
एजेन्सी । भारतमा नक्सलवादी माओवादी आतंक निर्मूल पार्न लागिएको प्रधानमन्त्री नरेन्द्र मोदीले दाबी गरेका छन् ।
देशका १०० भन्दा बढी जिल्ला माओवादी आतंकबाट मुक्त भएर गौरवका साथ दिवाली मनाउन लागेको उनको भनाइ छ ।
गोवा तटनजिक आईएनएस विक्रान्त जहाजमा सेनालाई सम्बोधन गर्दै मोदीले सुरक्षाबलको बहादुरीको प्रशंसा गरे । उनीहरूले माओवादी आतंकविरुद्ध उल्लेख्य सफलता हासिल गरेको र प्रभावक्षेत्र घटाएर ११ जिल्लामा झारिदिएको मोदीको भनाइ छ । एक दशकअघि १२५ जिल्लामा माओवादीको जगजगी थियो ।
‘११ जिल्लामा पनि जम्मा तीन जिल्ला उनीहरूको प्रभावमा छ,’ उनले बताए, ‘१०० भन्दा बढी जिल्ला माओवादी आतंकबाट मुक्त भएर पहिलोपटक खुला हावामा सास लिइरहेको छ र भव्य दीपावली मनाइरहेको छ ।’
माओवादीहरूले कतिपय क्षेत्रमा विद्यालय, सडक र अस्पताल बनाउन नदिएको एवं बनेका विद्यालय र अस्पताल पनि बम हानेर उडाइदिएको मोदीले बताए ।
‘अहिले तिनै क्षेत्रमा राजमार्गहरू बनेका छन्, नयाँ व्यापार खुलेका छन्, बालबालिकाको भविष्यका लागि विद्यालय र अस्पताल बनेका छन्,’ उनले थपे ।
सुरक्षाकर्मीहरूको तपस्या, बलिदान र साहसका कारण यी सफलताहरू सम्भव भएको मोदीको भनाइ छ ।
‘देशका यति धेरै जिल्लामा मानिसहरू गर्व, सम्मान र मर्यादाका साथ दिवाली मनाउँदैछन्,’ मोदीले बताए ।








प्रतिक्रिया