
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको आकस्मिक छड्के अनुगमनका क्रममा नेपाल टेलिकमका ६९ जना कर्मचारीहरू अनुशासन र नियम उल्लंघन गरेको पाइएको छ ।
केन्द्रले जेठ २४ गते गरेको अनुगमनका क्रममा टेलिकमका कर्मचारीहरूमा समय पालना र तोकिएको पोसाक लगाउने विषयमा व्यापक लापरबाही देखिएको हो ।
अनुगमन प्रतिवेदनअनुसार, टेलिकममा कार्यरत कर्मचारीहरूमध्ये ६२ जनाले कार्यालय समयको पालना नगरेको (ढिलो आएको वा अनुपस्थित रहेको) पाइएको छ ।
त्यसैगरी, ७ जना कर्मचारीले कार्यालयले तोकेको अनिवार्य पोसाक नलगाएको फेला परेको छ ।
सार्वजनिक संस्थानका रूपमा रहेको नेपाल टेलिकममा एकै दिन यति ठुलो संख्यामा कर्मचारीहरूले नियम उल्लंघन गरेको भेटिएको हो ।
सतर्कता केन्द्रले नियम पालना नगर्ने ती कर्मचारीहरूलाई ‘निजामती सेवा ऐन, २०४९’ को दफा ५५ (क) तथा कर्मचारी सेवा सम्बन्धी प्रचलित विनियमावली र कानुन बमोजिम विभागीय कारबाही गर्न निर्देशन दिएको छ ।
केन्द्रले ती कर्मचारीहरूमाथि गरिएको कारबाहीको विस्तृत जानकारी केन्द्रलाई गराउन समेत टेलिकम प्रशासनलाई पत्राचार गरेको छ ।
सरकारी तथा सार्वजनिक निकायहरूमा कर्मचारीको उपस्थिति नियमित गराई सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रले टेलिकमको भद्रकालीस्थित कार्यालय र अन्य शाखाहरूमा यो छड्के अनुगमन गरेको हो ।









प्रतिक्रिया