । भारतले रुसबाट सीमित मात्रामा तेल किन्ने आश्वासन मोदीले दिएको ट्रम्प बताउँछन् ।
मोदीले ट्रम्पसँग कुराकानी भएको बताए । तर, के छलफल भएको भनी उनले विवरण दिएनन् ।
अमेरिकासँगको सम्झौता अनुसार भारतले जेनेटिकल मोडिफिकेशन नगरिएको मकै र भटमासको आयात बढाउनेछ ।
भन्सारशुल्क र बजारमा पहुँचलाई समयसमयमा समीक्षा गर्ने संयन्त्र बनाइने विषयमा पनि सम्झौता हुन सक्ने मिन्ट लेख्छ ।
यही अक्टोबर महिनामा हुन लागेको आसियान शिखर सम्मेलनमा भारत र अमेरिकाबीचको द्विपक्षीय व्यापार सहमतिको घोषणा गरिने सम्भावना छ ।








प्रतिक्रिया