कालीगण्डकी खोचमा पहिलोपटक हाइलाइन अभ्यास, साहसिक पर्यटनमा नयाँ आकर्षण

77
Shares

काठमाडौं । पर्वतको कुस्मा र बागलुङको बलेवा बीचमा पर्ने कालीगण्डकी खोचमा पहिलोपटक हाइलाइनको अभ्यास गरिएको छ । जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शंकर कोइरालाले आफ्नो ‘ड्रिम प्रोजेक्ट’का रूपमा यो कार्यक्रम आयोजना गरेका हुन् ।

कोइराला पछिल्ला १५ वर्षदेखि युरोपका विभिन्न देशमा हाइलाइन गर्दै आएका छन् । यसपटक उनले नेपालमै यो चुनौतीपूर्ण साहसिक खेलको अभ्यास गरेर नयाँ उदाहरण स्थापित गरेका हुन् ।

‘द क्लिफ’ का रूपमा परिचित एड्भेन्चर हबमा यो पहिलो हाइलाइन अभ्यास हो । साहसिक पर्यटन प्रवर्धनको उद्देश्यले गरिएको यो प्रयास सराहनीय भएको ‘द क्लिफ’का अध्यक्ष राजु कार्कीको भनाइ छ ।

उनका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो, जसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास व्यक्त गरे ।

असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम कात्तिक १ गतेसम्म सञ्चालन भएको थियो । नेपाल स्ल्याकलाइन कम्युनिटी र ‘द क्लिफ’को सहकार्यमा यो आयोजनाले दुई वर्षदेखिको निरन्तर तयारीपछि मूर्तरूप पाएको हो ।

कुल ४०८ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फको हार्नेस जिपलाइन र बलेवातर्फको ‘द क्लिफ’लाई जोडेको छ । यो दक्षिण–पूर्व एसियामा दोस्रो सबैभन्दा लामो र नेपालकै सबैभन्दा अग्लो हाइलाइन मानिएको छ ।

हाइलाइन टोलीमा कोइरालासहित तीन नेपाली (सुलभ चालिसे, सहन महर्जन, र कोइराला स्वयं), एक जना न्यूजिल्यान्डका र दुई जना जर्मनीका नागरिक गरी ६ जना सहभागी थिए । नेपाल स्ल्याकलाइन कम्युनिटीका सदस्यहरूले युरोपेली प्रशिक्षकहरूको सहयोगमा यो परियोजना अघि बढाएका हुन् ।

कोइरालाका अनुसार खेल हेर्दा डर लाग्ने भए पनि पूर्ण सुरक्षा मापदण्ड पालना गरिएको थियो । हाइलाइन र स्ल्याकलाइन जस्ता गतिविधिले युवामा साहस, सन्तुलन र एकाग्रता विकास गर्ने मात्र होइन, नेपालको प्राकृतिक सौन्दर्यलाई विश्वमा चिनाउने माध्यम पनि बन्न सक्ने उनले बताए ।

स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा सन्तुलन मिलाउँदै हिँड्ने खेल हो । यो ध्यान, लचकता र शरीर नियन्त्रणका लागि विश्वभर लोकप्रिय अभ्यास हो ।

हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । पर्वत, पुल वा खोचमा गरिने यो खेल मानसिक एकाग्रता र शारीरिक सन्तुलनको चरम परीक्षा मानिन्छ ।

नेपालमा सुरु गरिएको यो परियोजनाले पोखरा, कुस्मा र वरपरका क्षेत्रमा साहसिक पर्यटनमा नयाँ उचाइ ल्याउने अपेक्षा गरिएको छ ।