विद्युत उत्पादन कम्पनीको निमित्त सीईओ बने हिरामान

357
Shares

काठमाडौं । विद्युत उत्पादन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले राजीनामा दिएपछि हिरामान वाइबालाई निमित्त सीईओको जिम्मेवारी दिइएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीका १० तहका कर्मचारी वाइबालाई सीईओ पदपूर्ति नभएसम्मका लागि जिम्मेवारी दिएको हो।

शाहीले स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । तर, पछिल्ला दिनमा कर्मचारी असन्तुष्टि र तालाबन्दीका कारण पनि उनीमाथि दबाब बढेको थियो । नेपाल कर्मचारी संगठन भियुसिएलले कम्पनीले विगतका सहमति कार्यान्वयन नगरेको, एकलौटी निर्णय गरेको र कर्मचारीका सुविधा कटौती गरेको आरोप लगाउँदै बुटवल पावर कम्पनीको कार्यालयमा तालाबन्दी गरेको थियो।

बोर्डले भत्ता कटौतीको निर्णय गरेपछि कर्मचारी आन्दोलित बनेका थिए । शाहीले पनि उक्त निर्णयमा आफू असहमत भए पनि बोर्डकै निर्देशनमा बाध्य भएको प्रतिक्रिया दिएका थिए । कार्य वातावरण बिग्रिएपछि उनले बाँकी दुई वर्षको कार्यकाल पूरा नगरी राजीनामा दिएका हुन् ।