
एजेन्सी । अमेरिकाका मरीनहरूले क्यालिफोर्नियाको प्रमुख राजमार्गमा तोपगोला प्रहार भएको घटनाको अनुसन्धान गरिरहेका छन् ।
उपराष्ट्रपति जेडी भ्यान्सको उपस्थितिमा भएको एक समारोहका क्रममा उक्त घटना भएको थियो । कार्यक्रममा तोपको गोलो हावामै विस्फोट भएपछि नजिकै पार्क गरिएका प्रहरी सवारीसाधनहरूमा छर्रा परेको अधिकारीहरूले सोमबार बताएका छन् ।
शनिबार दिउँसो क्यालिफोर्नियाको क्याम्प पेन्डलटनमा अमेरिकाको मरीन कोप्र्सको २५औं वार्षिकोत्सव मनाउने क्रममा एम७७७ हावित्जर तोपको प्रदर्शन भइरहेका बेला भएको उक्त घटनामा कसैलाई चोट लागेको थिएन ।
तर, सान डिएगोबाट करिब ६४ किलोमिटर उत्तरतिर रहेको इन्टरस्टेट ५ राजमार्ग नजिक भएको उक्त घटनाले क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजमको तीव्र आलोचना निम्त्याएको छ । उनले यसलाई लापरबाहीपूर्ण र हास्यास्पद शक्ति प्रदर्शन भन्दै घटनाका लागि ट्रम्प प्रशासन दोषी भएको बताए ।
क्यालिफोर्निया हाईवे पट्रोलका सीमा डिभिजन प्रमुख टोनी कोरोनाडो मरीन भेट्रान हुन् । उनले यस घटनालाई असामान्य र चिन्ताजनक अवस्था भनेका छन् । उनले भने, ‘सवारी आवागमन भइरहेको राजमार्गमा जस्तोसुकै गोलीबारी वा विस्फोटक प्रशिक्षण कार्य हुनु अत्यन्तै असामान्य कुरा हो ।’
एम७७७ तोप परीक्षणका लागि तयारीस्वरूप हाईवे पट्रोलले सावधानी अपनाउँदै इन्टरस्टेट ५ को १७ माइलको खण्ड अस्थायी रूपमा बन्द गरेको थियो ।
तर, उपराष्ट्रपति भ्यान्सको सुरक्षा टोलीमा रहेका र क्याम्प नजिक राजमार्ग प्रवेशमार्गमा पार्क गरिएका क्यालिफोर्निया हाईवे पट्रोल (सीएचपी) को एक गश्ती कार र मोटरसाइकल पहिलो ६० तोपगोलामध्ये पहिलो गोलो हावामै विस्फोट हुँदा धातुका टुक्राहरूले ढाकिएका थिए ।
दुई इन्च चौडाइको एउटा छर्राले गश्ती कारको अगाडिको भागमा डेन्ट पारेको थियो र साना टुक्राहरू मोटरसाइकल वरिपरि खसेका थिए । तर, तिनले कुनै गम्भीर क्षति भएको थिएन ।
‘पहिलो राउन्ड असफल भएपछि अभ्यास तुरुन्तै बन्द गरियो र थप गोलाहरू प्रहार गरिएको छैन,’ रिपोर्टमा भनिएको छ ।
लस एन्जलस क्षेत्र र सान डिएगो काउन्टीलाई जोड्ने आई–५ राजमार्ग केही समयका लागि बन्द गरिँदा क्षेत्रभरि ट्राफिक जाम भएको लस एन्जलस टाइम्सले लेखेको छ ।
ह्वाइट हाउसले एक्समा लेखेको छ, ‘आजको अभ्यासले जनसुरक्षामा कुनै खतरा छैन भनी मरीनहरूले बारम्बार भनेका छन् ।’
घटनाबारे जानकारी राख्ने एक अमेरिकी अधिकारीका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ । शनिबारको असफल हावित्जर प्रदर्शनभन्दा एक दिनअघि शुक्रबार १५५ मिलिमिटरका ३० तोपगोला परीक्षणका रूपमा प्रहार गरिएको थियो । तर, ती गोलाहरू राजमार्गमाथि नै प्रहार गरिएका थिए कि थिएनन् भन्ने स्पष्ट छैन । लस एन्जेलस टाइम्सका अनुसार, तीमध्ये केही गोलाहरू राजमार्गमाथि प्रहार गरिएका थिए ।
अधिकारीका अनुसार शनिबार सुरक्षाका उपायहरू लागू गरिएको थियो । एक पर्यवेक्षकले एउटा तोपको गोलो निर्धारित स्थानमा नपुगेको देखेपछि तुरुन्तै फायर रोक्ने आदेश दिइएको थियो ।








प्रतिक्रिया