जेनजी आन्दोलनमा प्रहरीको हतियार लुट्ने १८ वर्षीय लिम्बु ब्राउन सुगर सहित पक्राउ

805
Shares

विराटनगर । भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न रहेका युवक सहित ८ जनालाई प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये दमक ३ का १८ वर्षीय आदित्य लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट हतियार लुटेर फोटो खिच्ने र भिडियो बनाउने युवक रहेको प्रहरीको भनाई छ । लिम्बुले त्यसबेला प्रहरीको हतियार बोकेर खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको सूचनामा लिम्बु जेनजी आन्दोलनका क्रममा इप्रका दमकबाट प्रहरीको हतियार लुट्नेमा संलग्न भएको उल्लेख गरेको छ । तर झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले उनी हतियार लुट्नेमा संलग्न नभई हतियार सहित आन्दोलनमा देखिएको बुझिएको बताएका छन । आदित्य दमक ३ रविकुमार आङदम्बेका छोरा हुन ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले शनिबार साँझ दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविर, सेक्टर ए ३ हट नम्त्रर ३५३ वस्ने साजन थापाको घरबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट ७ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अर्का व्यक्ति मोरङ मिक्लाजुङ ८ का निश्चल पोर्तेल गत भदौ २४ गते मोरङको उर्लाबारी इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका अभियुक्त हुन् । उनी लागुऔषध मुद्दामा अनुसन्धानकालागि प्रहरी हिरासतमा थिए ।

पक्राउ पर्नेमा दमक ३ का २७ वर्षीय साजन थापा, इलाम चुलाचुली ३ का ३२ वर्षीय दिपेश तामाङ, इलाम चुलाचुली ३ कै ३२ वर्षीय सनम राई, दमक ३ का १९ वर्षीय पविन विश्वकर्मा, दमक ३ का २५ वर्षीय सुचन दर्जी र दमक ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर बी २ हट नं. १९१–१९२ २५ वर्षीय विजय माझी भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई प्रहरीले लागुऔषध मुद्दामा अनुसन्धान गरेर कारवाही गर्ने तयारी गरेको छ ।

उनीहरुलाई हाल इलाका प्रहरी कार्यालय दमकमा राखेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।