रुसी सेनालाई गोलीगट्ठा उपलब्ध गराउने जनरलको कार विस्फोटमा मृत्यु

308
Shares

एजेन्सी । रुसी सेनाका लागि गोलाबारुद आपूर्तिको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उच्च सैन्य अधिकारीको मस्को नजिकै भएको लक्षित आक्रमणमा मृत्यु भएको छ ।

रुसी रक्षा मन्त्रालयको मिसाइल तथा आर्टिलरी विभागका प्रमुख जनरल दमिम दभिडोभ बालासिखा क्षेत्रमा भएको कार विस्फोटमा मारिएको अधिकारीहरूले पुष्टि गरेका छन् । यस घटनालाई रुसी सैन्य संयन्त्रको भित्री सुरक्षा घेरा तोडेर गरिएको ठूलो प्रहारका रूपमा हेरिएको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान करिब ५ः३० बजे बालासिखाको एभिएटरभ आवास क्षेत्रमा भयानक विस्फोट भएको थियो । दभिडोभले आफ्नो बीएमडब्लू एक्स–३ कार पार्किङबाट निकाल्न खोज्दा कोल्दुनोभा सडक नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले घाइते अवस्थामा दभिडोभलाई उद्धार गर्ने प्रयास गरे पनि विस्फोटको चोटका कारण केही बेरमै घटनास्थलमै उनको ज्यान गयो ।

रुसको संघीय अनुसन्धान समिति र मस्को क्षेत्रको सरकारी वकिलको कार्यालयले विस्फोटको घटना पुष्टि गरे पनि आधिकारिक विवरणमा मृतकको नाम खुलाइएको छैन । सोही दिन अधिकारीहरूले दक्षिण–पश्चिम मस्कोमा अर्को एउटा शंकास्पद कार बम फेला पारेर त्यसलाई सुरक्षित रूपमा निष्क्रिय पारेका थिए ।

यस हत्याको सम्बन्धमा युक्रेनले हाल कुनै प्रतिक्रिया दिएको छैन यद्यपि भ्लादिमिर पुटिनले युद्ध सुरु गरेयता रुसी जनरलहरूलाई लक्षित गरी गरिएका कतिपय सफल आक्रमणहरूको जिम्मेवारी किभले लिँदै आएको छ ।

यो आक्रमण यस्तो समयमा भएको छ जब मस्कोले नेटोबाट सुरक्षा चुनौती बढेमा आणविक हतियार प्रयोग गर्न सक्ने कडा चेतावनी दिएको छ । अर्कोतर्फ, युरोपेली संघले रुसको अर्थतन्त्र र युद्ध क्षमतालाई कमजोर पार्न २१औं चरणको प्रतिबन्धको तयारी गरिरहेको छ ।

नयाँ प्रतिबन्धहरूले विशेषगरी रुसी बैंक, क्रिप्टो बजार, ड्रोन उत्पादनका साथै तेल व्यापारी र रिफाइनरीहरूलाई कडा निशाना बनाउने लक्ष्य राखेका छन् ।