तिहारमा बिजुलीको माग घट्ने प्राधिकरणको अनुमान

70
Shares

काठमाडौं । यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ । तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ । उनका अनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर, अहिले उद्योग, होटल, रेस्टुरेन्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ ।

यद्यपी विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताए । उनका अनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ ।

‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमान्ड घट्छ । यसको कारण तिहारमा इन्डस्ट्रिहरू बन्द हुन्छन्,’ कार्यकारी निर्देशक सिलवालले भने, ‘त्यसकारणले हो । होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतः माग घट्छ । पहिला इन्डस्ट्रिको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो । तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इन्डस्ट्रि नहुने । त्यसले गर्दा पहिला खपत बढी देखिन्थ्यो । तीन/चार वर्षयताको अवस्था हेर्ने हो भने तिहारको बेलामा चाहीँ इन्डस्ट्रि नचल्ने हुनाले खपत कम हुन्छ ।’

सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ । नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ । प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेसन र मर्मत कार्यमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उनको भनाइ रहेको छ ।